घमण्डी होइन, भावुक छु : दीपक विष्ट, ओलम्पियन



मलाई ‘पाखे’ भन्दा हुन्छ
म गाउँबाट आएको मान्छे हुँ । किसानको छोरो हुँ । मलाई पाखे भन्दा हुन्छ । न्युयोर्क गएका वेला पनि गाउँलाई याद गर्ने मान्छे हुँ । आफ्नो धरातललाई कहिल्यै बिर्सिन्नँ ।

अरूका कुरा चोर्छु
मेरो विचारमा धेरै कम मानिस मात्र स्थिर स्वभावका हुन्छन् । म पनि आफूलाई स्थिर मान्दिनँ । चञ्चले स्वभावको छु । आफू जे हुँ त्यसमा मात्र सीमित भएर बस्न सक्दिनँ । अरूको कुरा चोर्न चाहन्छु । तर, राम्रा कुरा मात्रै है ।

भयंकर रिसाए पनि हात छाड्दिनँ
यदि कसैलाई रिस उठ्दैन, हाँस्दैन भने ऊ बिरामी हो । म पनि भयंकर रिसाउने मानिस हुँ । यद्यपि, रिसलाई कन्ट्रोल गर्न सक्छु । यदि, ममाथि कोही जाइलागिहाले भने पनि
हात छोडिहाल्दिनँ ।

मुडी छु
खेलमा हारजित हुन्छ । अझ तेक्वान्दोजस्तो खेलमा त हार्नेले बढी पिटाइ पनि खाएको हुन्छ । त्यस्तो अवस्था आयो भने म साँच्चिकै एग्रेसिभ हुन्थेँ खेल दौरान । त्यसैले, आफूलाई मुडी भन्न रुचाउँछु ।

जिद्दी छु
म घरायसी कुरामा अलि जिद्दी छु । यदि मैले भनेको कुरा सही छ भन्ने लाग्यो भने त्यो लागू गराउन जिद्दी गर्छु ।

मलाई चलाख र मितव्ययी भन्दा राम्रो
कतिपयले मलाई धूर्त र लोभीजस्ता शब्द पनि प्रयोग गरेको थाहा पाएको छु । म धूर्त होइन, चलाख छु । मैले तरिका जान्या छु । हो, म आफ्नो कुरामा बाठो छु । मैले मान–सम्मानस्वरूप पाएको खर्चबाट घर बनाएँ । प्लानिङ गरेर मात्र खर्च गर्छु । नबुझ्नेले लोभी भन्छन् । म परेको वेलामा खर्च गर्छु भन्ने कुरा उनीहरूले बुझ्न जरुरी छ ।

हुन्न भन्न सक्दिनँ
अरूलाई छिटो विश्वास गर्नु मेरो कमजोरी हो । त्यस्तै, म केही कुरा पनि हुँदैन भन्न सक्दिनँ । त्यसैगरी, म टाइमप्रति पंचुअल छैन । भनेको वेला गन्तव्यमा पुग्न सक्दिनँ ।

आफूलाई नं. १ खेलाडी मान्दिनँ
मैले साग (दक्षिण एसियाली खेलकुद)मा लगातार चार स्वर्ण पदक जितेँ । त्यसैले, आफूलाई नेपालसँगै समग्र दक्षिण एसियाकै राम्रो खेलाडी मान्छु । मैले एसियाडमा लगातार दुई कांस्य मात्र ल्याए पनि त्यो पर्याप्त लाग्दैन । मैले ओलम्पिकमा कुनै पदक ल्याइनँ र एसियाडमा पनि कास्ंय मात्र जित्न सकेकाले आफूलाई विश्वकै नं–१ खेलाडीका रूपमा दर्ज गर्न सक्दिनँ ।

मैले अरूको मुख ताक्नु हुँदैनथ्यो
म खेल्न जन्मिएको हुँ । तर, समयमै खेल (तेक्वान्दो)मा लागिनँ । ८–१० वर्षदेखि नै खेल्नुपर्ने थियो । तर, मैले १९ वर्षको उमेरदेखि मात्र खेल्न सुरु गरेँ । यसरी मैले ढिलो करिअर सुरु गरेकैले गर्दा ओलम्पिकमा मेडल तथा एसियाडमा गोल्ड मेडल ल्याउन सकिनँ । मेडल जित्नेबारे प्लानिङ गरिनँ । खाली सरकार र अरूको मुख मात्र ताकिरहेँ । आफैँले लगानी गरिनँ ।

नेताको जत्तिकै सम्मान पाएको छु
तीनवटै पार्टीका शीर्ष नेतासँग म नजिक छु । भेटघाट भइरहन्छ । उहाँहरूले मलाई राम्रै गर्नुहुन्छ । तर, म कुनै पनि पार्टी वा राजनीतिक सिद्धान्तसँग नजिक छैन । किनकि, म खेलाडी हुँ । राजनीतिमा जान त्यति जरुरी छैन । खेलाडी भएरै नाम, दाम र सम्मान पाएको छु । नेताको जत्तिकै सम्मान पाएको छु । भन्नैपर्दा, कुनै एक राजनीतिक दलभन्दा पनि व्यक्तिलाई मान्छु । त्यसैले कुनै दलको सदस्यता लिएको छैन । हाम्रोभन्दा राम्रो गर्नेलाई सपोर्ट गर्छु । (गज्ज़बबाट)

प्रतिक्रिया दिनुहोस्