सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन



म्याग्दी, ११ फागुन

रघुगंगा गाउँपालिका–३ मा कलेजाबाङ वाखेत सामुदायिक वनले निगालो उद्योग सञ्चालन गरेको छ ।

वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउनका लागि निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो ।

सामुदायिक वनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि निगालोको चोयाबाट डोको बुनाइ थालिएको कलेजाबाङ वाखेत सामुदायिक वनका अध्यक्ष जितबहादुर खत्रीले बताउनुभयो । सामुदायिक वनले सञ्चालन गरेको ‘निगालो उद्यम’मा अहिले ८ देखि १० जनाले दैनिक रुपमा डोको बुन्दै आएका छन् ।

वनमा पर्याप्त मात्रामा पाइने निगालो खेर गइरहेको अवस्थामा सामुदायिक वनले उद्यमकै रुपमा निगालोको चोयाँबाट घरायसी सामग्री निर्माण गर्न थालेको अध्यक्ष खत्रीले बताउनुभयो । “निगालाको चोयाँबाट धेरै सामग्री उत्पादन हुन्छ, हामीले परीक्षणका रुपमा डोकोमात्रै उत्पादन गरिरहेका छौँ, उत्पादित डोकाको बजारीकरणपश्चात् थप सामग्री बनाउने योजना छ,” उहाँले भन्नुभयो ।

उपयोगको अभावमा अहिलेसम्म गाउँघरमा आगो बाल्न प्रयोग हुँदै आएको निगालो अब उद्यममार्फत आयआर्जनको माध्यम बन्ने भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । उक्त निगालो उद्योगमा एक सातामा ८० भन्दा बढी डोको उत्पादन भइसकेको छ । अहिले रु ३०० देखि रु ६०० सम्ममा डोको बिक्री भइरहेको छ ।

निकट भविश्यमा निगालोको चोयाँबाट मान्द्रो, भकारी, थुन्से, सपिङ ब्याग, कुर्ची, ¥याकलगायत सामग्री उत्पादन गर्ने योजना छ । सामुदायिक वन समितिको घुम्ती कोषमा रहेको रु एक लाख ३० हजार रकमलाई परिचालन गरी डोको बुन्नका लागि १० जनालाई मासिक तलब दिएर खटाइएको छ । डोको बुनाइमा आबद्ध उद्यमीलाई डोको बुन्ने सीपको आधारमा प्रतिव्यक्ति रु १६ हजारदेखि रु १८ हजारसम्म तलब दिइएको छ । वनभित्रै अस्थायी रुपमा बसोबास गर्ने पूर्वाधारसहित खान र बस्न सुविधा उपलब्ध छ ।

सिंगो वनमा उत्पादन हुने निगालोबाट वार्षिक रु छ हजारदेखि रु आठ हजारसम्म मात्रै आम्दानी भइरहेको छ । समूहले उद्यम सञ्चालन गरेपछि विगतमा खेर जाने गरेको निगालो उपयोगमा आएको निगालो उद्यमका संयोजक प्रेमबहादुर मल्लले बताउनुभयो । यस याममा रु चार लाखभन्दा बढीको डोका उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ । सामान बुन्न सिक्न चाहनेका लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । कूल ३६५ घरधुरी रहेको सो सामुदायिक वनले उत्पादित डोकोको बजारीकरण सुनिश्चित हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्