जनप्रतिनिधिलाई सम्मान



काठमाडौँ, १३ फागुन

नेकपा (एमाले) बल्खु कमिटीले जनप्रतिनिधिलाई शनिबार सम्मान गरेको थियो ।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, यज्ञराज सुनुवार र बिना श्रेष्ठ तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ (क) का प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यलाई देश र जनताका पक्षमा कार्यसम्पादन गर्न अभिनन्दन गरिएको छ ।

उक्त कार्यक्रममा सम्मानित श्रेष्ठले निर्वाचनमा प्राप्त भएको जनादेशबाट अब मुलुकलाई आर्थिक विकास र समृद्धिमा लैजानका लागि अवसर प्राप्त भएको बताउनुभयो ।

नेता ढकालले देशमा राजनीतिक स्थायित्व कायम गरी दीर्घकालीन योजना कार्यान्वयन गरी स्थानीय विकास तथा पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता सुनुवार, श्रेष्ठ तथा शाक्यले मुलुकमा गरिबी निवारणका लागि उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कमिटीका प्रमुख हरिकान्त पाठकले गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित तथा प्रतिनिधिसभा सदस्यमा मनोनीत नेतालाई बधाई दिँदै राष्ट्र निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फबाट परिणाम सार्वजनिक हुन ढिलाइ भएको हुँदा सो कार्यक्रम ढिला गर्नुपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्