काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका युवा नेताहरूले पदाधिकारी थप्ने गरी हुने विधान संशोधन नमान्ने घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवाले अब हुने पार्टी महासमिति बैठकमा विधान संशोधनलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेका बेला पौडेल पक्षीय नेताहरूले पदाधिकारी थप्न नहुने अडान राख्ने भएका हुन् । पौडेल पक्षीय युवा नेताको अगुवाइमा सोमबार राजधानीमा भएको छलफलमा अधिकांशले संघीय संरचनाअनुरूप पार्टी विधानलाई रूपान्तरण गर्नेबाहेक पदाधिकारी थप्ने विषय अमान्य हुने बताए ।
बैठकमा संस्थापन पक्ष तथा पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षीय युवा नेताहरूको पनि उपस्थिति थियो । पौडेल पक्षीय नेताहरूले आगामी केन्द्रीय कार्यसमिति र महासमिति बैठकमा पार्टी संगठन, विचार र नेतृत्वको विषयमा लैजाने एजेन्डाका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरेका थिए । निर्वाचनमा पार्टी पराजयपछि पौडेल पक्षीय नेताहरूले यस्तो छलफल पटकपटक गर्दै आएका छन् ।
‘पार्टीलाई गतिशील बनाई वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने कसरी बनाउने र कस्तो नेतृत्वले प्रतिस्पर्धात्मक रूपमा पार्टीलाई अघि बढाउन सक्छ भन्ने विषयमा हामीले छलफल चलाएका हौं,’ पौडेल पक्षीय केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘यो दिशामा पार्टीका सबै युवाहरू एक ठाउँमा आउनुपर्छ भन्ने मान्यता हाम्रो छ ।’ सोमबारको छलफलमा पार्टीका युवा नेताहरूका अतिरिक्त प्राध्यापक, बुद्धिजीवी, पत्रकार, वकिलहरूको समेत सहभागिता थियो ।
छलफलमा जोशीले पार्टी सदृढीकरण गर्नेबारे कार्यपत्र नै प्रस्तुत गरेका थिए । ‘पदाधिकारी थप्ने कुरामा मात्रै विधान संशोधन नहोस्, संविधानअनुसार पार्टी संरचना रूपान्तरण गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म छाया सरकार बनाएर जनताका मुद्दा निरन्तर उठाइराख्नुपर्ने धारणा नै छलफलमा आएको छ,’ उनले भने, ‘यिनै छलफलका आधारमा पार्टी हितका लागि केन्द्रीय कार्यसमिति र महासमिति बैठकमा प्रस्ताव लैजानेछौं ।’ उनीहरूले युवापंक्तिलाई आकर्षण गर्ने कार्यक्रम पार्टीले बनाउनुपर्ने र पार्टीका केन्द्रीय तहमा रहेका युवा नेतालाई विशेष जिम्मेवारी दिइनुपर्ने माग पनि उठाएका छन् ।