घातक जंकफुड



आजभोलि २८/३० वर्षकै उमेरमा मुटुसम्बन्धि रोग, मधुमेह, उच्च रक्तचापका समस्या देखा पर्छन् । यसको प्रमुख कारण भनेकै जंक फुड हो । आफ्नो लागि केही समय ननिकाल्दा, अल्छी गर्दा अन्ततः आफ्नै स्वास्थ्यमा असर पुग्छ । घरमै उपलब्ध हुने मकै, भटमास, चना, रोटी, आलु खान मान्छेहरू लजाउँछन् । फिल्म हेर्न जाँदा पपकर्न भन्दै खाने तन्नेरीहरू आफ्नै घरको मकै खान अनकनाउँछन् । वास्तवमा सानो बेलादेखि जस्तो बानी बसाल्यो त्यस्तै हुन्छ । त्यसैले स्कुलमा खाजा पठाउँदा पनि घरकै खानेकुरामा पढाउनुपर्छ । कतिपय अभिभावकले घरको दूध बेचेर चाउचाउ किनेर खुवाउँछन् । जुन एकदमै गलत हो । तत्कालै कुनै असर देखा नपरे पनि पछि गएर हानी पु¥याउँछ । विज्ञापनको प्रभाव पनि आजभोलिका केटाकेटीमा व्यापक छ । यसले गर्दा पनि जंकफुडको प्रयोग बढिरहेको छ । खाँदा स्वादिलो भएकाले नै यसको क्रेज बढेको हो । तर, घरका खानेकुरालाई पनि मिहिनेग गरेर बनाउँदा जंकफुडभन्दा स्वादिलो बनाउन सकिन्छ ।

किन घातक ?
– शरीरलाई चाहिने आवश्यक तत्व पुग्दैन,
– मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्छ,
– अल्छि बनाउँछ,
– खाइरहन मन लाग्ने भएकाले एक किसिमको लत बस्छ,
– एकछिनको स्वादले दिर्घकालिन असर गर्छ,
– सानै उमेरमा ठूलो रोगको सिकार हुनुपर्छ,

जंकफुडबाट टाढिने उपायः
– जंकफुडको बेफाइदाबारे सजग हुने,
– घरको खानेकुरा खान नहिचकिचाउने,
– बच्चालाई टिफिन पठाउने बेला अल्छी नगर्ने, घरकै खानेकुरामा जोड दिने,
– घरका खानेकुरालाई विभिन्न उपाउ लगाएर स्वादिष्ट बनाउने,
– जंकफुड मात्रै स्वादिलो हुन्छ भन्ने भ्रमबाट मुक्त हुने,
– बच्चाहरु रोए भन्दैमा जंकफुड नथमाइदिने, बरु एकछिन रुन दिने,
– विज्ञापनको प्रभावबाट टाढा राख्ने ।

प्रतिक्रिया दिनुहोस्