चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र प्रचण्डबीच भेटवार्ता



८ फागुन २०७४

काठमाण्डौ, चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सम्पन्न भएको छ ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भएका भेटका क्रममा दुवै नेताबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो ।

येझाऊले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा चासो देखाएका छन् ।

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताए । अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए । चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उनले बताए ।

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेख्नुभएको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्