धुर्मुस सुन्तलीलाई लाग्यो मुद्दा !



चारवटा एकीकृत नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘नयाँ नेपाल’ परियोजनामा प्राविधिक सहयोगका लागि नेपाल इन्जिनियर्स एसोसिएसनसँग सम्झौता गरेको छ ।

हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नेतृत्वमा रहेको धुर्मुस सुन्तली फाउन्डेसन र एसोसिएसनबीच बिहीबार नयाँ नेपाल परियोजना सफल बनाउन प्राविधिक सहयोग र सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।

फाउन्डेसनले भूकम्प पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेका थिए । रौतहट चन्द्रपुर–८ स्थित सन्तपुरका बाढीपीडित दलित समुदायका लागि बनाएको नमुना बस्ती गएको माघ २३ गते समुदायलाई हस्तान्तरण गरेको फाउन्डेसनले महोत्तरीको बर्दिवासमा पनि मुसहरहरुका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरेको थियो ।

एसोसिएसनका उपमहासचिव इन्जिनियर रविभूषण झाको नेतृत्वमा फिल्ड सर्भेको काम सम्पन्न भइसकेको जानकारी दिएका धुर्मुसले बिहीबारबाटै डीपीआर र ईआए प्रक्रिया पनि अघि बढेको बताएका छन् । ‘नयाँ नेपाल’ का लागि लेलेका सयौँ रोपनी सरकारी जग्गा चर्चेको र त्यसले सो क्षेत्रका हजारौं नागरिकमा वातावरणीय प्रभाव पर्ने भन्दै स्थानीय ३१ जनाले धुर्मुस सुन्तली फाउन्डेसनविरुद्ध जिल्ला वन कार्यालय ललितपुरमा मुद्दा हालेका छन् । सो मुद्दा किनारा लागिसकेको छैन ।

फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिका लेलेमा करिब एक हजार रोपनी जग्गामा महत्वाकांक्षी ‘नयाँ नेपाल परियोजना’ बनाउन लागेको छ । त्यसका लागि पाँच अर्ब रुपैयाँ बजेट लाग्ने फाउन्डेसनले अनुमान गरेको छ । फाउन्डेसनले अब नमुना बस्तीभन्दा ‘नयाँ नेपाल’ परियोजनालाई नै मुख्य प्राथमिकतामा राख्ने भएको छ । (अनलाइन टिभी नेपाल)

प्रतिक्रिया दिनुहोस्