‘विश्वका लागि खतरा बन्दै इरान’



७ फागुन २०७४
म्युनिख : ‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिख सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्दै आइतबार बताएका छन्।नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले लेखेको छ, ‘हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई पुनर्लेखन गर्न दिनेछैनौं।

विश्वका लागि इरान खतरा भएको छ तर यो मेरो धारणा हो। एकपटक आणविक हतियारबाट सुसज्जित भएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न सकिने छैन र यसले विश्वमा खतरा निम्त्याउने छ।’ पहिलो पटक म्युनिख सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले भने, ‘आवश्यक परेमा इजरायल इरानका मध्यपूर्वका सहयोगीलाई मात्र होइन कि इरानविरुद्ध नै खरो उत्रनेछ।’

इरानसँगको सन् २०१५ को आणविक सम्झौताका कट्टर आलोचक नेतन्याहुले जर्मनीको नाजी समूहसँग भएको असफल प्रयास, जसलाई सन् १९३८ को म्युनिख सम्झौता भनिन्छ, इरानसँगको सम्झौता पनि उस्तै (समानान्तर) भएको आरोप लगाए। उनले भने, ‘इरानसँग भएको आणविक सम्झौताले यस क्षेत्रमा र छिमेकमा पनि खतरनाक इरानी बाघलाई खुला गरिदिएको छ।

इरानले मध्यपूर्वको ठूलो क्षेत्रलाई विनाशको बाटोमा हिँडाइरहेको छ।’ आयातकार गाढा हरियो धातु जसलाई इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानी चालकविहीन युद्धकविमान (ड्रोन) भन्दै यदि इजरायलले उक्त विमानलाई नखसालिदिएको भए के हुने थियो भन्ने प्रश्न गरे।

इजरायलले करिब एक साता पहिले उक्त ड्रोन खसालिदिएको थियो। विमानको ध्वस्त भएको भागको तस्बिर देखाउँदै नेतन्याहुले सम्मेलनमा सहभागी इरानी विदेशमन्त्री मोहम्मद जाविदलाई सोधे, ‘के तपाईं यसलाई चिन्नुहुन्छ ? तपाईँले चिन्नुपर्छ, यो तपाईँकै हो।’ इजरायलले आतंवादको जाल ध्वस्त पार्ने पनि इजरायली प्रधानमन्त्रीले दाबी गरे।

इजरायली वायुसेनाले इजरायली आकाशमा प्रवेश गरेको इरानी ड्रोनलाई आकाशमा नै नष्ट गरिदिएपछि प्रत्युत्तरमा इरानले इजरायली एफ-१६ लाई खसालेको थियो। यसका कारण इजरायल तथा सिरिया तथा इरानबीचको तनाव थप चर्किएको थियो। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्