ओलीसँग जनताको समृद्धि अपेक्षा



झापा – जति बेला केपी शर्मा ओलीको राजनीतिक जीवन सुरु हुँदै थियो, उनी र उनको परिवार झापामा चरम गरिबीको पीडाले सताएको अवस्थामा थियो । तेह्रथुमबाट झापा झरेर शरणामतीमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कन्काईको बाढीले बगाएपछि ओलीको परिवार लगभग सुकुमवासीको हैसियतमा झरेको थियो।

शरणामतीको बगरबाट सुरु भएको उनको त्यही संघर्षपूर्ण यात्राले यति बेला दोस्रोपटक मुलुकको कार्यकारी प्रमुख बन्ने सफलताको स्वाद चाखेको छ । ठीक यही बेला विगतमा उनले भोगेजस्तै गरिबीको दुश्चक्र भोगिरहेका नागरिकले उनको सत्तारोहणप्रति आशापूर्ण नजर लगाइरहेका छन् । पहिलो प्रधानमन्त्रीत्व कालयता लगातार चढ्दै गएको आफ्नो लोकप्रियताको ‘ग्राफ’ र त्यही अनुपातमा उनले बाँड्दै हिँडेको समृद्धि सपनाले आशावादी बनेका धेरै ‘भुइँमान्छे’ ले ओलीबाट गरेको अपेक्षा सानो छैन । सम्भवतः सिंहदरबारमा ओलीको दोस्रो इनिङको सबैभन्दा ठूलो चुनौती नै यही हो। ‘किनभने समृद्धि र विकासको ठूलो सपना देखेका ओलीको नजरमा मुलुकको पिँधमा परेको वर्ग कहाँनेर छ भन्ने अन्योल प्रशस्त छ’, ओलीको सत्तारोहणप्रति टिप्पणी गर्दै झापाका डम्बर कार्की प्रश्न गर्छन्, ‘उनको विकासको सपनाले उच्च र मध्यम वर्गको मात्रै उत्थान हेरेजस्तो देखिन्छ जब कि पिँधका नागरिकको अपेक्षा उनीसँग झन् धेरै छन् । यो चुनौतीको पहाड छिचोल्ने कुराले उनको सफलता–असफलता निर्धारण गर्नेछ।’

पहिलो प्रधानमन्त्रीत्व कालयता लगातार चढ्दै गएको आफ्नो लोकप्रियताको ‘ग्राफ’ र त्यही अनुपातमा उनले बाँड्दै हिँडेको समृद्धि सपनाले आशावादी बनेका धेरै ‘भुइँमान्छे’ ले ओलीबाट गरेको अपेक्षा सानो छैन । सम्भवतः सिंहदरबारमा ओलीको दोस्रो इनिङको सबैभन्दा ठूलो चुनौती नै यही हो।

राजनीतिशास्त्रका स्नातकोत्तर कार्कीले भनेजस्तै ओलीबाट नागरिकले गरेको अपेक्षा कति उच्च छ भन्ने थाहा पाउन उनकै गृहजिल्लाका मजदुरले राखेको आशाबाटै छर्लंग हुन्छ । बिहीबार अपराह्न ओली दोस्रोपटक प्रधानमन्त्री पदको शपथ लिँदैथिए । त्यही बेला झापा ज्यामिरगढीको मेचीकिनारमा रहेको भिन्डीबस्तीका कमलेश मर्डी सतारको परिवार खुसीले पुलकित हुँदै थियो । कुनै बेला आफ्नै काकाका सहयात्री ओलीको सत्तारोहणले कमलेशको परिवारलाई घरभित्रैको सदस्य सिंहदरबारको नेतृत्वमा पुगेको अनुभूति दिलाइरहेको छ।

२०२८ सालको झापा विद्रोहका एक योद्धा सोम मर्डी सतारका भतिजा कमलेशका अनुसार भूमिगत कालमा काकासँग धेरैपटक घरमा आएका ओलीले उनी र उनको परिवारप्रति औधी स्नेह दर्साउँछन् । ‘हामीलाई व्यक्तिगत रुपमा केही होला–पाइएला भन्नेभन्दा पनि देशले नै काँचुली फेर्छ भन्ने आशा ठूलो छ’, कमलेशले खुसी हुनुको कारण खोले, ‘पहिले पनि नौ महिनाभन्दा टिक्न दिएनन् । अब त त्यस्तो हुँदैन होला । त्यसैले देशले काँचुली फेर्ला भन्ने आशा छ ।’
कमलेशकै छिमेकी मंगल सोरेनको आशा पनि उनको भन्दा फरक छैन । ‘ओलीले धेरै काम गर्छन् भन्ने लागेको छ’, उनले भने । यसरी सर्वत्र देखिएको उत्साह र पलाएको आशालाई निराशामा बदलिन दिन नहुने चुनौतीले घेरिएका ओलीलाई यो काम फत्ते गर्न सहज भने छैन।

संघर्ष र चतुर्‍याइँको योग
सबैभन्दा उत्पीडित तहमा रहेका नागरिकको भरोसा बन्न ओलीले संघर्षका ठूला टाकुरा छिचोलेका त छन् नै, प्राप्त अवसरमा चतु¥याइँ देखाएर सफलता पनि पाएका छन् । कुनै बेला माओवादी सशस्त्र विद्रोहका सबैभन्दा कटु आलोचक उनी पहिलोपटक माओवादीकै समर्थनमा प्रधानमन्त्री बनेका थिए । यसपटक माओवादीसँगै पार्टी एकताको अन्तिम तयारीमा छन् । कुनै बेला ‘गोरुगाडामा अमेरिका नपुगिने’ बताउँदा आन्दोलनको अवमूल्यन गरेको आरोप खेपेका उनलाई संघीयता नरुचाएको बात पनि लाग्यो । तर, संघीयता कार्यान्वयन चरणको सुरुमै शासन सम्हाल्ने अवसर उनैलाई प्राप्त भएको छ । लामो समय भारतीय संस्थापन निकट मानिएका उनी भारतसितै जोरी खोजेर पछिल्लो समयको सर्वाधिक शक्तिशाली नेतामा दरिए । यति बेला भने भारतीय संस्थापनसँग निकटता बढाउने ‘सफलता’ उनले देखाइसकेका छन् । उनलाई नजिकबाट चिन्नेहरु यसलाई ओलीको ‘विशेष क्षमता’ भनेर अथ्र्याउँछन् । ‘लामो संघर्षले खारिएको नेता त हुँदै हो उहाँ’, अढाई दशकभन्दा लामो समयदेखि उनीसँग निकट रहेका झापा एमालेका एक नेताले भने, ‘परिस्थितिअनुसार चल्न जान्ने र चतु¥याइँ पनि प्रशस्त छ । त्यसैले उहाँ सफलताको क्रममा हुनुहुन्छ।’

२००८ फागुन ११ गते तेह्रथुमको इवा गाउँमा जन्मेका उनी २०२३ सालमा कम्युनिस्ट राजनीतिमा लागेका हुन् । ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२८ सालको झापा आन्दोलनको नेतृत्वकर्तामध्ये एक हुन् । तेह्रथुमबाट झापा झरेर शरणामतीमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कन्काइको बाढीले बगाएपछि उनी रामनाथ दाहालको घरमा बसेर झापाको घैलाडुब्बा स्कुल पढ्न थाले । रामनाथ दाहाल झापा विद्रोहका नेता थिए । उनी सुखानीमा मारिएका पाँच सहिदमध्ये एक हुन्।

ओलीले २०३० देखि २०४४ सालसम्म लगातार १४ वर्ष जेल जीवन बिताए । उनका साथी संकटमा कहिल्यै नआत्तिने ओलीको स्वभाव अनुकरणीय रहेको सुनाउँछन् । ‘जेलभित्र प्रशस्त लेखपढ गर्ने, संकटमा नआत्तिने र संघर्षमा नथाक्ने स्वभावले उहाँलाई यहाँसम्म ल्यायो’, ओलीका सहयात्री नरेश खरेल भन्छन् । उनका अनुसार निरन्तर पार्टी काममा लागिरहन सक्ने, अरुलाई विश्वस्त बनाउन सक्ने खुबी ओलीका विशेषता हुन् । २०२९ फागुन २१ मा रामनाथसहित पाँचजनालाई पञ्चायतले जेल सार्ने बहानामा सुखानीमा हत्या गरेपछि त्यस बेला पार्टी र क्रान्तिको नेतृत्व ओली र उनका साथीहरुको काँधमा आइलाग्यो । त्यही बेला ओलीले हतियारसहितको आन्दोलनलाई परिष्कृत गरेको खरेलको भनाइ छ । ओलीले २०४८, २०५१ र २०५६, २०७० र २०७४ गरी पाँचपटक झापाबाट निर्वाचन जिते भने २०६४ मा पराजय भोग्नुपर्‍यो। २०७० को चुनाव जितेपछि भने उनले पछाडि फर्केर हेर्नुपरेको छैन। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्