अस्पताललाई अर्बको सम्पत्ति



शाह दम्पतीले काठमाडौं कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी जग्गा आँखा अस्पताललाई दान गरेको छ

नेपालगन्ज — आत्मसन्तुष्टिका लागि केसम्म गर्दैनन् मानिसहरू ? कोही मठमन्दिर पुग्छन् त कोही ध्यानकेन्द्र धाउँछन् । कोहीचाहिँ बिलासी गाडी किन्छन्, भव्य महल बनाउँछन् । नेपालगन्जको एक वृद्ध दम्पतीले भने भएजति जायजेथा अस्पताललाई दान गरेको छ ।

उनीहरूले दान गरेको सम्पत्तिको मूल्य चलनचल्तीमा एक अर्ब रुपैयाँभन्दा बढीको छ । नेपालगन्जका ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी तीन आना जग्गा नेपालगन्ज फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई दिएका हुन् ।

शाह ३० वर्षदेखि आँखा अस्पतालका संरक्षक छन् । उनले पत्नीको सहमतिमै मरणोपरान्त अस्पतालका नाममा जाने गरी जग्गा दान गरेको बताए । शाहका बुवाआमा उक्त अस्पतालका संस्थापक हुन् । उनका पिता फत्तेजंग शाह र आम बालदिव्येश्वरी शाहले ०४३ मा नेपालगन्ज फुल्टेक्रास्थित घर र एक बिघा जग्गा दान गरेका थिए । उनीहरूकै नाममा आँखा अस्पतालको नामकरण गरिएको हो । हाल अस्पतालले साढे चार बिघा जग्गा जोडिसकेको छ । १० शय्याबाट सुरु भएको अस्पताल डेढ सय शय्यामा विस्तार भइसकेको छ । ‘बुवाआमाले त्यतिबेला स्थापना गर्नुभएको आँखा अस्पताललाई मैले पनि दान गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,’ शाह भन्छन्, ‘जन्मिएपछि अमर हुने खालको काम गर्ने चलन हाम्रो वंशमै छ । त्यसैलाई निरन्तरता दिन घरजग्गा दान गरेको हुँ ।’

तीन दशकदेखि उक्त अस्पतालले आँखाका लाखौं बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यहाँ पश्चिम नेपाल र भारतबाटसमेत आँखाका बिरामी आउँछन् । अस्पतालले वार्षिक १ लाख २० हजारभन्दा बढी बिरामीको आँखा परीक्षण र १२ हजारभन्दा बढीको शल्यक्रिया गर्दै आएको छ । ‘व्यवस्थापन राम्रो छ । सेवा प्रवाहमा पनि गुणस्तर बढाउँदै गएको छ,’ शाहले भने, ‘अस्पताललाई थप आधुनिकीकरण गर्न घरजग्गा दान गरेका हौँ ।’

अस्पतालका प्रबन्धक निर्देशक डा. कौशलकुमार बर्माले शाह दम्पतीले काठमाडौंस्थित घरजग्गा दान गरेको कागजपत्र भइसकेको बताए । उनले दाताहरूको सम्मानमा संयुक्त नामबाट ‘श्रीजंग–रुद्रकुमारी शाह सामुदायिक आँखा उपचार केन्द्र’ नामकरण गरिने बताए । ‘उहाँहरूकै सहयोगले बर्दियाको मगरागाडी र भूरी गाउँमा गरी दुईवटा आँखा उपचार केन्द्र केही महिनाभित्रै स्थापना गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘शाह दम्पतीको सम्मानमा नेपालगन्जमा नागरिक अभिनन्दनको आयोजना गर्दै छौँ । दानबाट पाएको सम्पत्तिको समुचित प्रयोग गर्न अस्पताल प्रतिबद्ध छ ।’ उनले अस्पतालको प्रांगणमा शाह दम्पतीको अर्धकदको सालिक राखिने बताए । प्राप्त घरजग्गाको आयस्ताबाट आँखाका बिरामीहरूलाई घरदैलोमै सेवा दिन दाताहरूको नामबाट श्रीजंग–रुद्रकुमारी शाह बृहत् सामुदायिक आँखा उपचार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्वता जनाए ।

यसअघि घरजग्गा दान गर्ने स्वर्गीय फत्तेजंग शाह र स्वर्गीय बालदिव्येश्वरी शाहको अर्धकदको सालिक अस्पताल परिसरमा राखिएको छ । उनीहरूको दोस्रो छोराका रूपमा श्रीजंग वि.सं. १९८० मा जन्मेका हुन् । उनले कलकत्ता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन् । विश्वका दर्जन बढी मुलुकको भ्रमण गरेका शाह विख्यात त्रिशक्तिपट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट विभूषित भइसकेका छन् । लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकासका लागि नेपाल सरकारबाट निर्देशन भएअनुसार देशव्यापी रूपमा चन्दा संकलन गरी सामाजिक योगदान दिएका शाह ३० वर्षदेखि फत्तेबाल आँखा अस्पतालको संरक्षकका रूपमा रहिआएका छन् ।

पशुपति क्षेत्र विकास कोषको उपाध्यक्षसमेत भइसकेका शाह विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषको सम्मेलनमा नेपालका तर्फबाट अल्टरनेट गभर्नरका रूपमा सहभागी हुनुका साथै त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन शाही नेपाल वायु सेवा निगमको निर्देशक पदमा रही सेवा पुर्‍याएका छन् । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति संघको आजीवन सदस्य रहेका शाह लुम्बिनी विकास कोषको सदस्य पदमा पनि क्रियाशील थिए । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्