कुनै बेला नङ र मासुको सम्बन्धमा रहेका दुई गायक यतिबेला एक–अर्काको अनुहारसमेत हेर्न नसक्ने अवस्थामा पुगेका छन् । प्रसंग हो गायकद्वय बाबु बोगटी तथा यश कुमारको । चलचित्रमा समेत सँगै अभिनय गरिसकेका यी दुई गायक कुनै बेला भात समेत एउटै थालमा खान्थे ।
चलचित्र बाटोमुनिको फूलको सफलतासँगै अझ नजिकिएको यो जोडीलाई अधिकांश दर्शक तथा स्रोताले दाजु–भाइ नै मान्छन् । झन्डै उस्तै समयमा सांगीतिक यात्रा प्रारम्भ गरेका यी दुई गायकबीच यतिबेला एउटा गीतका कारण मनमुटावमात्र होइन, निसाफका लागि अदालत नै जानुपर्ने अवस्था सिर्जना भएको छ । करिब १२ वर्षअघि रेकर्ड भएको ‘सिउँदोमा कोरिएको सीमाना’ गीतका कारण उनीहरूबीच विवाद उत्पन्न भएको हो । यश कुमारको शब्द तथा संगीतको उक्त गीत बाबु बोगटीको स्वरमा रेकर्ड भएको थियो ।
औसत स्तरको उक्त गीत अहिले आएर यश कुमारले नयाँ गायक एकदेव लिम्बूलाई गाउन दिए । आफ्नो स्वरमा रेकर्ड भैसकेको गीत कुनै अर्को गायकलाई दिएको विषयमा बाबुले यशसँग चित्त दुखाए । बाबुले आफूले गाएको गीत आफूलाई जानकारी समेत नदिई अरूलाई गाउन दिएकोमा आपत्ति जनाएका छन् ।
यशकुमारले बाबुलाई पारिश्रमिक बिना समझदारीमा एउटा भाइको नाताले गीत दिएको तथा लिम्बूले माग्दा आफूले सोही गीत दिएको स्वीकार गरेका छन् । आर्थिक प्रलोभनमा नपरी तथा बाबुलाई अफ्ट्यारोमा नपार्ने गरी उक्त गीत अर्कैलाई दिनु सामान्य भएको यशकुमार बताउँछन् भने बाबु बोगटी भने यो प्रकरणमा यशकुमार विरुद्ध कपिराइट मुद्दा हाल्ने योजना बनाइरहेको बताउँछन् ।