नमुना प्रदेश बनाउने मास्टर प्लान बन्दै छ : शेरधन राई



पार्टीभित्रको आन्तरिक निर्वाचनबाट एमाले नेता शेरधन राई प्रदेश १ को संसदीय दलका नेता चयन भए । प्रदेश १ को सहसंयोजकसमेत रहेका नेता राईको त्यससँगै मुख्यमन्त्री बन्ने बाटो खुल्यो र बिहीबार उनले पदभारसमेत ग्रहण गरे । उनी यतिवेला आफू नेतृत्वको सरकारलाई पूर्णता दिने क्रममा छन् । मुख्यमन्त्री राईका अघिल्तिर अवसर तथा चुनौती दुवै उत्तिकै छन् । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मुख्यमन्त्री राईसँग नयाँ पत्रिकाका कृष्ण कट्टेल र गणेश लम्सालले प्रदेशको विकास, चुनौती, उनका भावी योजना र कार्यक्रमलगायतका विषयमा गरेको कुराकानीको संम्पादित अंशः

नेपाल यतिवेला इतिहासमै पहिलोपटक संघीयता कार्यान्वयनको चरणमा छ । यस्तो अवस्थामा प्रदेश १ को मुख्यमन्त्री हुँदा कस्तो अनुभूति गर्नुभएको छ ?
म एकदमै खुसी छु । आफ्नै हातले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखेर जारी गरिसकेपश्चात् त्यही संविधानको कार्यान्वयनको सिलसिलामा संघीय संरचनाअन्तर्गत प्रदेश १ को मुख्यमन्त्री नियुक्त भइरहँदा मैले बेग्लै खुसी र गौरवको महसुस गरिरहेको छु । सँगसँगै स्वाभाविक रूपमा गहिरो जिम्मेवारीको बोध भइरहेको छ । किनभने देश नयाँ युगमा छ । जनताका धेरै आशा, अपेक्षा र सपना छन् । त्यो भनेको विकास, समृद्धि र सम्पन्नता हासिल गर्ने कुरामा छ । अब जनतालाई कसरी यी कुरा पस्किने, कसरी प्रदेश नम्बर १ लाई समृद्ध बनाउने र नमुना प्रदेश बनाउने भन्ने जिम्मेवारी मेरो काँधमा छ । थुप्रै चुनौती छन् र म ती चुनौतीको सामना गर्नसक्छु भन्ने पूर्ण विश्वस्त छु ।

तपाईं केन्द्रीय सरकारको मन्त्री भइसकेको मान्छे, प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री बन्ने चाहना कसरी पलायो ?
निश्चय नै मैले केन्द्रीय संसद्मा दुईपटक निर्वाचित भएर महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेको छु । त्यतिमात्र होइन, संविधान जारी भइसकेपछिको ऐतिहासिक, लोकप्रिय र राम्रो सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्रीको रूपमा समेत जिम्मेवारी सम्हालेर एउटा सफल मन्त्रीको छवि बनाइसकेको हुँ । सिंगो राष्ट्रले नै मलाई केन्द्रीय भूमिकामा खोजिरहेको र रोजिरहेको महसुस मैले गरिरहेको थिएँ । सायद त्यही कोर्समा मैले आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने पनि ठानेको थिएँ । तर संघीय संरचनाअन्तर्गत देश प्रादेशिक ढाँचामा गइरहँदा हामीले धेरै महत्वपूर्ण काम गर्नुपर्ने हुन्छ । त्यसो हुँदा प्रदेश नम्बर १ मा मेरो नेतृत्व सबै हिसाबले उपयुक्त हुन्छ भन्ने मलाई लाग्यो । पार्टीले पनि त्यही ठान्यो । प्रदेश नम्बर १ बेग्लै संवेदनशीलताको जगमा छ । हिमाल, पहाड, तराई, सबै जातजाति, भाषा, धर्म, संस्कृति मान्ने समुदायको सुन्दर बसोवास छ । यहाँको ऐतिहासिकता, सभ्यता र सबै पक्षको दृष्टिकोणबाट हेर्दा पनि सबैको भावनाको प्रतिनिधित्व मबाट हुन सक्छ भन्ने लाग्यो ।

आजको जुन विकास र समृद्धिको ऐजेन्डा छ, त्यसलाई तीव्रगतिमा अघि बढाउन सक्ने बलियो इच्छाशक्ति भएको, जनताका सबै प्रकारका भावनासँग जोडिन सक्ने र नेतृत्व गर्न सक्ने गतिशील नेतृत्वको खोजी प्रदेश नम्बर १ ले गरिरहेको थियो र त्यो खोजीमा मेरो मात्र नेतृत्व उपयुक्त हुन सक्दछ भन्ने ठहरमा नै मैले प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएँ, भारी मतले विजयी भएँ र संसदीय दलको नेताका रूपमा निर्वाचित भएर मुख्यमन्त्रीको ऐतिहासिक जिम्मेवारी सम्हाल्न आइपुगेको हुँ ।

पार्टीमा पोलिटब्युरो सदस्य हुँदै गर्दा संसदीय दलको नेता बन्न पार्टी सचिवसँग प्रतिस्पर्धा गर्नुपर्‍यो । तपाईंलाई असहज महसुस भएन ?
मैले जतिवेला प्रदेश सभामा चुनाव लड्ने निधो गरेँ, त्यतिवेला मेरो मनमा कुनै द्विविधा थिएन । भावी मुख्यमन्त्रीका रूपमा मैले आफूलाई प्रस्तुत गर्नुपर्छ, त्यसका निमित्त नै मेरो प्रदेश सभामा उम्मेदवारी हो र त्यसका लागि नै मेरो जित सुनिश्चित हुनुपर्छ भन्ने स्पष्ट मानसिकताका साथ मैले आफूलाई प्रस्तुत गरेको थिएँ । प्रदेश नम्बर १ मा एमालेले एकल बहुमत प्राप्त ग¥यो । सिंगो प्रदेश सभा र प्रदेश सरकार सम्हाल्ने जिम्मेवारी एमालेको काँधमा आयो । त्यतिवेला पनि मेरो मनमा कुनै द्विविधा पलाएन । तत्पश्चात् संसदीय दलको नेता चुन्नुपर्ने र संसदीय दलको नेता नै मुख्यमन्त्रीमा नियुक्त हुने प्रावधानअन्तर्गत मैले आफूलाई संसदीय दलको नेताका रूपमा प्रस्तुत गरेँ । सकेसम्म सर्वसम्मत रूपमा नेता चयन गरौँ भन्ने चाहना थियो । तर, त्यसो हुन सकेन र प्रतिस्पर्धा भयो । सिनियरिटीको हिसाबले मभन्दा माथि रहनुभएका मेरा आदरणीय नेता भीम आचार्यसँग मैले प्रतिस्पर्धा गर्नुपर्‍यो । त्यो प्रतिस्पर्धामा मैले असजिलो गर्नुपर्ने कुनै कारण थिएन । किनभने मुख्यमन्त्री बन्न र संसदीय दलको नेता बन्न मैले सबै योग्यता पूरा गरिसकेको थिएँ । पार्टीभित्र वा सरकारमा रहँदा मेरो कार्यक्षमता देखाइसकेको थिएँ । त्यही भएर पनि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सक्ने ठहर गरेँ र प्रतिस्पर्धामा उत्रिएको हुँ ।

भोजपुरबाट निर्वाचित भई तपाईं सञ्चारमन्त्री हुँदै प्रदेश १ को मुख्यमन्त्री हुनुभयो । भोजपुरले तपाईंजस्ता थुप्रै मन्त्री जन्मायो । राष्ट्रपति पनि भोजपुरकै हुनुहुन्छ । जिल्लाका धेरै नेता सत्तामा पुग्दासमेत भोजपुर किन पछाडि नै भयो ?
म अत्यन्तै दुर्गम तथा विकट गाउँमा सामान्य किसान परिवारमा जन्मिएर हुर्केको मान्छे हुँ । त्यो दुर्गमको अभाव र आवश्यक्तासँग भिजेर ती समस्या समाधान गर्ने, समाजलाई परिवर्तन गर्ने उद्देश्य बोकेर मैले आफूलाई राजनीतिमा सामेल गराएँ । आजसम्म मेरो सम्पूर्ण जीवन नेपाली राजनीति र समाजका लागि समर्पित छ । आफूलाई राजनीतिमा प्रवेश गराएदेखि आजसम्म विश्राम लिएको छैन । कुनै पेसा र व्यवसाय पनि गरेको छैन । इमानदारीपूर्वक निष्ठा, नैतिक मूल्य, स्वच्छताको राजनीति गर्दै आएको छु । सडक, विद्युत्, स्वच्छ पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँचमा जोडिनु नै भोजपुरवासीको मुख्य चाहना हो । त्यसलाई समाधान गर्न हामी योजनाबद्ध रूपमा लागिरहेका छौँ ।

राजनीतिक हिसाबले भोजपुर एउटा ऐतिहासिक जिल्ला हो । ००७ को जनक्रान्तिमा नेतृत्व गर्ने रामप्रसाद राई, नारायणप्रसाद थुलुङ भोजपुरकै हुनुहुन्छ । त्यसपछि थुपै्र नेता, प्रशासक, कलाकार, साहित्यकार जन्माउने जिल्लामा भोजपुर पर्छ । तर, विकासको दृष्टिले पछाडि परेको महसुस त्यहाँका जनता र अरूले पनि गरेका छन् । भौगोलिक अवस्थितिमा भोजपुर सबैतिर नदीले घेरिएको जिल्लामा पर्छ । तराई र हिमालसँग हामी जोडिन सकेनौँ । सडकले जोडिनसमेत भोजपुरलाई निकै ढिला अवसर मिल्यो । ठूलो ओहोदामा जिल्लावासी पुगिरहे पनि जिल्लाको विकास नहुनुको कारण अस्थिर सरकार पनि हो । हामी मन्त्री त भयौँ, तर ढुक्क भएर काम गर्ने समय भएन । सोचेजस्तो काम अघि बढ्न सकेन । तर, अहिले केन्द्र र प्रदेशमा नै स्थिर सरकार बनाउँदै छौँ । अब पक्कै केही हुन्छ ।

प्रदेश १ मा विकासका सम्भावना र चुनौती थुप्रै छन् । मुख्यमन्त्री भएको नाताले तपाईंले यस प्रदेशलाई कसरी बुझ्नुभएको छ ?
प्रदेश १ लाई मैले राम्रोसँग बुझेको छु । पार्टीको जिम्मेवारीको हिसाबले प्रदेश नम्बर १ को म सहइन्चार्ज हुँ । पार्टीको कामको सिलसिलामा म सबै जिल्लामा पुगेको छु । हरेक जिल्लाको समस्या, त्यहाँको आवश्यक्ता बुझेको छु । यो क्षेत्र अत्यन्तै राम्रो सम्भावनाको बीचमा उभिएको छ । अन्य प्रदेशसँग दाँज्दा पनि यो प्रदेश सम्भावनामाथि उभिएको छ । यसलाई सम्पन्न बनाउन कृषि, पर्यटन, जलस्रोत, उद्योगलगायतको जगमा उभिएर प्रदेशलाई सजाउन सक्छौँ ।

हामीसँग संसारकै अग्लो हिमाल सगरमाथा छ । अन्य अग्ला हिमाल पनि छन् । थुप्रै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व बोक्ने त्यस्ता केन्द्र पनि छन् । पर्यटकीय गन्तव्य छन् । हामीले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ । तीव्र गतिको सडक सञ्जालले यस प्रदेशलाई जोड्ने, भारत र चीनसँग जोड्नेलगायतका काममा हात हाल्नु छ । त्यस्तै, एकीकृत सुन्दर बस्ती बनाउने, सूचना र प्रविधिसँग जोडिन आइटीको विकासमा ध्यान दिन्छौँ । स्मार्ट सिटीको अवधारणाअन्तर्गत काम थाल्छौँ । सहर अव्यवस्थित छन्, अझै व्यवस्थित बनाउछौँ । ओभरहेड केबललाई अन्डरग्राउन्ड बनाउने काम सुरु गर्छौँ । प्रदेश १ मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, हाम्रा घरेलु हवाई मैदानमा सेवा सञ्चालन गर्नु छ । यीलगायत विद्युत् उत्पादनको योजना बनाउँछौँ । हामीले प्रदेश नम्बर १ लाई नमुना प्रदेश बनाउने मास्टरप्लान बनाइरहेका छौँ । मास्टरप्लानका आधारमा हामी प्रदेश नम्बर १ लाई एक नम्बरको बनाउनेछौँ ।

सीमित स्रोत तथा साधनको बीचमा शून्यबाट काम सुरु गर्नुपर्ने देखिन्छ । जन अपेक्षा उत्तिकै छ । यस्तो अवस्थामा तपाईंका योजना के–कस्ता छन् ?
निश्चय नै काम शून्यबाट थाल्नु छ । यो हाम्रो पहिलो अभ्यास र अनुभव पनि हो । सबैभन्दा पहिला जनताको भारी अपेक्षा र आवश्यक्तालाई प्राथमिकतामा राख्नेछौँ । प्रदेशभित्रको साधन तथा स्रोतको राम्रोसँग सदुपयोग गर्छौं । त्यति मात्र गर्दा पनि धेरै गर्न सकिन्छ । केन्द्रले पनि हामीलाई एकमुष्ठ बजेट पठाउँछ । प्रदेशभित्र राजस्व प्राप्त गर्नका लागि विभिन्न क्षेत्र छन् । विकास, निर्माणमा निजी क्षेत्रलाई हामी अधिकतम सहभागी गराउँछौँ । विदेशी लगानी भित्र्याउने कुरामा ध्यान दिन्छौँ । ठूला हाइड्रोपावरलाई पूर्णता दिनुछ । पर्यटन, कृषि, उद्योगको विकास गर्नुछ । हाम्रो आफ्नो मात्रै बलबुताबाट यी काम सम्पन्न गर्न गाह्रो छ । वैदेशिक लगानीलाई आकर्षित गर्न उपयुक्त कानुन र आधार निर्माण गर्छौं । यिनै माध्यमबाट प्रदेश १ लाई विकासको रफ्तारमा अघि बढाउन सक्छौँ । आगामी पाँच वर्षभित्र गर्न सक्ने कामको प्राथमिकतालाई मध्यनजर गर्दै सरकारले योजना सार्वजनिक गर्छ । सोही रोडम्यापअन्तर्गत हामी काम थाल्छौँ । पाँच वर्षमा देखिने गरी एउटा विकासको खाका दिन्छौँ ।

भष्टाचार हुन नदिन र सुुशासन कायम गर्न के गर्नुहुन्छ ?
संसदीय दलको नेतामा निर्वाचित हुनासाथ मैले यो प्रदेशलाई भष्टाचारमुक्त बनाउँछौँ भनिसकेको छु । त्यसका निम्ति आवश्यक पर्ने सबै किसिमका कठोर कदम चाल्छौँ । यसरी भष्टाचार शून्यमा राखेर सुशासन कायम गर्नेछौँ ।

पुरानै ढर्राको कर्मचारीतन्त्रबाट तपाईंले भनेजस्तो सुशासन कायम गर्न सजिलो होला र ?
चुनौती त छन् नै । तर, अब पुरानो मानसिकता र आनीबानी बदल्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला राजनीतिक नेतृत्व बदलिनुपर्छ । त्यसपछि ब्युरोक्रेसी र राज्यका सबै अंगलाई बदल्नुपर्छ । गलत खालका मानसिकता र प्रवृत्ति नत्याग्नेप्रति सरकार हदैसम्म कठोर बन्न बाध्य हुनेछ ।

तपाई नेतृत्वको सरकारको आकार कत्रो बन्नेछ र कहिलेसम्म पूर्णता पाउनेछ ?
यसबारे हामी अत्यन्तै सचेत छौँ । यस विषयमा वाम गठबन्धनभित्र सहमति गरिसकेका छौँ । संविधानले अनुमति दिने संख्याभन्दा सानो, चुस्त आकारको मन्त्रिमण्डल बनाउने सहमति भएको छ । घटीमा सातदेखि बढीमा ११ जना मन्त्री प्रदेश नम्बर १ मा हुनेछन् । प्रदेश एकको सरकारले छिट्टै पूर्णता पाउनेछ ।

हिजो वाम गठबन्धन बनाएर चुनाव लडेका शक्तिबीच पार्टी एकता हुँदै छ । प्रदेशमा यसले कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
हाम्रो गठबन्धन केही दिनमा नै एउटै पार्टीमा रूपान्तरण हुँदै छ । एकीकरणबाट भाग्ने सुविधा दुवै दललाई छैन । त्यसले एउटा सहज र उत्साहजनक परिस्थिति सिर्जना गर्छ । देशले बलियो र स्थिर सरकार खोजिरहेको छ । त्यसैलाई हामीले नारा बनायौँ । जनताले अनुमोदन गरे । त्यो भरोसाको नेतृत्व हामीले गर्नुपर्छ । दुई पार्टीभित्र भएको सहमतिका आधारमा हामी केन्द्रदेखि तल्लो तहसम्म पार्टीलाई समायोजन गर्छौँ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्