छोरीको उपचारका लागि आफ्नै दुध बिक्री



चीनकी एक युवतीलाई लिएर विश्वको ध्यानाकर्षण भएको छ । युवतीको कदमले विश्वकै दोस्रो शक्तिशाली देश चीनमा महिलाको अवस्था र स्वास्थ्योपचारको कठिनाइलाई उजागर गरेको छ । अर्धबैंसे ती युवती आफ्नो स्तनको दूध सडकमा बिक्री गरिरहेकी देखिन्छिन् । अस्पतालमा आफ्नी छोरीको उपचार शुल्क जुटाउन उनी सडकमै स्तनको दूध बेच्न बाध्य भएकी हुन् ।

सेन्जेन प्रान्तको बाओआन जिल्लाको पिपुल्स हस्पिटल आइसियूमा रहेकी छोरीको उपचारका लागि उनलाई एक लाख यान (११ हजार दुई सय ५० डलर) आवश्यक छ । मिआओपाई भिडियोमा देखाइएको दृश्यअनुसार उनी श्रीमान्सँगै सडकमा दूध बेच्न व्यस्त देखिन्छिन् ।

दुई जुम्ल्याहा छोरीमध्ये एउटी छोरीलाई काखमा च्यापेर सडकमा बसेको कारुणिक दृश्यले युवतीबारे खिचिएको भिडियोले सर्वसाधारणको सहानुभूति बढेको छ । ग्वाङडोङ प्रान्तको सेन्जेनको ऐतिहासिक चिल्ड्रेन पार्कमा सो भिडियो खिचिएको हो । चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएपछि सो भिडियोलाई २४ लाखपटक हेरिएको छ । भिडियोलाई पाँच हजारले कमेन्ट गरेका छन् भने हजारौँपटक सेयर गरिएको छ ।

उनका पतिका अनुसार छोरीको उपचारका लागि अस्पताललाई हजारौँ यान आवश्यक छ । उपचार खर्चबापत कम्तीमा पनि एक लाख यानको जोहो गर्न अस्पतालले उनीहरूलाई सुझाब दिएको छ । जटिल रोगका बिरामीलाई अस्पताल भर्ना गर्न मोटो रकम बुझाउनु पर्ने र चिनियाँ अस्पताल आमचिनियाँको पहुँचबाहिर रहेको गुनासो बढिरहेका वेला पीडित दम्पतीको कदमले सार्वजनिक स्वास्थ्यसेवाप्रति सर्वसाधारणको आक्रोश बढेको छ ।

भिडियो हेरेपछि सर्वसाधारणले महिलाप्रति सहानुभूति प्रकट गरेका छन् । महिलाले केही मिलिलिटर दूध बोतलमा समेत राखेकी छिन् । उनीसँगै रहेको एउटा बोर्डमा लेखिएको ‘दूध किन्नुहोस्, छोरी बचाउनुहोस्’ भन्ने वाक्यांशले धेरैको मन छोएको छ । सो वाक्यांशलाई विबो प्रयोगकर्ताले हजारौँपटक सेयर गरिरहेका छन् । उनीहरूले छोरीको ज्यान बचाउन पार्कमा हिँडडुल गर्ने मानिसलाई सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । सडकमा अभिभावक देखेमा उनीहरूलाई आर्थिक सहयोग जुटाउने केही व्यक्तिहरूले प्रतिबद्धता जनाएका छन् ।

एउटा कमेन्टमा भनिएको छ, ‘समाजको तल्लो वर्गको मानिस गम्भीर बिरामी भएमा उनीहरू आधारभूत अधिकारबाट वञ्चित हुन्छन् ।’ यस कमेन्टलाई तीन हजारभन्दा बढीले लाइक गरेका छन् । अन्य हजारौँले सेयर गरेका छन् । तर, केही मानिसले ती महिलाको अनौठो कदमको आलोचना गरेका छन् ।

उनीहरूको विचारमा युवतीले ‘अश्लील ढंगले सहयोगको याचना गरिरहेकी छिन् ।’ सो भिडियो हेरेपछि विबोका अर्का प्रयोगकर्ता लेख्छन्, ‘तपाईं सहाराहीन हुनुहुन्छ र सहयोगको अपेक्षा गर्नुहुन्छ भन्ने प्रत्येकले बुझेका छन् । तर, स्तनको दूध बेचेर तपार्इंले कसरी आत्मसम्मान प्राप्त गर्नुहुन्छ ?’

तर, एक नकारात्मक कमेन्टप्रति भन्छन्, ‘यदि ती महिलाले जस्तो नियति तपाईंहरूले भोग्ने हो भने त्यस्तो साहस जुटाउन सक्नुहुन्छ ? असहाय अभिभावकलाई माया गर्नु सबैको कर्तव्य हो ।’

केही दिनयता पार्कमा याचन गरेर दूध बेच्न थालेपछि उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । उनीबारे विभिन्न सञ्चारमाध्यमहरूमा तस्बिर सार्वजनिक भएका छिन् । जहाँ उनी सर्वसाधारण हिँडडुल गर्ने बाटोमा घुँडा टेकेर स्तनपान गराइरहेकी देखिन्छिन् । उनीसँगै रहेका श्रीमान् एउटा बोर्ड बोकेको देखिन्छन् । एक मिनेटमा निस्कने दूधका लागि १० युयान लाग्ने बोर्डमा लेखिएको छ ।

साइनबोर्डले दम्पतीको अवस्थाबारे पनि वर्णन गरेको देखिन्छ, ‘म २४ वर्षीया स्वस्थ युवती हुँ । हालसालै मैले एक जोडी जुम्ल्याहा छोरीहरूलाई जन्म दिएकी छु । गम्भीर बिरामी परेकी मेरी छोरीको उपचारखर्चका लागि मलाई तत्कालै केही रकमको आवश्यक छ ।’ उनको याचना देखेर सहयोगको ओइरो लागेको छ । पार्कवरपर हिँड्ने सर्वसाधारणले उनीहरूलाई सक्दो सहयोग गरेका छन् ।

पोस्टरको तलपट्टि बिरामी छोरीको तस्बिर, मेडिकल विवरण र सरकारले प्रदान गरेको गरिबसम्बन्धी प्रमाणपत्रको तस्बिर देखाइएको छ । साउर्दन मेट्रोपोलिस डेलीका एक पत्रकारका अनुसार दूध बेच्न बसेकी महिला गुवाङजी प्रान्तकी २४ वर्षीया ट्याङ हुन् । उनका ३१ वर्षीय पति विगत १६ वर्षदेखि सेनझेनमा आप्रवासी कामदारको रूपमा कार्यरत छन् । यो जोडीले गत महिना जुम्ल्याहा छोरीको जन्म दिएको थियो, तीमध्ये एकजना गम्भीर बिरामी परेकी थिइन् ।

गत साता अस्पतालले युवतीकी छोरीबारे केही विवरण सार्वजनिक गरेको थियो । जसअनुसार ट्याङ ३६ सातामा सुत्केरी भएकी थिइन् । बिरामी बालिकालाई मेनेन्जाइटिस भएको विवरणमा उल्लेख छ । उपचारखर्चकै अभावमा बालिकाको उपचारमा कुनै ढिलाइ नभएको र अभिभावकलाई पैसा जुटाउँदै गर्न सल्लाह दिएको अस्पतालले जनाएको छ । (गज्ज़ब)

प्रतिक्रिया दिनुहोस्