बन्धक बनाएर बेश्याबृत्तीमा लगाउने काममा कमी भएपनि नेपाली चेलीहरुको अनुहारको छाला बिक्रि गर्ने नयाँ धन्दा सुरु भएकोले बेचबिखनको जोखिम कायमै रहेको माइती नेपालका निर्देशक बिश्वराम खडकाले बताएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको मेची–काली जनचेता अभियानको क्रममा आज बिराटनगर जोगबनी सिमा नाकामा आयोजित सचेतना कार्यक्रममा माइती निर्देशक खड्काले उक्त कुरा बताएका हुन ।
‘नेपालका महिलाको अनुहारको छाला (स्किन) राम्रो हुन्छ,’ खड्काले भने, ‘त्यही लोभमा परेर दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यले सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको तथ्यांक सार्वजनिक भएको छ ।’
खड्काका अनुसार नेपालका पढेलेखेका र डिग्री हासिल गरेका महिलाहरु पनि मानव तस्करको जालमा पर्ने गरेको उनले बताए ।
महिला तथा बालबालिकाको तस्करी आन्तरिक, सीमापार र समुद्र पारीसम्म हुने गरेको बताउँदै खड्काले दक्षिण अफ्रिका, वेष्टइण्डिजको ट्रिनिडा एण्ड टोनेगो भन्ने देशसम्म तस्करी हुने गरेको तथ्यांक रहेको उनको भनाई छ ।
मानव बेचबिखन तथा ओसारपसारबारे अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था रोयटर्स फाउन्डेसनले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपाली महिलाको अनुहारको छाला धनाढ्यहरूले प्लाष्टिक सर्जरी गरेर आफनो अनुहारमा प्रयोग गर्ने गरेको उल्लेख भएको जानकारी दिए ।
बालिकाहरुको बेचबिखन बढदो
माइती नेपालका अनुसार नेपालबाट बयस्क र किशोरी महिलाहरुलाई मात्र नभएर साना बालिकाहरुलाई समेत ललाई फकाई तस्करी गरेर लाने गरिएको छ ।
बिदेश लगेर बालिकाहरुलाई हार्मोन बढाउने औषधी खुवाएर अंग बढाई बालिकाहरुलाई यौन पेशामा प्रयोग गर्ने गरिएको छ ।
यसैले नेपालबाट बालिकाहरु पनि बेचबिखनमा पर्ने गरेको र नेपालबाट ७ वर्षकी बालिकाहरु समेत बिक्रिमा परिसकेको माइती नेपालको तथ्यांकमा छ ।
चेलीबेटी बेचबिखन र ओसारपसार नियन्त्रणमा सकृय रहेको माईती नेपालले स्थापनाको २५ वर्ष पुगेको अबसर पारेर १२ फागुनदेखी मेचीकाली जनचेतना अभियान सुरुगरेको हो ।
शनिवार पुर्वी सिमाना झापाको मेची नगर स्थित काकडभिट्टामा अभियानको उद्घाटन गरिएको थियो ।
कडा नीति बनाएर तस्करी रोक्ने मन्त्रीको प्रतिबद्धता
प्रदेश १ का समाजिक बिकास मन्त्री जीवन घिमिरले यो प्रदेशका सबै नाकाहरुबाट भैरहेको मानव तस्करी कडा नीति बनाएर नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ ।
आज माइती नेपालले जोगबनी नाकामा आयोजना गरेको सचेतना कार्यक्रमा बोल्दै मन्त्री घिमिरले भने,– ‘हरेक बालबालिका तथा महिलाको सामाजिक सुरक्षाका लागि हामी प्रतिबद्ध छौ ।,
जोगबनी नाकाबाट १ सय २० जनाको उद्धार
माइती नेपाल बिराटनगर शाखका अनुसार सन् २०१७ मा जोगबनी नाकाबाट भारत लैजाँदै गरेका १ सय २० जनालाई उद्धार गरिएको बताइन्छ ।
बिक्रिकालागि सीमापारी लगिसकिएका ४० जनालाई सहयोगी संस्था भूमिका बिहारको सहयोगमा भारतीय भूमीबाट र बाँकीलाई नेपाली भूमीबाट उद्धार गरिएको थियो ।
उद्धार गरिएकाहरुमा मोरंगका ३४, सुनसरीका ३०, उदयपुरका १ र झापाका १२ जना थिए । जसमा १८ वर्षभन्दा मुनीका ५८ जना र अरु बालबालिकाहरु थिए । (नयाँ पत्रिका)