काठमाडौं, ४ फागुन २०७४
हालै नेपालका प्रधानमन्त्रीका रुपमा केपीशर्मा ओली चुनिएका छन्। उनी उनको जीवनकालको दोस्रो पटक प्रधानमन्त्रीका कुर्सीमा आसिन भएका हुन्। यहि खबरलाई नेपाली मिडियाले “ओली मुलुकको ४१ औं प्रधानमन्त्री” भन्ने आशयले समाचार लेखेका लेखेकै छन्। ओली पहिलो चोटि प्रधानमन्त्री हुँदा (२०७२ असोज २४ मा) यिनै मीडियाले उनलाई नेपालको ३८ औं प्रधानमन्त्री भनेर छाप्ने/प्रकाशन/प्रसारण गर्ने काम गरेका थिए । जब एउटै ब्याक्तिलाई ३८ औँ र ४१ औं क्रममा गनिदै छ भने यसबाट प्रस्ट हुन्छ कि त्यो शैलीको ‘गनाई’ मा ब्याक्ति हैन, ब्याक्तिको ‘प्रधानमन्त्रीत्व काल’ गनिएको हो।
केपी शर्मा वली कसरी नेपालका ४१ औं क्रमका प्रधानमन्त्रीमा गनिए ? भनेर मैले तथ्य तथ्याङ्क खोज्ने प्रयत्न गरेँ। त्यसका लागी “नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय” को वेबसाइट http://www.opmcm.gov.np/former-pm/ मा भिजिट गरेँ । त्यहाँ ‘नेपालका पूर्वप्रधानमन्त्रीहरु’ भन्ने शीर्षक दिएर ३८ जनाको विवरण राखिएको छ । त्यो लिस्टको एक नम्बरमा भिमसेन थापा (वि.स. १८६३-१८९४) लाई चढाइएको छ। भिमसेन थापादेखि हुँदैहुँदै आएर ३८ क्रममा ओलीलाई राखिएको छ । यसमा कुनै संदेश रहेन कि यो ३८ संख्याको लिस्ट “नेपालमा हालसम्म कति जना प्रधानमन्त्री भए ?” भन्ने तिर लक्षित छ।
नेपालका कुन प्रधानमन्त्री कतिऔ क्रममा ? भन्ने प्रश्नको गणना गर्दा दुई तरीकाले गर्न सकिन्छ । एक तरिका भनेको मान्छेको टाउको गन्ने। अर्को भनेको मन्त्रीमण्डल गठन/विघटन केकती चोटि भयो भन्ने आधारमा।
मान्छेको टाउको गन्ने पद्धति अर्थात् “नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय” को वेबसाइटले गने जस्तो। जसमा केपी शर्मा ओलि ३८ औं रोलक्रममा परेका छन् । ‘टाउको गन्ने पद्धति ‘ अनुसार जाँदा ओलि पहिलो चोटि (२०७२ असोज २४ मा) प्रधानमन्त्री हुँदै ३८ नम्बरमा परीसके, अब फेरि उनैलाई चढाउने कुरो भएन। तसर्थ टाउको गन्ने पद्धति अनुसार हिसाब लाउँदा ओलि दोश्रो पटक प्रधानमन्त्री भए पनि त्यै ३८ औं रोलक्रममै परे।
अर्को तरिका भनेको, मन्त्रीमण्डल गठन/विघटन केकती चोटि भयो भन्ने आधारमा हिसाब लगाउन सकिन्छ। यदि यस्तो चस्माले हेर्ने हो भने भिमसेन थापा (बि स. १८६३-९४) देखि यता देउवाको चौथो प्रधानमन्त्रीकालको मन्त्रीमन्डल नेपालको ६० औं मन्त्रीमन्डल हुन आउँछ। यस गणनामा २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले आफुलाई मन्त्रीपरिसद अध्यक्ष घोषणा गरेकोलाई गनिएको छैन तर “मन्त्रीपरिषद अध्यक्ष” मात्रै भनिने भनिएका खिलराज रेग्मीलाई गणना गरिएको छ। यसरी हेर्दा हाल दोश्रो चोटि प्रधानमन्त्री बन्न आइपुगेका केपी ओलिको मन्त्रीमन्डल मुलुकको ६१ औं मन्त्रीमन्डल हुन आउछ। त्यस हिसाबले त उनी मुलुकको ६१ औं प्रधानमन्त्री (याद राख्नुस ब्याक्ती हैन) हुन् ।
प्रधानमन्त्रीको क्रम गन्ने अर्को पनि आधार लिन सकिएला- ‘प्रजातन्त्रको स्थापना भएदेखि यता’ भनेर । प्रजातन्त्रको स्थापना भएदेखी यताको हिसाब लगाउने हो भने पनि मोहन शमशेर (२००५-८)लाई लिएर त्यसदेखि यता गन्ने हो भने २३ जना ब्याक्ति प्रधानमन्त्री र ४४ ओटा मन्त्रीमण्डल गठन/बिगठन भएको देखिन्छ। तर मातृकाप्रसाद कोईरालाको प्रधानमन्त्रीत्वकालदेखी गन्ने हो भने २२ जना ब्याक्ति प्रधानमन्त्री भैसकेको र ४३ वटा मन्त्रीमन्डल गठन/बिगठन भएको हिसाब निस्किन्छ। यो आधार अर्थात् प्रजातान्त्रको स्थापना यताको हिसाब लगाउँदा पनि अहिले दोश्रो कार्यकाल सम्हाल्न आइपुगेका ओलि ४२/४३ औं मन्त्रीमन्डल सम्हाल्न आइपुगेको हिसाब निस्किन्छ।
तर यहाँ बुझ्नैपर्ने कुरा केछ भने “नेपालको प्रधानमन्त्री” भनीसकेपछि गणनाको आधार जेसुकै होस्, गणनाको सुरुको बिन्दु भिमसेन थापा नै हुनुपर्ने हो। त्यसर्थ भिमसेन थापादेखी यता गन्दै आउने हो भने ओलि ३८ औ रोलक्रममा उहिले (पहिलो कार्यकालमै) चढिसके । हैन, मन्त्रीमन्डलको अध्यक्षता गर्ने हिसाबले प्रधानमन्त्री गणना क्रम निर्धारण गर्ने हो भने अहिले नयाँ प्रधानमन्त्रीका रुपमा आएका ओलि यो मुलुकको ६१ औं मन्त्रीमन्डलको नेतृत्व गर्न आइपुगेको देखिन्छ।
त्यसो भए यी मिडियाले ४१ औं रोलक्रम के आधारमा कसरी ल्याए ? बढो अचम्म लाग्छ।