मानिस स्वास्थ्यमा सचेत भइरहेका छन् । डाक्टरको संख्या बढेको छ, सुविधासम्पन्न र उच्चप्रविधियुक्त नयाँ अस्पतालको संख्या पनि बढ्दो छ । तर, नयाँ–नयाँ रोग पनि देखिरहेकै छन् । त्यसैले ‘रोगलाई होइन, रोगीलाई उपचार गर्नुपर्छ’ भनेर रिपोर्ट सार्वजनिक भइरहेका छन् । मेडिकल साइन्सले पनि यस विषयमा विशेष अनुसन्धान गरिरहेको छ । त्यो किनभने, एउटै रोग लागेका दुई व्यक्तिको सम्पूर्ण परीक्षण र रिपोर्ट एउटै हुन्छ । तर, एउटै र एकै मात्राको औषधिले उनीहरू निको हुँदैनन् । त्यसैले मानिसले रेचन गर्नु आवश्यक छ । रेचनको अभ्यासबारे एक सामग्री ः
के हो रेचन ?
मनको सफाइ गर्ने विधि या क्रियाकलाप हो रेचन । साइको एनालाइटिक थ्योरीअनुसार रेचनले अवचेतनभित्रको द्वन्द्वलाई भावनात्मक संवेगबाट मुक्त हुन सहयोग गर्छ । सबैले बुझेको के हो भने, अहिलेको युग प्रतिस्पर्धाको हो । स्वाभाविक रूपमा हाम्रो जीवनशैली पनि त्यही प्रकृतिको हुन्छ । कामको दबाब, चिन्ता, व्यस्तता, निराशा आदि । तर, यस्ता क्रियाकलापबाट जम्मा भएका तनाबलाई मुक्त नगर्दा अनेकौँ मानसिक तथा शारीरिक रोगको सिकार हुनुपर्छ ।
रेचनलाई कैथारसिस पनि मनिन्छ, जुन ग्रिकबाट आएको हो । यसको अर्थ शुद्धीकरण वा सफाइ भन्ने हुन्छ । कैथारसिस प्रक्रिया आजका मानिसका लागि आवश्यक छ । यो विधि कुनै सिद्धान्त वा धर्ममा आधारित भने छैन । यो त प्रयोगका लागि बनाइएको प्राकृतिक विधि हो । हाम्रो शरीरमा चेतन वा अचेतन रूपमा कैयौँ संवेदना, भाव दबेका हुन्छन् । त्यस्ता कुरालाई मनबाट निकाल्ने क्रिया नै रेचन अर्थात् कैथारसिस हो । बच्चालाई केही कुरा मन परेन वा उनीहरूको माग पूरा भएन भने तत्कालै रोएर, कराएर चिच्याएर आफ्नो पीडा बाहिर फ्याँकिदिन्छन् । परिणाम केही क्षणमै खुसी भएर बोल्न थाल्दछ । तर, उमेर बढ्दै जाँदा कुनै कुरा मन परेन भने पनि न रुन सक्छौँ, न त कराउन नै । रेचनचाहिँ यसरी गर्न सकिन्छ ।
रेचनको विधि
रेचनका लागि कुनै दिन फुर्सद मिलाएर कोठा बन्द गरी एक्लै बस्न सकिन्छ । त्यसपछि आफूलाई होसपूर्वक नियाल्ने र शरीरमा के भइरहेछ भन्ने कुरा जान्ने प्रयास गर्नुपर्छ ।
रेचन गर्दा प्रत्येक क्रियाकलापलाई स्वीकारको भावले अवलम्बन गर्दै जानुपर्छ ।
यसरी शान्त भएर सबै कुराको मूल्यांकन गर्दै जाँदा शरीर आफैँ चल्न खोज्ने, कम्पन हुन खोज्ने आदि हुन्छ । कसैलाई रुन, चिच्याउन, कराउन पनि मन लाग्छ । यस्तो अवस्थामा आफूलाई जे गर्न मन लाग्छ, त्यो गर्दै जानुपर्छ । कुनै कुरालाई रोक्नुपर्दैन ।
त्यस्ता गतिविधिपछि फेरि शान्तसाथ बस्नुपर्छ । रेचन अत्यन्त सरल र वैज्ञानिक विधि हो । तर, सरल विधिले मानिसको व्यक्तिगत जीवनमा भने ठूलो प्रभाव पार्न जान्छ । प्रत्येक मानिसले महिनाको एकपटक रेचन गर्न जरुरी छ । रेचनको पहिलो प्रयासमै सफलता नमिल्दैमा हतारिनुपर्दैन । रेचनलाई दोहो¥याउँदै लगेमा मानिसको चेतनासम्मलाई रूपान्तरण गर्न सकिन्छ । रेचनपश्चात् मनभित्र दबेका कुण्ठा, भावको बहिर्गमन हुने र अनावश्यक ग्रन्थीहरू पनि विसर्जन हुन्छन् । यसो हुँदा केही पुराना रोग सजिलै निको हुन्छन् । मानसिक समस्याका लागि रेचन अत्यन्त उपयोगी मानिन्छ । अहिले विभिन्न क्लब बनाउने होड चलेको छ । रेचनलाई पनि क्लब बनाएर सामूहिक प्रयोग गर्न सक्यौँ भने यसले स्वास्थ्य सुधारमा क्रान्ति नै ल्याउन सक्छ ।
शरीर र मनको सम्बन्ध
शरीर र मनबीचको सम्बन्ध अत्यन्त निकट छ । मनमा भएको हरकुराको असर तत्काल शरीरमा देखिन्छ । र, शरीरमा भएको कुराको असर पनि मनमा देखा पर्छ । अझ रोचक कुरा के भने, प्रायः रोग शरीरभन्दा पनि मनबाट आएका हुन्छन् । यसैको परिणाम होे, कतिपय रोग औषधि सेवन गर्दा पनि निको हुँदैनन् । हाम्रो मनमा दबेका विचार, आवेगहरूका कारण पनि शरीरमा रोग लाग्छन् । तर, हामीले भने लक्षणको आधारमा उपचार गरिरहेका हुन्छौँ । यथार्थ यो हो कि, जबसम्म रोगको मूल कारणको उपचार हुँदैन, तबसम्म रोग बल्झिरहन्छ ।
रोगको मुख्य कारण त हाम्रै मन हो । मनको बिमारीले शरीरमा रोगका ग्रन्थी पैदा गरिदिन्छ । त्यस्ता अनावश्यक ग्रन्थीले शरीरमा हुने रक्तसञ्चारदेखि अंगहरूले गर्ने काममा पनि बाधा उत्पन्न गर्छ, जसले गर्दा शरीरमा रोग बढ्दै जान्छ । हामी शरीर या मनबाट उब्जेका समस्यालाई छुट्याउन सक्दैनौँ । अहिलेको अवस्थामा अस्पताल पुगेर पनि यदि रोग निको भएन भने मनबाट उत्पन्न भएको समस्या हो भन्ने बुझ्नुपर्ने हुन्छ ।
आदर्श प्रधान,
मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी