५ पत्रकारको सगरमाथाको चुचुरो चुम्ने सपना



समाचार संकलनका लागि दौडने खुट्टा, कलम चलाउने हातले आजभोलि फरक काम गरिरहेको छ । झोलामा कलम र डायरी बोकेर हिँड्ने खुट्टाले आजभोलि २५ किलो भारी भएको झोला बोकेर हरेक बिहान दौडने गर्छ । कलम समाएर समाचार टिप्ने हातले फलामको डमबेल उचाल्न थालेको छ । पाँच पत्रकार सुन्दरीको कार्यतालिका नितान्त फरक भएको छ ।

विभिन्न मिडियामा विभिन्न उपनामले उनीहरूको फोटो वा सम्बन्धित समाचारले स्थान पाइरहेको छ । कतै ‘हिम्मतवाली पत्रकार’ कतै ‘सगरमाथा चुम्दै पञ्चकन्या’ यस्ता समाचारले उनीहरूलाई झनै उत्साहित बनाइरहेको बताउँछ यो टोली । उनीहरू फरक पारिवारिक पृष्ठभूमिका हुन् । देउराली स्वतन्त्र पत्रकार, प्रियालक्ष्मी कार्की (न्यूज २४), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), कल्पना महर्जन (मेघा टिभी) र रोशा बस्नेत (राष्ट्रिय समाचार समिति)मा कार्यरत पत्रकारहरू हुन् ।

सामान्यतया समाचार कहाँ छ, कुन एंगलले बनाउने भन्ने कुराबाट सुरु हुने यी सुन्दरीहरूको दैनिकी सगरमाथा चढ्ने निर्णयपछि बिल्कुल फरक भएको छ । हाल उनीहरू लाजिम्पाट स्थित ड्रिमर डेस्टिनेसन प्रालिको अफिसमा एकैसाथ बसिरहेका छन् । बिहान ४ बजे उठ्छन्, त्यसपछि ब्रेकफास्ट गरेर एक घन्टा लाजिम्पाटदेखि विभिन्न रुटमा २५ केजीको भारी बोकेर दौडन थाल्छन् । महेन्द्र पुलिस क्लब पुगेर कडा व्यायाम गर्छन् । ११ बजेसम्म व्यायाम गरेपछि फेरि वासस्थान जान्छन् । त्यसपछि सहयोगका लागि विभिन्न सरकारी निकाय, संघसंस्था, आफन्तकहाँ गर्न पुग्छन् । पाँचजनाको टिम कहिले बाँडिन्छन्, कहिले साथै जान्छन् ।

राष्ट्रिय समाचार समितिमा कार्यरत रोशा बस्नेत सगरमाथा आरोहणकी परिकल्पनाकार हुन् । भन्छिन्, ‘हामीले जीवनमा एड्भेन्चरस काम गर्नुपर्छ भन्ने लागिरहन्थ्यो र सगरमाथा चढ्नुजत्तिको एड्भेन्चरस अरू लागेन । त्यही भएर आँटिलो साथीहरूको खोजीमा लागेँ र उहाँहरूलाई भेटेँ ।’ तर, यो समूह सजिलै बनेको अवश्य होइन । सबैको परिवारले सगरमाथा चढ्ने अनुमति दिएका छैनन् । उनीहरूको निर्णय केही दिनको चुरीफुरी मात्रै भएको ठानेका छन् । देउरालीको परिवारले मात्रै सहज रूपमा लिएको छ ।

रंगकर्म र पत्रकारितालाई सँगै अगाडि बढाइरहेकी रोजिता बुद्घाचार्यको परिवारले अझै पूर्ण सहमति दिएको छैन । तर, उनले सगरमाथा चढेर आउने निर्णय गरिसकेकी छिन् । अहिले तन–मनका साथ शारीरिक अभ्यासमा जुटिरहेकी छिन् । भन्छिन्, ‘म आफ्नो निर्णयप्रति ढुक्क छु । मेरो परिवारको शिर झुक्ने काम गरिरहेकी छैन । त्यसैले परिवारको पूर्ण सहमति नहुँदा पनि आत्तिएकी छैन ।’

अर्की विवाहित साहसी हुन कल्पना महर्जन । उनको परिवारले पनि उनलाई सगरमाथा चढ्न जाने अनुमति दिएको छैन । उनी ६ वर्षीय बच्चाकी आमा हुन् । श्रीमान्ले भने कल्पनाको जिद्दीको अगाडि जोर नचलेपछि अहिले साथ दिन थालेका छन् । पर्यटन बिटमा काम गरिरहेकी कल्पनालाई परिवारले सहमति नदिनुको पछाडि एउटा कारण रहेछ । सन् २०१४ मा सोलुखुम्बुको म्यारापिक हिमाल आरोहणका क्रममा बिरामी परेपछि उनलाई तुरुन्तै उद्धार गरिएको थियो । त्यतिवेला उनी ७ दिन कोमामा पुगेकी रहिछन् । यहीकारण रहेछ उनले अझै परिवारको अनुमति नपाएको ।

तर, कल्पनामा भने जसरी पनि सगरमाथा चढ्छु भन्ने आत्मविश्वास छ । भन्छिन्, ‘परिवारको डरलाई गर्वमा परिणत गर्नुछ । र गर्छु । विवाहित महिलाले केही गर्न सक्दैनन् भन्ने मान्छेको भ्रम पनि चिर्नु छ ।’ सगरमाथा चढ्ने कुरा परिवारले समाचारमा आएपछि मात्र थाहा पाएको बताउँछिन् । सगरमाथा आरोहणमा जाने महिला पत्रकारहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको समाचार र फोटो सञ्चारमाध्यममा आएपछि मात्र उनको परिवारले थाहा पाएका थिए । प्रियालक्ष्मी कार्की हुन्, यी पाँचमध्येकी एक साहसी । उनी न्युज २४ मा खेलकुद बिट हेर्छिन् । ललितपुर साना गाउँकी कार्की सानैदेखि अन्यभन्दा फरक हुन रुचाउने व्यक्ति हुन् । मर्नुभन्दाअघि एकपटक सगरमाथा चढ्ने उनको सपना साकार हुन लागेकामा दंग छिन् । भन्छिन्, ‘हिमालहरू देख्दा म एकदमै रोमाञ्चित हुन्छु । हिमाल देख्नासाथ एकपटक सगरमाथा चढेर छाड्छुजस्तो लाग्थ्यो, अब त्यो सपना चाँडै पूरा हुँदै छ । एकदमै उत्साही छु ।’

परिकल्पनाकार रोशा बस्नेतको भने परिवार मनाउन गाह्रो भएन । भन्छिन्, ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ परिल्कपना गरेँ अनि परिवारलाई मनाउँदै अरू साथीको खोजी गरेँ ।’ रोशाले टिम बनाउँदा १३ जना थिए । तर, पछि १३ घटेर ७ हुँदै अहिले पाँचजना भएका छन् । सगरमाथा चढ्ने परिकल्पना कसरी आयो भन्ने सवालमा रोशा भन्छिन्, ‘कार्यक्षेत्रभन्दा एकदम फरक र साहसिक कार्य गरौँ भन्ने भित्रि इच्छाले अहिले सगरमाथा चढ्ने तयारीमा पुगेको हो । त्यहीअनुसार साथीहरू पनि पाएँ ।’ रोशा थप्छिन्, ‘मलाई शारीरिक, मानसिक आर्थिक रूपमा साहसिक काम गरेर अरूलाई पनि प्रेरणा मिल्नेखालको काम गर्नुपर्छ भन्ने कुराले सगरमाथा चढ्ने निर्णय गरेकी हुँ ।’ समूहकी सबैभन्दा ‘स्ट्रङ’ सदस्यका रूपमा रोशाले देउरालीलाई लिन्छिन् । देउराली आफैँ देशका ५० पर्यटकीय स्थलहरूको भ्रमण गरिसकेकी बताउँछिन् । सगरमाथा चढ्ने सुनेपछि उनकी आमाले गर्वका साथ यो खबर गाउँमा सुनाएकी थिइन् ।

यी पाँच साहसी आरोहीहरूले यालुंग्री र नाम्दुङ दुईवटा हिमाल चढिसकेका छन् । यालुंग्रीको उचाइ ५ हजार ६ सय ३० र राम्दुङको उचाइ ५ हजार ९ सय मिटर रहेको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्