नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद्को चौथो विस्तारित बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरेको छ । संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा लुम्बिनीमा शनिबार सम्पन्न भएको चारदिने बैठकले आसन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णयसमेत गरेको छ ।
त्यसका लागि छलफलबाट उपयुक्त नाम तय गरिने नयाँ शक्ति पार्टीले जनाएको छ । त्यस्तै, बैठकले पार्टी समितिका सदस्यको योग्यता र अनुभव किटान गरिएको छ ।
डा. भट्टराई पुनः संयोजक चयन
संयोजक डा. बाबुराम भट्टराई संघीय परिषद्को चौथो विस्तारित बैठकबाट सर्वसम्मतिले पुनः संयोजक चयन भएका छन् । बैठकले दस्तावेज परिमार्जनका लागि संयोजक भट्टराईको संयोजकत्वमा देवीप्रसाद ओझा, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति गठन गरेको छ ।
कसलाई कुन प्रदेशको जिम्मेवारी
महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जसमेत तोकेको छ । जसअन्तर्गत प्रदेश १ मा राजेन्द्र किराती २ मा रामरिझन यादव ३ मा गंगानारायण श्रेष्ठ ४ मा रुद्रबहादुर गुरुङ ५ मा नवराज सुवेदी ६ मा सरुण बाँठामगर ७ मा कृष्णकुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी, केन्द्रीय कार्यालय संयोजकको रूपमा राजु नेपाललाई जिम्मेवारी दिइएको छ । प्रवक्तामा प्रशान्त सिंह कायम रहेको शनिबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संयोजक भट्टराईले तयार पारेको ‘नयाँ शक्तिको दुई वर्ष : वैकल्पिक राजनीतिको अपरिहार्यता’ शीर्षकको राजनीतिक, सांगठनिक र व्यवस्थापकीय प्रतिवेदन बैठकबाट पारित गरिएको पार्टीले जनाएको छ ।
शक्तिशाली तेस्रो ध्रुव बनाइने
चौथो विस्तारित बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । जसअन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसद्मा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने उल्लेख गरिएको छ । संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन केन्द्रीय समितिसँगै विज्ञ परिषद् र संरक्षक परिषद्समेत गठन गरिएको छ । केन्द्रीय समितिमा ९९ जना, विज्ञ परिषद्मा १५ र संरक्षक परिषद्मा ३५ सदस्य छन् ।
५ बुँदे ‘लुम्बिनी संकल्प जारी
चार दिनसम्म चलेको बैठक शनिबार बुद्धको जन्मस्थल अगाडि ५ बुँदे ‘लुम्बिनी संकल्प २०७४’ जारी गर्दै सम्पन्न भएको हो । ‘देशमा समस्या छ । समस्याको कारण छ । समस्याको निवारण छ । ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ,’ संकल्पपत्रमा भनिएको छ । संकल्पपत्रमा नेपाली जनताको सुख, समृद्धि र खुसीबाहेक पार्टीको अर्को कुनै राजनीतिक स्वार्थ नभएको उल्लेख छ । (नयाँ पत्रिका)