प्रदेश ४ मा केन्द्र सरकारले अन्तरिम व्यवस्थापनको लागि खटाएका २२९ मध्ये १२० जना मात्र हाजिर भएका छन् । कतिपय मन्त्रालयमा कार्यालय व्यवस्थापनका काम नै नसकिएका कारण कर्मचारी संख्या कम भए पनि कार्य सञ्चालनमा समस्या भएको छैन ।
कतिपय कर्मचारी प्रदेश ४ का विभिन्न कार्यालयमा हाजिर नभए पनि सम्पर्कमा रहेका छन् । खटाइएका कर्मचारीमध्ये शुक्रबारसम्म १०९ कर्मचारी कार्यालय पुगेका छैनन् ।
भौतिकमा दुईतिहाइ कर्मचारी पुगेनन्
कतिपय कार्यालयमा एकतिहाइसम्म कर्मचारी आएका छैनन् भने कुनै कार्यालयमा एकजना मात्रै आइपुगेका छैनन् । प्रदेश प्रमुख कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीका अनुसार परराष्ट्र मन्त्रालयका एक अधिकृत आइपुगेका छैनन् । यसको विपरीत भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने सबैभन्दा धेरैजना कर्मचारी आइपुग्न बाँकी छ । मन्त्रालयलाई ३३ जना कर्मचारी खटाइएको भए पनि शुक्रबारसम्ममा १० जना मात्र कर्मचारी आइपुगेका छन् । अझै २३ जना कर्मचारी आइपुग्न बाँकी छन् ।
नआए पनि सम्पर्कमा छन्
प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले खटाइएका कर्मचारी नआए पनि सम्पर्कमा रहेको बताए । केही बाहिरबाट आउनुपर्ने भएकाले समय लागेको उनको भनाइ छ । ‘अहिले मन्त्रालय स्थापना भइसकेको भए पनि काम नभएकाले समस्या छैन’ उनले भने । मन्त्रालय सञ्चालनका लागि आवश्यक काम र प्रदेश सभाका लागि चाहिने सम्पूर्ण तयारी २० फागुनसम्म पूरा गरिने प्रमुख सचिव अर्यालले जानकारी दिए ।
कर्मचारीबारे को के भन्छन् ?
काममा समस्या छैन : झलकराम सुवेदी
प्रवक्ता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,
काममा समस्या छैन । आवश्यकताअनुसार सबै काम भइरहेको छ । कर्मचारी कार्यालयमा नआए पनि सम्पर्कमा रहेका छन् । हामीले दैनिक हुने कामसँगै कर्मचारी पदपूर्तिको काम पनि जारी राखेका छौँ ।
कामको बारेमा छलफल भइरहेको छ
विष्णुराज ढकाल
सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय
कार्यालय व्यवस्थापनको काम भइरहेको छ । कार्यालय व्यवस्थापनमा लाग्नुपरेकाले कामले गति लिन सकेको छैन । अझै एकहप्ता कार्यालय व्यवस्थित बनाउनै समय लाग्ने देखिएको छ । अहिले कर्मचारी नहँुदासमेत हाललाई समस्या भने परेको छैन । मन्त्रालयले गर्ने कामबारेसमेत छलफल भइरहेको छ । यसकारण पनि धेरै काम नभएकाले समस्या छैन ।
कार्यालय व्यवस्थापनकै काम सकिएन
डा. बुद्धिसागर पौडेल
सचिव, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय
हामीलाई काममा समस्या परेको छैन । कर्मचारी नआउँदा आएनन् भन्ने छ, आए काम छैन । कार्यालय व्यवस्थापनको काम नै नसकिएका कारण समस्या नभएको हो ।
समस्या मिलाउँदै छन्
कृष्णमुरारी न्यौपाने
सचिव, सामाजिक विकास मन्त्रालय
कार्यालय व्यवस्थापन हुँदै गरेकाले अहिले दैनिक काममा कुनै समस्या परेको छैन । केही कर्मचारीको श्रीमान्–श्रीमती एउटै जिल्लामा रहेको र उनीहरूमध्ये एकजनाको मात्र सरुवा हुँदा पारिवारिक समस्याका कारण केही कर्मचारी आउन सकेका छैनन । केही भने आफ्नो पुरानो कार्यालयको जिम्मेवारी पूरा गरेर आउन लागेकाले पनि खटिएका कर्मचारी आउन ढिलो भएको हो ।
व्यवस्थापनको ढिलाइले काम सुस्त
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरी काम सुरु गरेको एकहप्ता बितिसकेको छ । ४ फागुनमा मुख्यमन्त्रीसहित अन्य तीन मन्त्रालयले मन्त्री पाए पनि मन्त्रालयको कामको गति भने सुस्त देखिएको छ । एकातिर दरबन्दीअनुसार कर्मचारी छैनन् भने अर्कोतिर खटिएका कर्मचारीलाई पनि दिने काम नभएको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. बुद्धिसागर पौडेलले बताए ।
कर्मचारी व्यवस्थापनको संक्रमणकाल भएकाले एउटै कर्मचारीले दुईतिरको जिम्मेवार रहेकाले पनि चुनौती थपिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता झलकराम सुवेदीले जानकारी दिए । ‘पुराना कार्यालय विस्थापित नभइसकेका र नयाँ कार्यालय थपिँदा समस्या देखिएको हो’ उनले भने । खटाइएकाहरू आउने क्रममै रहेको र यहाँ अन्य कार्यालयबाट कर्मचारी झिकाएर भए पनि काम भने नरोेकिएको उनको भनाइ छ । (नयाँ पत्रिका)