भक्तपुर, ११ फागुन
नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ ।
रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।”
अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष/प्रतिपक्ष नभएर वाम गठबन्धन र काँग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने उहाँको भनाइ थियो ।