विश्व क्रिकेट लिग डिभिजन टू को सर्वोकृष्ट खेलाडी सन्दीप लामिछाने घोषित



काठमाडौं, ४ फाल्गुन : सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका १७ वर्षीय सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएपछि नेपालले सामान्य लक्ष्य पाएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामिवियाविरुद्ध ४ विकेट लिएका थिए भने दोस्रो खेलमा ओमानविरुद्ध २ तथा तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । युएईसँग बिहीबार भएको फाइनलमा उनले १ विकेट लिएका थिए ।

क्यानडाविरुद्ध १ विकेटको नाटकीय जित हासिल गर्दा अन्तिम विकेटका लागि करण केसीसँग ५१ रनको साझेदारीमा सन्दीपले गतिलो साथ दिएका थिए । उनी हालै आईपीएलको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् ।

लोकान्तर

प्रतिक्रिया दिनुहोस्