एमालेमा विद्यालाई राष्ट्रपति नभए पार्टी अध्यक्ष बनाउने लबिङ शुरु



०६ फागुन २०७४ , काठमाडौँ

राष्ट्रपतिको चुनाव निकट हुन लागेको बेला वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउन एमालेभित्र लबिङ सुरु भएको जानकारी एमाले पोलिटब्युरो सदस्य युवराज कार्कीको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ ।

कार्कीले फेसबुक स्टाट्समा लेखेका छन् , “महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूको एक पटक पूर्ण कार्यकाल दोहोर्याउने चाहना एकदमै जायज छ । सक्रिय राजनीति गर्ने इच्छा र उमेर हुँदाहुदै धेरै नेताहहरूको अनुरोधमा हिजो उहाँले २ वर्षे अन्तरिम कालको लागि सेरेमोनीयल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो । यो दुई वर्षे अन्तरिम कार्यकालमा राष्ट्रको अभिभावकको रुपमा उहाँले राष्ट्रपतिको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक पुरा गर्नु भएको छ । उहाको भद्रता,शालीनता, नम्रता र असल कार्यशैलीको आज उहाँको पूर्व पार्टी भन्दा बाहिरको पंक्ति र अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गर्न थालेको छ । यस्तो स्थितिमा उहाँले एक पूर्ण कार्यकाल आफ्नो जिम्मेवारी दोहोर्याउन चाहनु एकदमै जायज छ । यसबाट अर्को एकजना पूर्व राष्ट्रप्रमुख पाल्ने राज्यको खर्च समेत जोगिने छ । यस कोणबाट हेर्दा पनि यो कुरा ठीक छ । उहाको यो चाहना स्वीकार्य भएन भने सक्रिय राजनीतिमा फर्कने उहाँको इच्छा विल्कुल जायज छ । आउनुहोस् ! जबजको मान्यता अनुसार पार्टी भित्र स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट हामी तपाईलाई पार्टी अध्यक्ष बनाएरै छोड्छौ ।”

एउटा जिम्मेवार नेताको स्टाटसबाट बुझ्न सकिन्छ कि विद्यादेवी भण्डारीलाई सके राष्ट्रपति नभए सक्रिय राजनीतिमा ल्याउने एमाले भित्रकै एउटा पंक्ति सक्रिय देखिन्छ । 

परिवर्तन खबरसँगको फोन सम्पर्कमा पनि एमाले नेता कार्कीले सुझबुझ गरेर नै फेसबुक स्टाटस राखेको बताए । राष्ट्रपति हुनु अघि नै उहाँलाई ओली पछि पार्टी अध्यक्ष बनाउने हाम्रो सल्लाह थियो, साथीहरुकै अनुरोधमा उहाँले त्यतिबेला पनि राष्ट्रपतिको जिम्मेवारी स्वीकार गर्नु भएको हो । अब पुरा कार्यकाल राष्ट्रपति हुन नपाउने हो भने उहाँले राजकीय सेवा, सुविधा त्यागेर सक्रिय राजनीतिमा आउनुपर्छ, आउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्