सरकार नयाँ वैश्य युगका चुनौती पुरानै



हरेक युगको एउटा विशिष्ट पात्र मात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जसका माध्यमबाट त्यो युगको विषयमा फैसला गर्न सकिन्छ। जस्तो– ‘के हुँदैछ ? दोषी को हो ? अब के गर्ने ? गर्ने कि नगर्ने ?’ स्तालिस्भाव बेल्कोस्कीको महावाक्य हो यो।

यसै वचनको परिधिमा प्रधानमन्त्री पदमा केपी ओलीको आगमनलाई हेरे वर्तमान र देशको भविष्यलाई बुझ्न अलि सजिलो हुनेछ।

वर्तमान युग ‘वैश्य युग’ हो। अर्थात्, उत्पादन, वितरण र बजारको युग। हरथोक कुनै न कुनै रूपले उत्पादन–खरिद–बिक्री र वितरणसँग जोडिएको छ। यो युग सही हो या गलत ? आ–आफ्ना तर्क होलान्। तर हाल चालु युगचाहिँ यही नै हो। यथार्थ यही हो।

नारा साम्यवाद, समाजवाद जेको दिए पनि यथार्थमा बजारको रजाइँ चलेको अवस्था हो। बजार सत्य, जगत् मिथ्याको सिक्का चलेको छ समाजका लगभग हरेक अंगमा। यो सिक्का कम्युनिस्ट राजनीतिक प्रणाली भएको चीनमा पनि त्यत्तिकै चलेको छ, जति कुनै घोषित पुँजीवादी देशमा।

यस्तो समय–कालमा, नेपालमा कम्युनिस्ट पार्टी सत्तामा आएको छ, जसका नेता हुनुहुन्छ, प्रस्ट वक्ता केपी ओली। यसअघि पनि नेपालमा कम्युनिस्ट पार्टीका नेता सत्ता शिखरमा नपुगेका होइनन्। तर यति सुविधाजनक बहुमतको बलमा कसैले सत्तारोहण गर्ने मौका पाएका थिएनन्, जति अहिले। यसो लेखिरहँदा हामी एमाले र माओवादीका सांसदलाई एकै ठाउँ जोडेर हिसाब गर्दै छौं।

तर यसपटक कुरा संसदीय अंकगणितमा सीमित छैन। ठूलो निजी ‘मास अपिल’का साथ सत्तारोहण भएको छ– केपी ओलीको। यसपटकको संसदीय गणितले कम्युनिस्टहरूलाई सत्तारोहणको सुविधा मात्र दिएको छैन, नेपाली कम्युनिस्ट पार्टीहरूको इतिहासलाई र भविष्यलाई समेत सबैभन्दा ठूलो चुनौती पनि उपस्थित गराएको छ।

नेपाली जनताको एउटा ठूलो तप्कालाई सातौं दशकदेखि लाग्दै आएको छ, कम्युनिस्ट पार्टीको शासनमा देशमा सुशासन र विकास छिटो हुन्छ। अहिलेसम्म यो अनुमान र तर्कशास्त्रको विषय थियो। तर अब जनताको यो विश्वास विगत ७० वर्षमा सबैभन्दा ठूलो परीक्षाको घडीमा उभिएको छ। यो सरकारले सके, हस्तिनापुरको रजाइँ गर्नेछ। नसके दशकौंदेखिको भ्रमबाट जनताको मुक्ति हुनेछ।

वैश्य युगमा कुनै पनि क्षेत्रको सफलता वा विफलताका निम्ति एक सूत्रीय फर्मुला छ– ‘परफरमेन्स’ अर्थात् काम गरेर देखाएको रेकर्ड। थियो कुनै युग, जब केपी ओली वा शेरबहादुर देउवा जवानीमा हुनुहुन्थ्यो। वैश्य युग यसरी विस्तारित भएको थिएन। नेताहरूलाई साम्यवाद र समाजवादका लामालामा छलफल गरेर महिनौं, वर्षौं बिताउने सुविधा प्राप्त थियो। प्रेस पनि त्यही घनचक्करमा रमाएर बस्थ्यो। हो, त्यो युगमा चाहिँ तत्काल ‘परफरमेन्स’ नदेखाए पनि चल्थ्यो। मान्छेसँग धैर्य र समय दुवै थोक धेरै थियो। आज त्यो युग होइन। वैश्य युगमा घडी र धैर्य, दुवै अलि छिटो चल्छन्।

कर्तव्यबिनाको अधिकार, उत्पादनबिनाको वितरण र योग्यताबिनाको आकांक्षामा आधारित समाजमा ठूला–ठूला नाराबाजी गर्नु एउटा कुरा हो। तर उत्पादन, वितरण र बजारलाई ठीक पारेर जनताको मुखमा माड लगाउन सक्नु नितान्त भिन्न औकातको कुरा हो।

निश्चय पनि नयाँ सरकारलाई जनताले राजनैतिक स्थिरताको लागि भरपुर मतादेश दिएका छन्। नवनियुक्त प्रधानमन्त्री आफ्ना कतिपय पूर्वाधिकारीले विगतमा बोक्नुपरेको संसदीय गणितको वाध्यात्मक भयबाट मुक्त हुनुहुन्छ। तर राजनैतिक स्थायित्वले मात्रै आर्थिक विकास सम्भव भए, पञ्चायतको पालामा वा कांग्रेसले एकल बहुमत ल्याउँदा पनि पूरा भइसक्ने थियो।

यो कुरा प्रधानमन्त्री केपी ओलीलाई राम्ररी थाहा छ। निर्वाचनअघि पंक्तिकारलाई अन्तर्वार्तामा उहाँ स्वयम्ले भन्नुभएको थियो, ‘बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो। भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन। ढंग पुर्‍याइएन भने ‘स्ट्याबिलिटी’ (स्थिरता) स्ट्याग्नेसन (जडता) मा परिणत हुने खतरा पनि हुन्छ। हामी त्यो विषयमा सतर्क छौं।’

यति कुरा स्वयम् बुझेका नेता केपी ओलीलाई हामीले थप केही भनिराख्नु पर्दैन। लामो समयपछि नेपालले एक स्पष्ट दिशाबोध भएको प्रधानमन्त्री पाएको छ। हामी नयाँ सरकारको सफलताको कामना गर्दछौं। रचनात्मक सहयोग र सकारात्मक आलोचना गर्न हामी कसैले पनि शरम मान्नु पर्दैन।

स्तालिस्भाव बेल्कोस्कीको प्रश्नलाई जवाफ दिने हो भने, आज यस्तो खाले वाक्य संरचना बन्दछ– ‘यो युगको मुख्य प्रश्न विकास र समृद्धि हो। अब मुख्य दोषी हाम्रो गरिबी र पछ्यौटेपन हो। यसका विरुद्ध केही नगरि भएकै छैन। त्यसैले यस युगका मुख्य पात्र प्रधानमन्त्री केपी ओली र माओवादी नेता पुष्पकलम दाहाल प्रचण्ड हुन्।’

जबसम्म यी दुई पार्टीबीच उनीहरूकै शब्दमा एकीकरण हुँदैन तबसम्म अहिले बनेको सरकार कस्तो प्रकृतिको हो भन्ने परिभाषित गर्न पनि सकिन्न। भर्खरै गठन भएको सरकार, एमालेको ‘एकल सरकार’ रहने हो वा माओवादी सम्मिलित सयुंक्त सरकार हुने हो ? दुई पार्टीबिच कहिलेसम्म एकीकरण हुने हो वा होइन ? यो प्रश्नको यथाशीघ्र जवाफमा भविष्यका कयौं उत्तर लुकेका छन्। एकीकरण पछि पनि जनताले ‘डेलिभरी’ पाउने हुन् वा होइनन् ? यो कुरा यस युगको सबैभन्दा महत्वपूर्ण प्रश्नको रूपमा कायमै रहनेछ।

‘वैश्य युग’मा डेलिभरीबाहेक सब थोकको रङ केही कालपछि सुक्खा र फिक्का देखिन थाल्छ। यसपटक अपवाद होस्। यसपटक साँच्चिकै नयाँ केही होस्। बोतल पुरानो भए पनि दूध ताजा पिउन पाइयोस्। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्