हिजोकी ‘दिदी’ आजकी प्रेमिका



हिजो प्रियंका उनकी ‘दिदी’ थिइन्, आज ‘प्रेमिका’ भएकी छन् । आयुष्मान खुशी छन् । होइन, दुवै खुशी छन् । स्कुलकी ‘सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानले बुनिसकेका छन् । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी । अनिल यादवले भ्यालेन्टाइन्स डेको छेकोमा यी दुईलाई पछ्याएर तयार पारेको सामग्री ।

सन् २०१७, मार्च ६ तारिखमा एक युट्युब च्यानलमा अपलोड भएको अन्तरवार्तामा अभिनेता आयुष्मान देशराजले अभिनेत्री प्रियंका कार्कीलाई ‘दिदी’ भनेर सम्बोधन गरे ।

फिल्म ‘कथा काठमाडौं’को घोषणाका बेला दिएको त्यस अन्तरवार्तामा उनले अभिनेत्री प्रियंका कार्कीसँग एकै चलचित्र खेल्ने आफ्नो चाह पटक–पटक व्यक्त गर्दै भने, ‘प्रियंका दिदीसँग स्क्रिन सेयर गर्ने चाहना थियो ।’

दुवै पहिलोपल्ट फिल्म ‘कथा काठमाडौं’मा स्क्रिन सेयर गर्दै थिए । पर्दामा प्रेमी–प्रेमिकाका रुपमा देखिने फिल्मी पण्डितहरुको आँकलन फ्लप भयो । दुवै पर्दामा हैन, वास्तविक जीवनमै प्रेमी–प्रेमिकाका रुपमा उदाए ।

१० महिनाअघि उनले जसलाई दिदी भनेर सम्बोधन गर्थे, अहिले आयुष्मानलाई रिस उठाउने शब्द त्यही हुने गरेको छ । तर वास्तविकता यही नै त हो ! हिजोकी ‘दिदी’ आज उनको प्रेमिका छिन् । सम्बोधन मात्रै हैन, उमेरले पनि आयुष्मान ५ वर्ष कान्छा नै छन् प्रियंकाभन्दा ।

आफ्नो सम्बन्ध पहिल्याउन धेरै कसरतसमेत भएन फिल्मी बजारमा । दुवैले सहजै सार्वजनिक गरेका थिए । यी दुवैको सम्बन्धका आयाम केही लुकेको पनि छैन । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी ।

भ्यालेन्टाइन्स डेमा प्रेमका विविध आयाम पहिल्याउने क्रममा ‘मोर्डन लभ स्टोरी’का लागि शुक्रवारको चयनमा पर्यो, यो जोडी । शुक्रबार राति अनामनगरको एक स्टुडियोमा फोटो सुटको समय मिलेको थियो ।

यी दुवै हस्याङफस्याङ गर्दै आइपुगे । त्यहीँ उनीहरुको लभस्टोरी खोतल्ने क्रममा उनीहरुको प्रेमलाई ‘दिदी–भाइ’ या ‘जोडी सुहाएन’जस्ता प्रतिक्रिया आउने गरेको प्रश्न तेर्स्याउँदा आएको दुवैको भावले देखायो– आखिर यो शब्दले कति चिढिएका रैछन्, दुवै ।

सार्वजनिक कार्यक्रममा चुम्बनमा लिप्त प्रियंका र आयुष्मान ।

‘मैले कहिले पनि आफूलाई उमेरसँग दाँजेर हेरेकै छैन । यो उमेरको कुरा पनि होइन, सोचाइ र दृष्टिकोणको कुरा हो,’ आयुष्मान थोरै रिसाएर बोले, ‘जोडी सुहाएन भन्नेहरुको भित्तामा हाम्रो फोटो हाल्नुपर्ने होइन नि ! सुहाओस्/नसुहाओस् के अर्थ ?’ प्रियंकाले त्यसमै थपेकी थिइन्, ‘हो, उनीहरुलाई सुहाउनुपर्दैन क्या !’

स्कुलकी सिनियर, अहिले प्रेमिका
यी दुवै विद्यालय तहदेखिकै परिचित हुन् । दुवैको स्कुले शिक्षा रातो बंगला स्कुलमा सक्किएको हो । स्कुलमा प्रियंका आयुष्मानभन्दा पाँच कक्षा सिनियर थिइन् । आयुष्मानका अनुसार उनी पाँच कक्षामा पढ्दा प्रियंकासँग जम्काभेट भएको रहेछ । प्रियंका १० कक्षामा थिइन् ।
एक दिन स्कुलको एउटा कुनामा प्रियंका रोइरहेका आयुष्मानले देखेछन् । त्यो बेला उनले ‘नरुनुस् दिदी’ भनेर सम्झाउन खोजे । प्रियंकालाई भने त्यस क्षणका बारेमा रत्तिभर सम्झना छैन । आयुष्मान भने उनी रुनुको कारणसमेत थाहा भएको भन्छन् तर कारण खुलाउन चाहँदैनन् ।

‘किन रोएको पनि थाहा छ मलाई तर भन्दिनँ,’ उनले भने ।

चिनजान पुरानै भए पनि यी दुवैको सम्बन्ध त्यत्ति निकट भएन । दुवै आ–आफ्नै तरिकाले अगाडि बढे । प्रियंका टेलिभिजनको पर्दा हुँदै ठूलो पर्दामा जम्न पुगिन् । संयोग आयुष्मान पनि टेलिभिजनको पर्दा हुँदै फिल्मी दुनियामै पुगे र भेट जुराइदियो । र, दुवैको सम्बन्ध समेत मोडियो । (शुक्रबार)

प्रतिक्रिया दिनुहोस्