सुर्खेतः प्रदेश नम्बर ६ मा आइतवार मन्त्रिपरिषद् विस्तार हुँदैछ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मन्त्रीहरुको शपथ आइतवार नै हुँदैछ ।
गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति भएपछि मन्त्रीहरुको पनि टुंगो लागेको हो । यसअघि मुख्यमन्त्री पाएको माओवादीले आफ्नो भागमा परेका दुई मन्त्रीको टुंगो लगाएको छ । यस्तै एमालेले पनि लामो कसरतपछि मन्त्रीहरुको टुंगो लगाएको हो ।
माओवादीका नरेश भण्डारी र विमला केसी मन्त्री बन्दैछन् । जुम्लाबाट निर्वाचित प्रदेश सभाका सांसद भण्डारीले आर्थिक मामिला तथा योजना मन्त्रालय र रुकुमबाट विजयी सांसद केसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने छन् । भनि अन्नपुर्ण पोस्टमा खबर छ ।
यस्तै नेकपा एमाले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । एमालेले आफ्नो भागमा परेका चार ओटा मन्त्रालयका लागि मन्त्रीहरुको छनौट गरेको हो ।
जस अन्तर्गत सल्यानबाट विजयी सांसद ज्वालाले गृह अर्थात आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हुम्लाका दलबहादुर रावलले सामाजिक विकास मन्त्रालय, सुर्खेतका खड्कबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने छन् । आज नै मन्त्रीहरुको शपथ कार्यक्रम तय भएको छ ।