दाहालले भने– ‘पाँचै वर्ष ओली’



चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री रहने संकेत गरेका छन् । माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण गर्ने सहमति गरेको भोलिपल्ट मंगलबार बिहान गृहजिल्ला आएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग भने, ‘आलोपालो विषयमा महाधिवेशनले निर्णय गर्ला । अहिलेलाई ओलीजी पाँच वर्षकै प्रधानमन्त्री हो ।’

पार्टी एकीकरणपछि महाधिवेशन नहुँदासम्म आफू र ओली अध्यक्ष रहने र एकीकृत पार्टी बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको तर प्रधानमन्त्रीको विषय महाधिवेशनले नै टुंग्याउने दाहालले बताए । एकीकरणपछि महाधिवेशन चाँडै नै हुने उनले जनाए। ‘मोटामोटी डेढ/दुई वर्षभित्र महाधिवेशन भएरै छाड्छ । अधिवेशनमा प्रधानमन्त्री के कसरी हुने भन्नेविषयमा निर्णय हुन्छ,’ उनले भने ।

दुई दलबीच एकताको सहमतिसँगै एकताका विषयमा दुई कार्यदल बनेको दाहालले बताए । ती कार्यदलले साताभित्र सुझाव दिने र त्यसपछि संयुक्त बैठक राखी पुराना केन्द्रीय समिति भंग गरेर नयाँ समिति बनाउने उनले जनाए। ‘त्यसैलाई निर्वाचन आयोगमा दर्ता गर्नेछौं,’ दाहालले भने।कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहे पनि अब आफूलाई नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भने पनि अन्यथा नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्