क्यानमा देखिएको विवाद नै मुख्य समस्या : पारस



नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको समस्या तत्काल समाधान हुनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा क्यान रहेका कारण आफूहरूले सोचेजस्तो गर्न नपाएको र क्रिकेट विकास अड्किएको कप्तान पारसको भनाइ छ ।

नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगको उपविजेता हुँदै शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पारस क्रिकेट विवादमै केन्द्रित देखिएका हुन् ।

दुई महिनाभित्र समाधान हुनुपर्ने
गत साता आइसिसीले क्यान विवाद दुई महिनाभित्र समाधान गर्नुपर्ने जनाएको थियो । नेपालसँग दुई महिनाको अवधि रहेको उनले जनाए ।

‘अहिले पनि हामी आइसिसीको व्यवस्थापनमा हिँडिरहेका छौँ, आफ्नै संघ हुँदा काम गर्न सहज हुन्छ, यसका लागि हामीसँग दुई महिना समय छ,’ विमानस्थलमा कप्तान पारसले सञ्चारकर्मीसँग भने ।

डिभिजन–२ को उपविजेता हुँदै सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आउँदो केहीदिनभित्र तयारी थाल्ने उनले बताए । ‘हामी थोरै आराम गर्छौँ त्यसपछि खेलाडीहरू छनोट चरणको तयारीमा लाग्नेछन्,’ उनले भने ।

एक्सपोजर आवश्यक
ऐतिहासिक प्रदर्शन गरी घर फर्किएका स्टार क्रिकेटले एकदिवसीय विश्वकप छनोटमा उत्कृष्ट नतिजा निकाल्न एक्सपोजरको आवश्यकता रहेको महसुस गरेका छन् । अधिकांश खेलाडीले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर खेल आवश्यक रहेको जनाए ।

डिभिजन–२ का लागि टोलीले दुई खेल मात्र अभ्यास खेल्न पाएको थियो । प्रतियोगितामै सर्वाधिक १७ विकेट लिँदै म्यान अफ दी म्याच भएका सन्दीप लामिछानेले धेरैभन्दा धेरै खेल आवश्यक रहेको बताए । सन्दीपले इन्डियन प्रिमियर लिगभन्दा विश्वकप छनोटमा केन्द्रित रहने बताए ।

लिग चरणमा क्यानडाविरुद्धको गर या मर को खेलमा ४१ रनको म्यान विनिङ प्रदर्शन गरेका करण केसीले विश्वकप छनोटको स्तर धेरै माथि रहेकाले त्यही अनुसारको अभ्यास हुनुपर्ने बताए । यता, मुख्य प्रशिक्षक जगत टमाटाले छोटो तयारी भए पनि नेपालले उत्कृष्ट नतिजा निकालेको बताए ।

भव्य स्वागत
नेपाली टोली शनिबार राति नौ बजे विमानस्थलमाबाट बाहिरिएको थियो । दोस्रोपटक विश्वकप छनोटको अन्तिम चरणमा पुगेको नेपाली स्टार क्रिकेटरलाई दुई सय हाराहारीका समर्थकले स्वागत गरेका थिए । समर्थकले आ–आफ्ना मनपर्ने खेलाडीको नाम उच्चारण गदेै स्वागत गरेका थिए ।

कसले के भने

विगतमा के भएको थियो, त्यसको पछि हामी नलागौँ, अब आउँदा दिनमा नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने सोचौँ – पारस खड्का, कप्तान

यसपटक नेपालको हकमा चमत्कार नै भयो, हामीले प्रतियोगिताका लागि धेरै मिहिनेत ग¥यौँ, यस किसिमको नतिजा आउने विश्वास थिएन – जगत टमाटा, प्रशिक्षक

विश्वकप छनोटमा विपक्षीको रणनीति कमजोरीअनुसार योजना बनाउनुपर्छ, नामिबियामा खेलको अवस्था बुझ्ने अवसर मिल्यो – सन्दीप लामिछाने

अझै पनि मलाई क्यानडाविरुद्धको इनिङ विश्वास लागेको छैन, क्रिजमा सन्दीपसँग कुराकानी हुँदा नेपालले जित्न सक्ने विश्वास थियो – करण केसी

प्रतिक्रिया दिनुहोस्