काठमाडौं, ११ फागुन
नेपाली सेनाको १३ औँ शृंखलाको जनसम्पर्क तालीममा सहभागी प्रशिक्षार्थीले आज सिंहदरबारस्थित राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयको अवलोकन गरी संस्थाद्वारा प्रवाहित सेवाबारे जानकारी हासिल गरे ।
सरकारी समाचार संस्थाहरुबाट भइरहेको समाचार संकलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिन सैनिक प्रशिक्षार्थी पहिलो पटक रासस आएका हुन् ।
राससमा आज आयोजित कार्यक्रममा अध्यक्ष कुलचन्द्र वाग्लेले गौरवपूर्ण इतिहास बोकेको नेपाली सेना मुलुकको सुरक्षा र विकास कार्यमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुुभयो । उहाँले स्वच्छ, स्वतन्त्र र निष्पक्ष समाचार प्रवाहमा राज्यद्वारा सञ्चालित एक मात्र समाचार एजेन्सी राससले खेल्दैआएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।
महाप्रबन्धक ओपेन्द्र शर्माले राष्ट्रिय सुरक्षाका अतिरिक्त विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा नेपाली सेनाले गरेको कार्यको सबै क्षेत्रबाट तारीफ हुदै आएको बताउनुभयो ।
प्रधान सम्पादक राजु शाक्यले राससले दिँँदै आएको नेपाली, अँग्रेजी र अन्तर्राष्ट्रिय समाचार, तस्वीर र श्रव्य सामग्रीबारे जानकारी दिँदै सेनाबाट समाचार उपलब्ध शीघ्रतालाई ध्यान दिन आग्रह गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय समाचार शाखाका प्रमुख एकराज पाठकले विभिन्न मुलुकमा सञ्चालित समाचार एजेन्सीको परिचय र समाचार प्रवाहमा यसले खेल्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
प्रशिक्षार्थीका तर्फबाट महेन्द्र थापाले समाचार संकलन, छनोट, सम्पादन र प्रसारण सम्बन्धमा राससबाट पर्याप्त जानकारी लिने अवसर मिलेकामा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग रहने आशा प्रकट गर्नुभयो ।
प्रशिक्षार्थी सैनिकले राससबाट प्रदान हुने सेवाको प्रत्येक शाखाको अवलोकन गरी व्यावहारिकरुपमै जानकारी हासिल गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका सहसेनानी सीचन मोक्तानको नेतृत्वमा रहेको उक्त टोलीमा २९ जना प्रशिक्षार्थी सामेल थिए ।