धनुषा, ११ फागुन
नेपाली सेनाको २ नं प्रदेशका आठ जिल्लाका पूर्वसैनिकको सम्मेलन धनुषामा सम्पन्न गरेको छ ।
सम्मेलनमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक हजार ३५४ पूर्वसैनिकको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वसेना राष्ट्र सेवाका लागि सधैँ प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दै पूर्वसेनालाई अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्न सम्मेलन आयोजना गरिएको हो, कल्याणकारी कोषका माध्यमबाट पूर्वसेनाको हितमा पनि काम गरिनेछ भन्नुभयो ।
इटहरी र पोखरामा सैनिक अस्पताल बनाउन शुरु गरिएको जानकारी दिँदै प्रधानसेनापति क्षत्रीले जनकपुरमा सैनिक अस्पताल विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । कोषमा रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार जम्मा भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मिलेर पूर्वसेनाको अवकाशप्राप्त जीवनमा स्वरोजगारका काम गर्न लघुवित्त शुरु गरिएको बताउनुभयो ।
सो अवसरमा पूर्वउपरथीद्वय उदीतनारायण देव र पद्मविलास कार्कीले पूर्वसैनिकको ऊर्जालाई अवकाशप्राप्त जीवनपछि पनि देश सेवामा उपयोग गर्न सम्मेलन आयोजना गरिएकामा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशका आठवटै जिल्लाको सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै बहालवाला र अवकाश प्राप्त सेनाले सैन्य प्रदर्शन पनि गरेका थिए । पूर्वसेनाका शारीरिक अपांगता भएकालाई सो अवसरमा प्रधानसेनापति क्षत्रीले ह्विलचियर प्रदान गर्नुभयो ।
पूर्वसेनाका वृद्धवृद्धालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।