भीमनगर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययन गर्ने प्रमिला थापामगरले प्रश्न गरिन् ‘एसपी सा’ब अपराधी कसरी जन्मन्छ ?’ जवाफमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले भने, ‘अपराधिक मनोवृत्तिबाट अपराध हुन्छ अनि ती व्यक्ति नै पछि अपराधी हुन्छन् ।’
जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार चनौलीमा गरेको नागरिक सुनुवाई कार्यक्रममा विशेषगरी विद्यार्थीहरुले समाजमा फैलदो विकृति, अशान्तिबारे प्रश्न उठाएका थिए । भीमनगर मावि कक्षा ९ मै अध्ययन गर्ने संगीता भट्टराईले छात्रा बलात्कृत हुने जस्तो जघन्य अपराधको शिकार हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिन् ।
एकाबिहानै र बेलुका अबेर स्कुलबाट घर आवतजावत गर्नुपर्ने भन्दै छात्राहरुले अध्यारो समयको मौका छोपी अपराधीले कुदृष्टि लगाउने गरेको र आफूहरु सधै डरैडरमा हिडडुल गर्नुपरेको बताए ।विद्यार्थीले गाउँघरमा जुवातास, जाँडरक्सीको साथै पोर्ट, लुडो खेलले पनी समाजमा विकृति ल्याएकोले प्रहरीले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
नारी जागरण केन्द्र भरतपुर–१८ की रीता थापाले बालिकाहरु विरुद्ध यौजजन्य हिंसा बढेकोले प्रहरीले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताइन् । भरतपुर–२६ का भूपालनाथ कँडेलले पहुचवाला र उच्चस्तरीय व्यक्तिहरुले नै जुवातास खेल्ने गरेको र प्रहरीको कार्यान्वयन पक्ष कमजोर रहेको बताए ।
भरतपुर महानगरपालिका – २० स्थित चनौली बजारमा बिहीबार सम्पन्न सुनुवाइमा स्थानीयले प्रहरीको काम र व्यवहारमा अझ सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले प्रहरीले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
स्थानीय नेपाल रेडक्रस सोसाइटी चनौली बजारका अध्यक्ष लक्ष्मीकान्त दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनले गत ३ महिनामा गरेका कामकारवाही र सेवा प्रवाहका बारेमा जानकारी दिएको थियो ।
कार्यक्रमका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सहभागीबाट आएका उजुरी, गुनासो एवम् जिज्ञासालाई सम्बोधन गरेका थिए ।
एसपी थापाले समाजको दुब्र्यसनी विरुद्ध लड्न प्रहरी जनतासित मिलेर जानुपर्ने बताए । विकास र समृद्धिको लागि सुरक्षा अनिवार्य रहेको बताउँदै एसपी थापाले व्यापारिक र पर्यटकीय हबकोरुपमा विकास हुँदै गइरहेको पश्चिम चितवनको सुरक्षा तथा दुब्र्यसनीमुक्त समाज निमार्ण गर्न नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले इलाका प्रहरी कार्यालय चनौलीको लागि जिल्ला प्रहरी कार्यालयको लागि उपलब्ध गराएको नयाँ गाडीको चाबी इलाका प्रहरी कार्यालय चनौलीका प्रमुख भानुभक्त आचार्यलाई कार्यक्रममा हस्तान्तरण गरेका थिए । (नयाँ पत्रिका)