प्रदेश २ को प्रदेशसभा सम्पन्न, कांग्रेसले विपक्षमै बसेर सहयोग गर्ने



प्रदेश नम्बर २ को प्रदेशसभा सम्पन्न भएको छ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एमाले, माओवादी केन्द्रसहित ८२ जना सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सभामा राखेको विश्वाशको प्रस्तावमा काङ्ग्रेस बाहेक सबै दलले समर्थन गरेका हुन् । सभामा कूल १०६ सास्सद रहेकोमा एक सय जनाको उपस्थिति रहेको थियो । यसमध्ये कांग्रेसका १८ जना सांसदले विपक्षमा मत जाहेर गरेपनि कांग्रेसले विपक्षमै बसेर सरकारलाई सहयोग गर्ने जनाएकाे छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि आर्थिक तथा सामाजिक विकासका लागि सबैको समर्थन लिएर अधि बढ्ने बताए । साथै उनले प्रदेशको विकासका लागि सडक, सिँचाई, सुशासन, शिक्षा, स्वास्थ्यलगायतका विषयमा सरकारले प्राथकिमकतामा रहेने बताए ।

उनले बन्द रहेका उद्योग, धन्दा संचालनका लागि पहल गर्दै बैदेशिक रोजगारमा गएका युवालाई स्वदेशमै रोजगारको वाताबरण सिर्जना गर्ने बताए । लालबाबु राउत फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ मा प्रदेश मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार राउतले आज विश्वासको मत लिएका हुन् ।

प्रदेश २ मा फोरम २९, राजपा २५, एमाले २१, कांग्रेस १९, माओवादी ११, नेपाल संघीय समाजवादी पार्टी १, स्वतन्त्र १ गरी १०६ सांसद छन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्