प्रदेश-२ को व्यथा : मन्त्रालय नहुँदा, भ्रमणमा निस्किए मन्त्री



मन्त्रालयका लागि तोकिएका भवनहरु समयमै तयार नहुदाँ प्रदेश २ का मन्त्रीहरु जिल्ला भ्रमणमा निस्केका छन् । अहिले प्रदेश नम्बर २ मा तीन जना मन्त्री चयन भएका छन् । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको निवास तथा कार्यकक्ष तत्कालका लागि कामचलाउ भएपनि अन्य दुई मन्त्रीको लागि त्यो पनि व्यवस्था छैन ।

मुख्यमन्त्रीसँगै अर्थ तथा योजनामन्त्री विजय यादव र भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्रीको लागि जनकपुर चुरोट कारखनाका गेष्ट हाउसलाई अल्पकालका लागि अवास तथा कार्यकक्षको व्यवस्था गरिएको भएपनि दुई मन्त्रीका लागि कार्यालय सञ्चालन र अवासको व्यवस्था छैन । उनीहरु शुक्रवार नै गृह जिल्ला भ्रमणमा निस्केका छन् ।

अर्थमन्त्री सिरहा र भौतिक पुर्वधार मन्त्री बारा जिल्लाको भ्रणमा निस्केका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र समाजिक मन्त्रालय एउटै भवनमा व्यवस्थापन गरिएको छ । यस अघि सो भवनमा जनकपुर चुरोट कारखनाकै अधिकृतहरुको क्वाटरमा रहेको थियो । ‘मन्त्रालयहरु तयार नहुदाँ मन्त्रीज्युहरु अहिले जिल्ला भ्रमणमा जानुभएको छ,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले भने,‘४–५ दिनपछि आउनुहुन्छ, तबसम्म भवन तयार भइहाल्छ ।’

सचिवको क्वाटरमा मुख्यमन्त्री सचिवालय
समान्यतः मुख्यमन्त्रीको कार्यालयसँगै सचिवालय रहनुपर्ने हो । मुख्यमन्त्रीको कार्यालयस्थित दुई तलाको पाँच कोठे भवनमा ठाँउको अभाव रहेकोले प्रदेशका प्रमुख सचिवको कार्यालय सहरी विकास तथा भवन डिभिजन कार्यालयको तालिम कक्षमा राखिएको छ ।

उनले दैनन्दिन क्रियाकलाप जनकपुर चुरोट कारखना भित्र रहेको सचिव हरि फुँयालको क्वाटरमा बसेर गर्दै आएका छन् । उनको क्वाटरमा कानुन सचिव पनि बस्ने गरेका छन् ।

वजेटको अभावमा काममा ढिलाई
मुख्यमन्त्री, मन्त्रालयहरु, प्रदेश प्रमुख तथा प्रदेश सभा लगायतका कार्यालयहरुको व्यवस्थापनको जिम्मेवारी सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले पाएको छ । त्यसका लागि सरकारले डिभिजन कार्यालयलाई पहिलो चरणका साँढे ७ करोड रकम वजेट उपलब्ध गराएको थियो । उक्त वजेट मन्त्रालयहरुको व्यवस्थापन नहँुदै सकिएको डिभिजन प्रमुख गंगाप्रसाद यादवले बताए ।

‘सरकारसँग कार्यापालिका र व्यवस्थापिकाको भवन निर्माणका लागि ५५ करोड रुपैयाँ मागेका थियाैँ,’ उनले भने,‘सरकारले पहिलो चरणमा साँढे ७ करोड रुपैयाँ मात्र विनियोजन ग¥यो । काम नहुँदै वजेट सकिएकोले थप साँढे ७ करोड रुपैयाँ माग गरेका छौँ ।’ अहिले धनुषाका प्रमुख जिल्ला अधिकारी दीपिल चापागाईंको रोहबरमा केटेशनमै डिभिजन कार्यालयले समाग्री खरिददेखि रंगरोगको काम ठेकेदारहरुमार्फत गराउँदै आएको छ । उनले मर्मत सम्भारका कार्य सक्न करिब महिना दिन अझै लाग्ने बताए ।

सुरक्षा व्यवस्था कडा पर्न मुख्यमन्त्रीको निर्देशन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशकाे सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । आइतवार प्रदेशका सुरक्षा निकायका प्रमुखसँग मुख्यमन्त्री गद्दीले यस्तो निर्देशन दिएका हुन् । उनले संघीय सरकारले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएपनि कानुन बनी नसकेकाले संक्रमणकालिन अवस्थामा सुरक्षा निकाय गम्भिरतापूर्वक लाग्नुपर्ने बताए ।

‘सुरक्षाको हिसावले संवेशदनशिल मानिएको प्रदेश २ का सुरक्षाका चुनौतीहरु के के हुन् ? त्यसलाई समाना गर्न योजना र रणनीतिहरु तयार गर्नुस् ।’ उनले भने,‘यहाँ धेरै खालका अतिवादहरु छन्, खुल्ला सिमना छ, त्यसकारण यि सबखालका चुनौतीहरुलाई सामना गर्न रणनीतिहरु तयार गर्नुस् ।’

उनले प्रदेशभित्र बलात्कारलगायतका घटनामा बृद्धि भएको खबरहरु सञ्चारमाध्यमा आइरहेकाले त्यस्ता घटनामामा संलग्नलाई कडाइका साथ कारबाही गर्नेतर्फसमेत सचेत गराए । सुशासन आफ्नो पहिलो प्राथमिता रहेकोले सुशासनको विषयमा आफूले शुन्य शहनशिलताको नीति लिएको उनले बताए ।

‘जनताको शासक नभई सेवक भएर काम गर्नुस्,’ उनले भने,‘घरेलु हिसां, महिला हिंसा, छुवाछुतको मुद्दा मिलाउनुभन्दा कानुन वमोजिम कारबाही गर्नमा जोड दिनुस् ।’ शान्ति सुरक्षा तथा अपराधका घटनाबारे अनुसन्धान गर्दा अनुसन्धानमुखी बनाउनसमेत निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश मुख्य न्यायाधिवक्तामा झा
प्रदेश २ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता तथा मानव अधिकारकर्मी दीपेन्द्र झा नियुक्त भएका छन् । झा मुख्य न्यायाधिवक्तामा नियुक्त भएपछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतवार नै उनलाई शपथ ग्रहण गराए । अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् । प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्