रोनाल्डोको सय गोल



म्याड्रिड — रियल म्याड्रिविरुद्ध बुधबार पहिलो लेगमा ३–१ ले पछाडि परेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउन ठूलै फड्को मार्नुपर्ने भएको छ ।

अन्तिम १६ को खेल विश्व वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयमरबीचको प्रतिस्पर्धाका रूपमा लिइएको थियो । यसमा ३३ वर्षीय पोर्चुगिज रोनाल्डो माथि देखिए । उनी च्याम्पियन्स लिगमा एउटै क्लबका लागि १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।सान्टियागो बेर्नाबेउमा रोनाल्डोले पेनाल्टीमार्फत् रियललाई बराबरीमा पुर्‍याए । त्यो नै उनको क्लबका लागि एक सय च्याम्पियन्स लिग गोल थियो । यसअघि नेयमरको ‘ब्याकहिल’ पासमा एड्रियन राबिएटले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पीएसजी बराबरी गर्न उन्मुख देखिएको थियो, जसले उसलाई मार्च ६ मा हुने दोस्रो लेगमा अगाडि पार्न सक्थ्यो । तर रोनाल्डोले घुँडाले गोल गर्दै म्याड्रिडको भाग्य बदलिदिए । त्यसपछि मार्सेलोले गोल गर्दै १२ पल्टको च्याम्पियन रियलको अनुभव देखाए । पीएसजीले भने च्याम्पियन्स लिग कहिल्यै जितेको छैन ।

जिनेदिन जिदानको टिम घरेलु लिगमा भने अविश्वसनीय रूपमा पछाडि परेको छ । त्यसैले फ्रान्सेली प्रशिक्षक दबाबमा छन् । उनले दोस्रो हाफमा मैदानमा प्रवेश गराएका मार्को एसेन्सियोले अन्तिम दुई गोलको अवसर सिर्जना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्