मातृभाषा संरक्षण र शिक्षा



डा. दुबीनन्द ढकाल

आज २१ फेब्रुअरीलाई मातृभाषा दिवसका रूपमा मनाइन्छ। संसारभरि शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष २१ फेब्रुअरीमा मातृभाषा दिवस सन् २००० देखि निरन्तर रूपमा मनाइँदै आएको छ। सन् १९५२ बंगलादेशमामा बंगाली भाषा आन्दोलनमा भएको सहादतको स्मरण र सम्मान गर्दै यो दिवस मनाउने गरिएको छ। युनेस्कोको साधारणसभाले सन् १९९९ को नोभेम्बरमा मातृभाषा दिवस मनाउने घोषणा गर्‍यो।

त्यसैगरी मे २००९ मा संयुक्त राष्ट्रसंघले संसारभरिका मानिसले बोल्ने भाषाहरूको संरक्षण र सुरक्षा गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई अनुरोध गर्दै विशेष प्रस्ताव पारित गर्‍यो। राष्ट्रसंघको यस विशेष प्रस्तावमा त्यस वर्षको मातृभाषा दिवसको नारा विविधताबीचको एकताबाट बहुभाषिकता, बहुसांस्कृतिकता र अन्तर्राष्ट्रिय समझदारी वृद्धि गर्नु रहेको थियो।

नेपालका सन्दर्भमा मातृभाषा

विगतको जनगणनामा नेपालमा मातृभाषाको सूचीकरण गर्दा सहभागीले आफ्नो मातृभाषाका बारेमा आफैं उत्तर दिएको तथ्यांकलाई आधार मानेर नेपालमा बोलिने भाषाहरूको सूचीकरण गरिएको देखिन्छ। भाषा सूचीकरणमा धेरैजसो वक्ताले आफूले आमाको काखमा सिकेको भाषालाई मातृभाषा भन्छन्। कसैले चाहिँ आफ्नो पुख्र्यौली अर्थात् बाउबाजेको भाषालाई मातृभाषा भन्ने उत्तर दिएका हुन सक्छन्।

नेपालका विकट गाउँहरूमा केही भाषाहरू आजसम्म उचित किसिमले सूचीकरण नभएको स्थिति अहिले पनि कायमै छ। नेपालमा केकेति मातृभाषाहरू छन्, तिनीहरूको उचित किसिमले सूचीकरण गर्नुपर्ने र मातृभाषाहरूको पहिचान गर्नुपर्ने आवश्यकता अझै पनि छँदैछ। भाषालाई पहिचानसँग पनि जोडिन्छ। त्यसकारण आफ्ना पुर्खाको भाषालाई समेत मातृभाषा भनेको समेत पाइन्छ। सरकारी जनगणनालाई आधार मान्दा नेपालमा १२३ भन्दा बढी मातृभाषाहरू बोलिन्छन्। तथापि भाषा सूचीकरणमा केही विवेचना हुन भने जरुरी छ।

मातृभाषामा शिक्षा

बालबालिकालाई उनीहरूले बुझ्ने भाषामा पढाउँदा सजिलैसँग सिक्न सक्ने विभिन्न अध्ययनले देखाएका छन्। युनेस्कोले १९५३ मा बालबालिकालाई सिकाउने उत्तम उपाय उनीहरूको मातृभाषामा पढाउनु हो भनेको छ। बालबालिकाको संज्ञानात्मक विकासका लागि पनि उनीहरूलाई अन्य भाषामा भन्दा मातृभाषामा पढाउनु उपयुक्त हुन्छ। मातृभाषामा शिक्षा दिँदा बालबालिकाले राम्रोसँग सोच्न सक्ने क्षमतामा वृद्धि गर्न सक्छ। नेपालमा भएका विभिन्न अध्ययनले पनि मातृभाषामा पठनपाठन गर्दा बालबालिका सजिलै सिक्न सक्ने कुरा औंल्याएका छन्। घर र विद्यालयमा पढाइ हुने भाषामा भिन्नता हुँदा बालबालिकाले हासिल गर्ने नतिजा अपेक्षित हुन सक्दैन। मातृभाषाकै कारणले विद्यार्थीले विद्यालय छोड्ने र एक्लिने समेत समस्या झेल्नुपर्छ। मातृभाषामा शिक्षा दिँदा बालबालिकाले राम्रो नतिजा हासिल गर्न सक्छन्।

मातृभाषा अर्थात् पहिलो भाषामा प्रारम्भिक भाषिक दक्षता हासिल गरेर मात्र उनीहरूले पढ्ने, लेख्ने तथा गणितका आधारभूत ज्ञान हासिल गर्न र ती ज्ञानमा दक्ष बन्न सक्छन्। मातृभाषामा शिक्षा प्रदान गर्न सक्दा स्थानीय, अल्पसंख्यक तथा आदिवासी तथा जनजातिका भाषाहरूले मान्यता पाउँछन्। संस्कृति र पारम्परिक ज्ञान स्थानान्तरण गर्ने अवसर पनि मिल्छ।

मातृभाषामा शिक्षण गर्दा एकातिर विद्यार्थीहरूको शैक्षिक उपलब्धि राम्रो हुन्छ भने अर्कोतिर यसले मातृभाषा संरक्षणको आधारसमेत तयार पार्छ। यसकारण मातृभाषामा शिक्षा दिने पद्धति र मागप्रति सकारात्मक सोच राख्नुपर्छ। यसले भाषा संरक्षणमा समेत टेवा पुर्‍याउँछ। व्यापक अर्थमा मूर्त र अमूर्त सम्पदाहरू संरक्षण र विकास गर्ने उद्देश्यका लागि भाषाहरू अत्यन्तै शक्तिशाली साधक हुन सक्छन्। यसकारण मातृभाषाको प्रवर्धन गर्न गरिने सबै प्रयत्नले भाषिक र बहुभाषिक शिक्षालाई सेवा र बढावा मात्र दिँदैनन्, संसारभरि भाषिक र सांस्कृतिक परम्पराका बारेमा सचेतना वृद्धि गर्नेसमेत काम गर्दछन्।

अभिलेखीकरणका प्रयास

नेपालमा बोलिने अल्पसंख्यक भाषाहरूको संरक्षण र संवद्र्धन गर्न तत्कालका लागि यी भाषाहरूको अभिलेखीकरण गरिनुपर्दछ। यी भाषाका व्याकरण लेखन, शब्दकोशको निर्माता, पाठहरूको संकलन र प्रकाशनमा जोड दिनुपर्दछ। नेपालका भाषाहरूका बारेमा विभिन्न स्वदेशी तथा विदेशी अनुसन्धाता तथा संस्थाबाट अध्ययन–अनुसन्धान भएका छन्। यस प्रकारका काम नयाँ भने होइनन्। सन् १९७० मा दशकतिर केही भाषाका शब्दसंग्रहको निर्माण र वाक्य तथा संकथनको विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा केही वर्षअगाडि जनजाति आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा करिब २५ भाषाका शब्दसंग्रह, केही भाषाको पाठसंग्रह र व्याकरणका रूपरेखा तयार भएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले पनि केही भाषामा अध्ययन–अनुसन्धान गराउँदै त्यसको प्रकाशनसमेत गर्दै आएको छ। त्यसका अतिरिक्त आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले समेत यसतर्फ सक्रियता देखाएर केही भाषाका व्याकरण र शब्दकोश निर्माणको पहल गरिरहेको छ। देश तथा विदेशमा रहेका अनुसन्धातासमेत यसमा लागिरहेका छन्। त्यसकारण नेपालका केकति भाषामा कुनकुन तहका शब्दकोश, व्याकरण र अन्य सन्दर्भग्रन्थ छन् थाहा हुनुपर्छ। त्यसको पहिचान र वर्गीकरण गरेर बाँकी भाषाका बाँकी काम आवश्यकताअनुसार गर्नुगराउनुमा सरोकारवालाहरूको ध्यान जान जरुरी छ।

डिजिटल अर्काइभ

नेपालका बोलिने विभिन्न मातृभाषाका लागि डिजिटल तथ्यांक जोगाइराख्न संकलित पाठ अभिलेख (आर्काइभ) मा राख्ने गरिन्छ। नेपालभित्र डिजिटल अभिलेख राख्ने परम्परा भएका केन्द्र छैनन्। मदन पुरस्कार पुस्तकालयले राउटे भाषाका केही पाठहरूको अभिलेख राखेको छ। नेपालमा बोलिने भाषाका तथ्यांकहरू विदेशका केही स्थानमा अभिलेख राखिएको छ। युनिभर्सिटी अफ लन्डनको लोपोन्मुख भाषाहरूको अभिलेखमा नेपालका थुप्रै भाषाका तथ्यांक संग्रहित छन्। बराम, काइके, नार–फु, सुरेल, ग्यालसुम्दो, कोइ राई, पुमा, तामाङ, कागते, मगर, सुनवार, र याख्खा भाषाका पाठहरू यहाँ अभिलेखमा संग्रहित छन्। यसअन्तर्गत बराम भाषाको बत्तीस घन्टाको पाठसंग्रह अभिलेखमा संग्रहित गरिएको छ।

यसैगरी डोबेसमा पुमा र छिन्ताङ भाषाको तथ्यांक संग्रहित छन्। केही भोट–बर्मेली भाषाहरूको अभिलेख फरकफरक ठाउँमा संकलन गरिएका छन्। मनाङ जिल्लामा बोलिने (मनाङ) गुरुङ, ग्याल्सुम्दो, मनाङे र नार–फु भाषाको तथ्यांकलाई शान्ति (साइन्सेज, ह्युमानिटिज, आट्र्स र टेक्नोलोजिकल इनिसिएभिट) मा संग्रहित छन्। उत्तरी गोरखा, उपल्लो मनाङ र उपल्लो मुस्ताङमा बोलिने भाषाहरू जस्तै– कुके (कुताङ घले) नुब्री, चुम, ग्यालसुम्दो, मनाङे, गुरुङ र मुस्ताङमा बोलिने लोबा भाषाका भूकम्पसँग सम्बन्धित पाठहरू संग्रहित छन्। त्यसकारण प्रविधिको विकाससँगै भाषा अभिलेखीकरणका नयाँनयाँ तरिकाको समेत अवलम्बन गर्नुपर्ने आवश्यकता छ।

एकीकृत प्रयासको खाँचो

भाषा नीति, मातृभाषामा शिक्षा, भाषा संरक्षण र भाषाका अध्ययन–अनुसन्धानलाई समन्वयात्मक र एकीकृत किसिमले अध्ययन–अनुसन्धान गर्नुपर्ने देखिन्छ। मातृभाषामा साहित्य अथवा यसका व्याकरण, शब्दकोश निर्माण र पाठसंग्रह र तथ्यांकका संग्रह विकास गर्दा ती काम नदोहोरिने किसिमले अगाडि बढाउनुपर्ने देखिन्छ। एउटै काम विभिन्न संस्थाबाट गराउँदा, विगतमा भएका कामको स्थिति मूल्यांकन नगरीकन अनुसन्धानको काम दिँदा, आआफ्ना विषय क्षेत्रलाई मात्रै जोड दिने तर भाषाका अन्य महत्वपूर्ण काममा ध्यान नपुग्दा नेपालका मातृभाषा संरक्षण, अभिलेखीकरण र यसैसँग सम्बान्धित प्रयास प्रभावकारी हुँदैनन्।

एउटा संस्थाले गरेका कामप्रति अरू संस्था बेखबर रहने, एउटा प्रदेशले गरेका प्रयासमा अन्य प्रदेशले ध्यान नदिने र प्रदेशमा गरिएका काममा केन्द्रको चासो नरहने प्रवृत्ति कायम रहिरहनु हुँदैन। सरकारी निकायहरूभित्रै पनि एउटा निकायको प्रयासलाई अन्य निकायले साथ नदिने हो भने मातृभाषाको विकासमा अपेक्षाअनुसारको नतिजा हासिल गर्न गाह्रो पर्छ। थोरै नै भए पनि मातृभाषामा राज्यको लगानीलाई प्रभावकारी बनाउन उल्लिखित विषयमा सरोकारहरूको ध्यान पुग्दा नेपालका मातृभाषाको विकास, अभिलेखीकण, मानकीकरणका प्रयास सफल हुन सक्छ। नेपालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदा सरोकारवालाहरूको ध्यान यी विषयमा पनि पुग्नुपर्छ।

—ढकाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषाविज्ञान विभागका प्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस्