राजेन्द्र महतोले नरमायालाई सांसद बनाएपछि राजपामा खैलाबैला



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाएपछि उनको चर्चाले सामाजिक सञ्जाल भरिएको छ ।

ढकाललाई सांसद बनाएपछि राजपामा पनि खैलाबैला मच्चिएको छ । खसआर्य सूचीबाट नरमाया सांसद बन्न सफल भएकी हुन् । राजपाको नेतृत्वले समेत उनलाई सांसद बनाउन चाहेको थिएन ।

पहिलो पटक खसआर्यको सूचीबाट रेणु शर्माको नाम राजपाले निर्वाचन आयोगमा पठाएको थियो । निर्वाचन आयोगले नाम सच्याएर पठाउन पत्र पठाएपछि नरमायाको नाम पठाउन राजपा बाध्य भएको हो ।

राजेन्द्र महतोले चिन्छन् !
नरमाया सांसद बनेपछि राजपाका नेताहरु नै उनलाई नचिनेको अभिव्यक्ति दिइरहेका छन् । सामान्य कार्यकर्ता मात्रै नभएर अध्यक्षमण्डलका सदस्यहरु नै नरमायालाई नचिनेको बताइरहेका छन् ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मात्रै नरमायालाई चिन्ने गरेको राजपाका एक नेताले बताए । महतोको जोडबलमा नै उनलाई समानुपातिक सूचीमा राखिएको उनले बताए । खसआर्यको सूचीमा एक नम्बरमा नरमायाको नाम भएकाले उनी सांसद बनिन ।

नरमायाले सांसद बन्न २ करोड दिएका कुरा समेत सामाजिक सञ्जालमा आइरहेका छन् । मधेस आन्दोलनमा सहभागी नभएको व्यक्तिलाई पैसा बलमा आरोप लगाएका छ्न ।

राजपा जुनसुकै नेतालाई नरमाया ढकालबारेमा सोध्दा महतो वा अनिल महासेठलाई सोध्नु भन्ने प्रतिक्रिया दिने गरेका छन् । दोस्रो संविधान सभाको निर्वाचनदेखि सदभावना पार्टीमा आवद्धता रहँदै आएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

कहाँकी हुन् नरमाया ?
गैरसरकारी संस्थामा आबद्ध नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको भनाई रहेको छ । ढकालले नागरिकता स्याङ्जाबाट लिएकी हुन् । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ ।

नागरिकता स्याङ्जाको भएका कारण मधेसमा उनको आलोचना भएको हो । उनले विगतमा मधेस आन्दोलनमा कुनै योगदान नदिएका कारण पनि आलोचना भएको हो । सामाजिक सञ्जालमा राखेको फोटोमा उनी कुनै कलाकार वा मोडलिङ क्षेत्रकी कलाकार जस्ती देखिन्छिन् ।

नरमाया पक्षका एक नेताले ६ वटा दल मिलेर बनेको राजपाको ८१५ सदस्यीय केन्द्रीय कमिटीमा सबैको एक अर्काका चिनजान नरहेको बताए ।

‘६ वटा दलका मिलेर राजपा बनेको छ , यहाँ ८१५ जना बीच कहाँ एक अर्कामा चिनजान छ ?’उनले भने । उनले खसआर्यबाट नै सांसद बनाउनु पर्ने संवैधानिक व्यवस्थाका कारण नरमाया सांसद बनेको बताए ।

२ करोड हल्ला मात्रै
नरमायाका आफन्तले उनले पार्टीलाई २ करोड दिन सक्ने हैसियत नभएको बताउँछन् । ‘उहाँ सामान्य परिवारको व्यक्ति हो , उहाँको पैसा दिएर सांसद बन्ने हैसियत नै छैन,’ उनका एक आफन्तले भने । ती आफन्तका अनुसार मधेसमा एकले अर्कोको खुट्टा तान्ने प्रवृतिका कारण ढकालको आलोचना भएको हो ।

तत्कालीन सदभावना एवम् हालको राजपाका महामन्त्री मनिष सुमनले पनि आफुले नरमायालाई नचिनेको बताए । उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘म चिन्दिनँ, मैले तस्बिर समेत देखेको छैन।’ (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्