सि.सं.२४ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न



नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.२४ कमाण्ड तथा स्टाफ तालिमको आज मिति २०७४ फागुन ०९ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।

उक्त तालिममा नेपाली सेनाका सेनानी ४४ जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षक २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जनाको सहभागीता रहेको थियो । त्यसैगरी, मित्रराष्ट्र भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मलेशिया, माल्दिभ्स, दक्षिण कोरिया र अमेरिकाबाट १÷१ र चीनबाट २ जना बिदेशी शिक्षार्थीहरु सहित कुल ५८ जना शिक्षार्थी अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दिक्षित हुनु भएको छ । सि.सं. १७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ६३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भईसकेका छन् ।

उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तथा समग्र तालिममा नेपाली सेनाका सेनानी सुमन थापा प्रथम हुनु भएको छ । MSS को अध्ययनमा गरिने सोधपत्र (Thesis Work) अर्थात् Commandant’s Paper तर्फ नेपाली सेनाका सेनानी माधव थापा र बंगलादेशी सेनाका सेनानी Mohammad Harunor-Rashid Khan संयुक्त रुपमा प्रथम हुनु भएको छ ।

उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी श्री क्षत्रीले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनुहुने नेपाली सेनाका सेनानी सुमन थापालाई ‘उत्कृष्ट शिक्षार्थी पुरस्कार’ (Best Student Award) प्रदान गर्नुको साथै दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई ‘psc’ (Passed Staff College) प्रमाण(पत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा उहाँले उक्त कलेजको वार्षिक मुखपत्र ‘दि शिवपुरी’ जर्नलको विमोचनसमेत गर्नुभएको थियो । त्यसैगरी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले MSS Programme तर्फ सर्वप्रथम हुनुहुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । त्यस्तै, उक्त कलेजका शिक्षाध्यक्ष उपरथी श्री प्रल्हाद थापाले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले दीक्षित शिक्षार्थीहरुलाई बधाई दिनुहुँदै यस तालिममा आर्जन गरेको ज्ञान, सिप र अनुभवले भविष्यमा प्राप्त हुने कुनैपनि जिम्मेवारीलाई सफल एवं सहज ढङ्गले निर्वाह गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा पूर्ण विश्वस्त रहेको बताउनु भएको छ । सोही क्रममा उहाँले उक्त तालिमबाट दीक्षित भएका शिक्षार्थीहरुलाई आप्mनो पेशागत दक्षतामा अभिबृद्धि गर्दै भविष्यमा आउनसक्ने जस्तोसुकै सुरक्षा चुनौतिहरुको सामना तथा त्यसको रोकथाम गर्न विश्लेषणात्मक एवम् आलोचनात्मक ढंगबाट निर्वाह गर्न यस तालिमले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएको थियो । सम्बोधनको क्रममा उहांले हाल विश्वमा बढ्दै गइरहेको सूचना प्रविधि र तिव्र गतिको नेटवर्किङ्गले गर्दा यसले विश्वब्यापी रुपमा सुरक्षा चुनौतिका साथसाथै अवसरहरु पनि निम्त्याएको साथै विश्वमा कुनै पनि देशले आप्mनो परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएको हुंदा हालको विद्यमान परिस्थितिमा अपरम्परागत जिम्मेवारीबाट विश्वका कयौं राष्ट्रहरुमा यसबाट बढी सुरक्षाका चुनौतिहरु उत्पन्न भएको कुरा बताउनु भएको थियो ।

त्यसैगरी, वहाँले विभिन्न राष्ट्रका सैनिकहरु समेत सम्मिलित यस तालिमले नेपाली सेना र अन्य विदेशी सैनिकबीच सैद्धान्तिक, व्यवहारिक, सांस्कृतिक एवं विशेष अनुभवहरुको आदान प्रदान हुनगई पारस्परिक सम्बन्ध सुदृढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले तालिम सञ्चालन गर्न सहयोग पुर्याउने सैनिक अधिकृत, गैह्र सैनिक र प्राज्ञिक व्यक्तित्वलगायत त्रिभुवन विश्व विद्यालयले पुर्याएको सहयोग प्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भमा उक्त कलेजका शिक्षाध्यक्षले स्वागत मन्तव्य दिनु भएको थियो ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपालका लागि चीन र दक्षिण कोरियाका महामहिम राजदूतहरु, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पदाधिकारीहरु, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्