हराएको ७ दिनपछि फेला परेका बालकको बयान : बाघको बच्चा मेरै छेउमा आयो (भिडियो सहित)



केहि समय अगाडि फुल्चोकीमा हाईकिङ गरेर साथीहरुसँग फर्कने क्रममा हराएका जोन तामाङ ७ दिनपछि फेला परेका थिए। ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत कुसुन्तीमा बस्ने १७ वर्षीय तामाङ फुलचोकीको घना जंगलमा रहेको सेतो कखरा भन्ने ठाउँ फेला परेका थिए।सात दिन सम्म जंगलमा हराएका उनको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै अहिले सम्म उनको बयान कुनै पनि मिडियाले लिएको थिएन। उनि जंगलमा हराउदाको बारेमा मिडियामा पहिलो पटक बोलेका छन् । उनले जंगलमा धेरै डराएको र बाघ बच्चा पनि देखेको बताएका छन्।

यस्तो छ उनले दिएको बयान:
म साथीहरुसंग फर्कने क्रममा हिडेको जंगलको बाटो निकै साँघुरो र अप्ठ्यारो पनि थियो । त्यहाँ हिउँले भरिएको पातहरु थिए, त्यहि पातहरुमा चिप्लिएर म लडें। अनि म हराएँ। म लड्दा कहिले मेरो टाउको तल हुथ्यो, कहिले खुट्टा तल। मैले साथी निशाको झोला बोकेको थिएँ, त्यो झोला पनि फुस्क्यो।

म जंगलमा तल झरेपछि मेरो देब्रे खुट्टा रूखको चेपमा गएर अड्कियो । म त्यहाँबाट निस्कनै सकिन, अनि त्यसपछि मैले बचाऊ बचाऊ धेरै कराएँ, कसैले पनि सुनेन। त्यो जंगल साह्रै डरलाग्दो थियो। हराउँदाको दिन छिट्टै राति भयो। राति भूत आउलाकी भनेर पनि कत्ति डराएँ, त्यतिखेर मैले मम्मिलाई सम्झिएँ, भगवानलाई प्रार्थना गरेँ । रोएँ कराएँ, मलाई धेरै भोक र पानी तिर्खा पनि लायो। रातिमा ३ चोटी बाघ करायो। मैले दिउसो बाघको सानो बच्चा पनि देखेँ। त्यो बाघको बच्चा मेरै छेउमा आयो । मेरो खुट्टा सुन्निएर हात्तीको जस्तै भएको थियो। हातमा पनि जाडो भयो। जताततै कति धेरै जाडो भयो।

मलाई दिउँसोभन्दा पनि राति धेरै डर लाग्थ्यो । मलाई डर लागेर मेरो ज्याकेटले मुख छोपेर बसें । चरा कराएको र बाघ कराएको मात्रै सुनिन्थ्यो त्यहाँ जंगलमा।

भेटिँदाको दिन सम्झदै जोन
सात दिनको दिन चाहिँ मलाई मलाई बुवाको साथी (अङ्कल) हरू भेट्नुभो । त्यसपछि मैले उहाँहरुले दिएको बिस्कुट र पानी खाएँ । त्यसपछि मलाई त्यहाँबाट पुलिसको घरमा लग्नुभो। त्यहाँ सबैले मेरो फोटो खिचे । त्यसपछि एम्बुलेन्स गाडीमा अस्पतालमा पुर्याउनु लगियो  । म १५ दिन सम्म अस्पताल बसें । अब यो खुट्टा सन्चो भएपछी जान्छु । मलाई स्कूलका साथीहरूको धेरै याद आउछ ।

प्रतिक्रिया दिनुहोस्