श्रीमतीको सहयोगले डाक्टर बनेँ – डा. भोला रिजाल



कक्षा ४ सम्म निर्भयसँग घरमै पढेँ
मेरो जन्म सुुनसरी धरानमा भएको हो । त्यसवेला अहिलेको जस्तो विद्यालय थिएन । मेरो हजुरबुवा मेरा सन्तानले कसरी शिक्षा लिउन् अर्थात् कसरी पढाउने भनेर सोच्नुहुन्थ्यो । त्यसवेला नेपालमा त्यति शिक्षक हुँदैनथे । त्यसैले उहाँले भारतबाट एकजना निर्भय नारायण झा नाम गरेका शिक्षक ल्याउनुभयो र मलाई पढाउन लगाउनुभयो । उहाँले कक्षा ४ सम्म घरमै पढाउनुभयो । मेरो पालासम्म आइपुग्दाचाहिँ विराटनगरमा आदर्श विद्यालय र धरानमा पब्लिक हाइस्कुल सुरु भइसकेको थियो ।

१२ वर्षको उमेरदेखि विद्यालय जान थालेँ
घरमा कक्षा ४ सम्मको शिक्षा लिएपछि कक्षा पाँच अध्ययनका लागि धरान पब्लिक हाइस्कुलमा भर्ना भएँ । म भर्ना भएको भोलिपल्ट हेडसरले उहाँको कक्षमा बोलाउनुभयो । अनि मलाई कक्षा ६ मा भर्ना गरिदिनुभयो । जुन वेला म १२ वर्षको थिएँ ।

एसएलसी तेस्रो श्रेणीमा उत्तीर्ण
धरान हाइस्कुलमा कक्षा १० पढ्दै गर्दा बुवाहरूको अंशबन्डा भयो । अनि म पनि विराटनगर जानुप¥यो । त्यसपछि ०१९ सालमा विराटनगरको आदर्श विद्यालयको कक्षा १० मा भर्ना भएँ । त्यहाँबाटै एसएलसी दिएँ । तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ ।

सानैदेखि डाक्टर बन्ने रहर
०१४ मा इटहरीमा आगलागी भयो । जहाँ धेरै मानिस आगोले जले । त्यसवेला म केटाकेटी नै थिएँ । तर, म आगोले पोलेकालाई मलम लगाइदिने, औषधि दिने अनि ब्यान्डेज बाँधिदिने गर्थेँ । त्यसपछि मलाई सबैले छोटे डाक्टर भन्न थाले । अनि मलाई गाउँका सबैले मान्न थाले । त्यसपछि मलाई त्यसको प्रभाव प¥यो । अनि सानैदेखि डाक्टर बन्ने आकांक्षा जाग्यो ।

डाक्टर बन्नुमा श्रीमतीको हात
म हजुरबाको प्यारो नाति थिएँ । उहाँले १५ वर्षकै उमेरमा मेरो विवाह गर्ने कुरा गर्नुभयो । अनि मैले विवाह गरेँ । जुन वेला मेरी श्रीमती सरला १२ वर्षकी थिइन् । धेरै दिनसम्म हाम्रो बोलचाल भएन । तर, केही समयपछि उनले मलाई इन्करेज गर्न थालिन् । म डाक्टर बन्नुमा उनको ठूलो सहयोग छ । मैले एसएलसी दिनुभन्दा पहिला नै विवाह गरेको हुनाले श्रीमती सरलाले मेरो पढाइमा धेरै सहयोग गरिन् ।

पाकिस्तानको रेडियोमा काम गरेर २० हजार कमाउँथेँ
मैले ढाकामा अध्ययन गर्दै गर्दा ०२६ मा रेडियो पाकिस्तानमा प्रोग्राम अर्गनाइजरको रूपमा रहेर रेडियो कार्यक्रम सञ्चालन गर्थेँ । म न्युज रिडर पनि थिएँ । मैले ०२९ मा एमबिबिएस उत्तीर्ण गरेँ । त्यसपछि नेपाल आउन चाहेँ, तर मलाई त्यहाँबाट फर्कन नदिनका लागि निकै अवसर दिइयो । मैले त्यसवेला रेडियोबाट ५ हजार डलर तलब पाउँथेँ । त्यो भनेको नेपालको त्यसवेलाको २० हजार रुपैयाँ थियो । तर, त्यो जागिर छाडेर नेपाल आएर महिनाको ४ सय ५० रुपैयाँमा काम गर्न थालेँ ।

स्त्री तथा प्रसूतिरोगसम्बन्धी विशेषज्ञता हासिल गरेँ
यसरी ०२९ देखि ०३६ सम्म नेपालमा जागिर खाएँ । त्यसपछि फेरि ०३६ मा स्त्री तथा प्रसूतिरोगसम्बन्धी विशेषज्ञता हासिल गर्न ढाका गएँ । ०३९ मा स्त्री तथा प्रसूतिरोग विशेषज्ञता हासिल गरेर नेपाल फर्किएँ । त्यसपछि शिक्षण अस्पतालमा जागिर सुरु गरेँ । (गज्ज़ब)

प्रतिक्रिया दिनुहोस्