काठमाडौं, १३ फागुन । अभिनेता राजेश हमाल अचेल फिल्मी क्षेत्रमा त्यति सक्रिय देखिएको पाइन्न । उनको हातमा अहिले एउटा पनि चलचित्र छैन । विगत दुई वर्षदेखि उनी फिल्मी क्षेत्रभन्दा पनि टेलिभिजन कार्यक्रममै रमाइरहेका छन् ।
हाल कान्तिपुर टेलिभिजनमा ‘क्विज मेनिया’ चलाइरहेका राजेश पछिल्लो समय धेरै समय विज्ञापन अभिनयमै व्यस्त छन् । चाँडै उनले एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘कोे बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गर्नेछन् ।
हाल श्रीमती मधु भट्टराईसँग थाइल्यान्डको बैंककमा छुट्टी मनाइरहेका राजेशले आइतबार बिहान फेसबुकमा चारवटा फोटो राखेर एक लाइनको स्टाटस लेखेका छन् । जसमा भनिएको छ, जिन्दगी फुलेपछि दाह्री फुल्दो रहेछ । राजेश र मधु दुवै आइतबार स्वदेश फर्कंदै छन् ।
राजेशको स्टाटस पढ्दा र तस्बिर हेर्दा उनलाई बुढ्यौलीले छोएको महसुस भएको बुझ्न सकिन्छ । राजेश उमेरले ५७ वर्ष पुगिसकेका छन् । कपाल बाक्लो र कालो भए पनि उनका दाह्री भने सेतै भएर फुलेको तस्बिरमा देख्न सकिन्छ ।