काठमाडौँ, ११ फागुन
नेपाल ललितकला पत्रकार समाज(सोफाजंले अग्रज कलाकार तथा लेखक गेहेन्द्रमान अमात्यलाई आज ‘सोफाज–नेपाल वरिष्ठ पत्रकारिता सम्मान’ दिएको छ ।
त्यस्तै ‘नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार २०७४’ बाट शिवा तामाङ(गोरखापत्र) र तिमोथी अर्याल(काठमाडौँ पोष्ट)तथा ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार’ धरानका पत्रकार रोहित राई(नागरिक)लाई प्रदान गरिएको छ । ती पुरस्कारका राशि जनही रु ११ हजार १११ छ ।
सो पुरस्कार वितरण गर्दै कलाशिरोमणि कालु कुमालेले नेपालमा कला क्षेत्रको विकास भएमा मात्र देशको पहिचान बचाउन सकिने भएकाले कला क्षेत्रको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो । कलाकार बैकुण्ठमान श्रेष्ठले गोरखापत्र संस्थानमा रहनुभएका कलासमीक्षक सिंहले कलाकारलाई लेखन तथा अन्य माध्यमबाट प्रोत्साहन गरेको बताउँदै कला लेखनको अभिलेख राख्नुपर्ने सुझाव दिनुभयो ।
पुरस्कार छनोट समितिका संयोजक फूलमान बलले कलाक्षेत्रमा लामो समयदेखि योगदान गर्ने व्यक्तिलाई केन्द्रित गरेर आफूहरु(सङ्गीता श्रेष्ठ र विनिता मरहठ्ठासहित)ले पुरस्कारका लागि छनोट गरेको बताउनुभयो समाजका अध्यक्ष केशवराज खनाल, महासचिव देवेन्द्र थुम्केली र सदस्य मरहठ्ठाले कला नै देशको पहिचान भएकाले यसमा लाग्ने कलाकारमा देशभक्तिको भावना हुनुपर्ने औँल्याउँदै कलाकार र कला पत्रकारलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।