४१ औं प्रधानमन्त्री केपी ओलीका ऐतिहासिक तस्विरहरु



एमाले अध्यक्ष केपी शर्मा ओली आज नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा जन्मिएका ओली आज नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो कार्यकाल वाम गठबन्धनमा भएको समझदारी अनुरुप तीन बर्ष रहने छ ।

ओलीको जीवनीका बारेमा चर्चा गर्दा उनको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।

झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उनले आमा गुमाउनुपयो । उनी सानो छँदा कन्काईमा आएको बाढीले घर जग्गा सबै बगायो । त्यसपछि उनको परिवार सुकुम्बासी भयो ।

सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण उनको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । हजुरबा र हजुरआमाले ओलीलाई हुर्काए, पढाए । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उनको भेट भयो । चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो ।

विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे । अरुको खुलेर आलोचना पनि गर्थे । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सकेनन् । २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही वर्षदेखि भूमिगत भएका थिए ।

पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ पारे । १४ वर्षसम्म निरन्तर जेलमा रहे । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख पनि भए । २०४८ सालदेखि उनले निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा काम गर्दै आए । २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए ।

पराजित भएपनि राष्ट्रिय राजनीतिमा उनले महत्वपूर्ण भूमिका खेल्दै आए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी भएपछि त ओली पार्टीको आन्तरिक पदमा हरेकपटक सफल हुँदै आए । संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका ओली यसपटक वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक पार्टी प्रमुख बनेका थिए ।

ओलीले यसअघि प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री चलाइसकेका छन् । मीठो उखानटुक्का प्रयोग गरेर व्यंग्य वाण हान्न खप्पिस ओली हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा भारी मतका साथ विजय हासिल गरेका थिए ।

ओलीको काँधमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धीको बाटोमा लैजाने जिम्मेवारी छ भने संघीयतालाई संस्थागत गर्नु पनि उनको जिम्मेवारीमा पर्ने जानकारहरु बताउछन् ।

साभार: घटना र विचार (तस्विर: जनता टाइम्स)

प्रतिक्रिया दिनुहोस्