रानी पोखरी प्रताप मल्लले बनाएका होइनन्



काठमाडौँ उपत्यका अहिले अपभ्रंशित टोलहरूको शहर बनेको छ। ‘असं’ असन भएको छ। त्यस्तै, ‘वंग’ इन्द्रचोक, ‘थं बहीः’ ठमेल, ‘त्यरः’ त्यौड, ‘झ्वः छें’ झोछें भएका छन्। उदाहरण थुप्रै छन्। जम्मा गर्दै गए पुस्तकाकार हुन पुग्छ। भोट गएर फर्केकाहरूका लागि भनेर शहरको बाहिरी भागमा गाःहिती (ढुंगेधारा) बनाइएको थियो। त्यो गाःहितीलाई भोतःहिती भनिन्थ्यो। आजभोलि भोटाहिटी भनिन्छ। रत्नपार्कछेउको भूमिगत सडक बनाउन जग खन्ने क्रममा ढुंगेधारा भेटिएको थियो। त्यो ढुंगेधारा न्हेह्रा हिती (सप्तधारा) हो भनेर मैले नै भनेको हुँ। यो नै भोतःहिती हो भन्ने मेरो ठम्याइ छ। ‘रोलम्ब’ जर्नल (अप्रिल–जुन, १९८४) मा यसबारे मैले विस्तृतमा लेखेको पनि छु।

रानीपोखरी अहिले चर्चाको शिखरमा छ। यो पोखरीलाई सबै रानीपोखरी भन्छन् तर म यसलाई कमल पुखू हो भन्छु (पोखरीलाई नेवारी भाषामा पुखू भनिन्छ)। कमलपुखूको पश्चिममा कमलाक्षी रहेको छ। पूर्वमा कमलादी छ। पूर्वको कमलादी वास्तवमा कमलाती हो। कमलादी गणेशस्थानसँगै रहेको सानो कमलपोखरी यहीँबाट बगेर गएको पानीले बनेको पोखरी हो। कमलपोखरीको पानी झरेर बनेको पोखरी रहेको स्थान भएकैले यसलाई कमलाती भनिएको हो। कमलाती (कमल या ती) अर्थात् कमलको जल। कमलादी गणेशस्थानको मूल घर जमलनजिकै त्यरःमा छ। यो मन्दिरको हेरचाह जमःमी गुठीले गर्ने गरेको छ। जमःमी अर्थात् जमलका मानिसहरू। यी आधारहरूले पनि यो पुखू जमल पुखू नै हो भन्न सकिन्छ। पश्चिमपट्टि छ कमलाक्षी। कमलपुखूसँगै रहेको लाक्षी भएकैले यसलाई कमलाक्षी भनिएको हो।

यो पोखरीलाई जमल पूखु पनि भन्न सकिन्छ। अर्थात जग मरू पुखू। यो पोखरीको जग छैन। भन्नाले पोखरीको पीँधमा इँटा–ढुंगा केही छापिएको छैन। माटो मात्रै छ। जमलेश्वर महादेवस्थान नजिकै रहेकोले पनि यसलाई जमल पुखू भन्न सकिने आधार छन्। त्यसैले मेरो विचारमा यो प्रताप मल्लले बनाएको पोखरी होइन। पहिलेदेखि नै रहेको पोखरी हो। प्रताप मल्लले जमल पुखूलाई व्यवस्थित र संरक्षित मात्रै गरेका हुन्। रानीपोखरी पुनर्निर्माणसँगै व्यापक चर्चामा आएको पाटन पिंबहालस्थित पिंबहा पुखूलाई पनि परापूर्वकालमा जमल पुखू भन्ने गरिन्थ्यो। पिंबा पुखूकै स्वरूपको नक्कल गरेर रानी पुखू बनाइएको छ।

प्रताप मल्ल लिखित ठ्यासफूमा पोखरी उनले बनाएका हुन् भनेर लेखिएको छ। यो इतिहासको एउटा पाटो हो। बिनाआधार प्रताप मल्ल राजाले बनाएका होइनन् भन्दा इतिहास र प्रमाणहरूसँग जोरी खोजे जस्तो हुन्छ। तर, मैले यहाँ जोरी खोज्ने कुरा गरेको होइन। उपत्यका प्राचीन शहर हो। यहाँका हरेक गल्ली, टोल, बजारका नामहरूको अर्थ छ। हामीले पोखरी वरिपरिका बस्तीहरूको ऐतिहासिक पक्षलाई बिर्सनु हुँदैन। लिखित इतिहास मात्रै इतिहास हुँदैन। प्रताप मल्लले बनाएका हुन्। तर, मेरो तर्क उनले पोखरी संरक्षण मात्र गरेको हुन् भन्ने हो। अर्थात्, व्यवस्थित मात्रै गरेका हुन्। मल्लकालीन समयभन्दा अघि नै रहेको उक्त पोखरीमा प्रताप मल्लले मन्दिर बनाउन लगाए। डिल मिलाए र सुन्दर बनाए। हात्तीमाथि आफू र आफ्ना परिवारको आकृति बनाउन लगाए। देशदेशावरका ५१ तीर्थबाट जल ल्याई पोखरीलाई पवित्र गरे। रानीलाई खुशी पार्न सकेजति मेहनत प्रताप मल्लले गरेकै हुन्। यसमा दुईमत छैन।

रानीपोखरीसित थुप्र्रै किंवदन्ती जोडिएका छन्। केही पत्यारिला छन्, केही अपत्यारिला। अहिले चलिरहेको उत्खनन्मा रानीपोखरीमा जग नरहेको स्पष्ट भइसकेको छ। पुरातत्वविद् एवं वास्तुविद्हरू रानीपोखरीको पानीको स्रोत खोज्दैछन्। किंवदन्तीअनुसार त्यहाँ सात वटा इनार हुनुपर्छ। पानी भर्न र फाल्न। तर, मलाई यसमा विश्वास लाग्दैन। वास्तवमा यो उत्तर प्राचीनकालीन अर्थात् लिच्छविकालीन पोखरी हो। पोखरीको चारै दिशामा रहेका ढुंगेधारा नै पोखरीको पानीका स्रोत हुन्। दक्षिण पश्चिममा रहेको न्हेह्राहिती र उत्तरपूर्वमा रहेको स्वह्राहिती (तीनधारा) दुवै लिच्छवीकालीन हुन्। न्हेह्राहिती डुँडमा संवत् ४५ लेखिएको भेटिएको थियो।

झण्डै तेह्र/चौध सय वर्ष पुरानो। त्यस्तै स्वह्राहिती पनि तेह्र सय वर्ष पुरानो धारा हो। तीनधारामा रहेको तेह्र सय वर्ष पुरानो चतुर्मुख मूर्ति अहिले राष्ट्रिय नाचघरको प्रांगणमा अलपत्र भेटिन्छ। राष्ट्रिय संग्रहालयमा सार्ने क्रममा नाचघरको प्रांगणमा बिसाइएको मूर्ति त्यहीँ अड्कियो। त्यस्तै, रत्नपार्कस्थित विद्युत प्राधिकरणको प्रांगणमा अर्को ढुंगेधारा थियो। यो धोबीहरूको लुगा धुने धारा हो। जमलस्थित आरसीटी क्लबको भवन रहेको स्थानमा पनि पहिले ढुंगेधारा थियो। सानो उमेरमा मलाई त्यहाँ गएर मुख धोएको अझै याद छ। कालान्तरमा ढुंगेधारा पुरियो। भवन बन्यो। रानीपोखरीको पानी बाहिरिने बाटो खोज्ने हो भने पूर्वतिर केही भेटिनुपर्छ।

प्रताप मल्लले रानीपोखरी बनाएका होइनन्। पोखरी संरक्षण मात्र गरेको हुन्। अर्थात्, व्यवस्थित मात्रै गरेका हुन्। मल्लकालीन समयभन्दा अघि नै रहेको उक्त पोखरीमा प्रताप मल्लले मन्दिर बनाउन लगाए। डिल मिलाए र सुन्दर बनाए। हात्तीमाथि आफू र आफ्ना परिवारको आकृति बनाउन लगाए। देशदेशावरका एकाउन्न वटा तीर्थबाट जल ल्याई पोखरीलाई पवित्र गरे।

रानीपोखरीको पुनर्निर्माणको चर्चा चलिरहँदा पुरातात्विक महत्वको विषयमा पनि बहस चलेको थियो। यसलाई प्राचीन स्वरूपमा पुनर्निर्माण गर्ने कि महानगरको योजनाअनुसार नयाँ रूप दिने ? काठमाडौँ महानगरले यसका लागि विशेषज्ञहरूको टोली नै बनाएको छ। पुरातŒवविद्, वास्तुविद्, सम्पदाप्रेमीहरू रहेको टोलीबीच रानीपोखरी र मन्दिर कसरी पुनर्निर्माण गर्ने भन्ने वादविवाद चलिरहेको छ। मेरो विचारमा यसमा विवाद गरिरहनुपर्ने कुरै छैन। पोखरी प्राचीन रूपमै निर्माण हुनुपर्दछ। किनभने, यो ऐतिहासिक पोखरी हो। भेटिएसम्म पुरानो तस्बिरका आधारमा यसको पुनर्निर्माण गरिनुपर्छ। यसभित्र रहेका मन्दिर, मूर्तिहरू जस्तै पोखरीको पनि पुरातात्विक महत्व छ।

रानीपोखरीलाई पुरातात्विक महत्वका आधारमा मात्रै पनि हेर्नु हुँदैन। वर्तमान काठमाडौँ शहरको बीच भागमा रहेको यो पोखरीको सामाजिक एवं वातावरणीय महत्व पनि उत्तिकै छ। शहरवासीलाई स्वच्छ हावा दिन यो पोखरीले निकै महत्वपूर्ण भूमिका खेल्ने गरेको तथ्य हामीले बिर्सनु हुँदैन। शहरीकरणको चपेटामा काठमाडौँ उपत्यकाका थुप्रै ऐतिहासिक पोखरी सुकिसकेका छन्। ईखापुखू, खापुखू, बतीपुखू केही उदाहरण हुन्। यस्ता थुप्रै पोखरी अतिक्रमित भएका छन्। जसको असर हाम्रो दैनिक जीवनमा परिरहेको छ। केही व्यक्तिको राजनीतिक र आर्थिक स्वार्थसिद्धिका लागि पोखरीको प्राकृतिक वातावरण खलबल्याउने काम गर्नु हुँदैन। काठमाडौँ महानगरपालिकाको पहिलेको योजनाअनुसार जाने हो भने त्यसले रानीपोखरीको भविष्य नागपोखरी र हाँडीगाउँस्थित गहनापोखरी जस्तै हुनेछ। यी दुवै लिच्छवीकालीन पोखरी हुन्। हामी सबैले देखिरहेकै छौँ, यिनीहरूको अस्तित्व अहिले प्राकृतिक पोखरीका रूपमा छैन।

ललितपुरमा रहेका थुप्रै पोखरीको अतिक्रमण र विनाशका कारण पनि तत्कालीन स्थानीय निकायका केही व्यक्तिको राजनीतिक तथा आर्थिक स्वार्थ र राज्यको कमजोर नीति रहेको थियो। चक्रपथ बनाउने क्रममा दक्षिणी ललितपुरदेखि ल्याइएको राजकुलो व्यवस्थित गर्न नसक्दा ललितपुरका ढुंगेधाराहरू सुके। ढुंगेधारा सुकेसँगै पोखरीहरू पनि सुके। पुल्चोकमा रहेका चारै पोखरी अहिले अस्तितवमा छैनन्। हाल ललितपुर महानगरपालिका भवन, त्रिपद्म स्कुल रहेको ठाउँ पहिले पोखरी थियो। महानगरपालिका भवन रहेको स्थानमा रहेको पोखरीलाई बालउद्यानका रूपमा विकास गरिएको थियो।

भारतीय राष्ट्रपतिद्वारा उद्घाटन गरिएको उक्त पोखरी मासेर त्यहाँ महानगरपालिका भवन बनाइयो। त्यससँगै क्वेना गणेद्य रहेको ठाउँमा पनि पहिले पोखरी थियो। कुमारीपाटीस्थित पोखरी गिर्वाणयुद्धविक्रम शाहले भिंछे वहाःका गुभाजूहरूलाई दान दिएका थिए। पछि सो पोखरी गुभाजूहरूले नगरपालिकालाई दिए। नगरपालिकाबाट सो जमिन अहिले व्यक्तिको नाउँमा आइसकेको छ। पूर्णचण्डी मन्दिर पछिल्तिरको पोखरी, प्यापुखू, सौगः पुखू आदि थुप्रै पोखरी शहरीकरण र स्थानीय निकायको अदूरदर्शिताका कारण मासिइसकेका छन्। ललितपुरमा निकै थोरै पोखरी मात्र बचेका छन्। पाटन अस्पतालअघि रहेको पोखरी र सदर चिडियाखानाभित्र रहेको पोखरीले यहाँका पोखरीहरूको अस्तित्व धानेको छ।

अहिले काठमाडौँ महानगरपालिका तत्कालीन ललितपुर नगरपालिकाले गरेको सोही गल्ती दोहो¥याउन खोज्दैछ। नेतृत्वको अदूरदर्शिता र सीमित व्यक्तिको लहडमा रानीपोखरी पुनर्निर्माण विनाशपथमा गइरहेको छ। यसलाई हामी सबै मिलेर रोक्नुपर्छ। आजभन्दा सयौँ वर्षअघि स्थानीय प्रविधि प्रयोग गरी बनाइएको पोखरी आजको आधुनिक युगमा झन् सजिलैसित बन्न सक्छ। तर, त्यसको निमित्त पुरातत्व, इतिहास र संस्कृति बचाउने अठोट चाहिन्छ। साधना चाहिन्छ। सम्पदालाई बुझ्ने मन चाहिन्छ। पोखरी संरक्षणमा भक्तपुरवासीले गरेको कार्यलाई हामी उदाहरणका रूपमा लिन सक्छौँ। गरे नसकिने होइन रहेछ भन्ने ज्वलन्त उदाहरण हुन्, भक्तपुरका पोखरी। सानो ठाउँ भए पनि ललितपुर र काठमाडौँका स्थानीय निकायले भक्तपुरसँग केही सिक्नुपर्छ।

आज पुरातात्विक महत्वको रानीपोखरी बालुवा सुकाउन राखिएको फाँट जस्तो देखिएको छ। ०७२ सालको भूकम्पले पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर भत्किएको थियो। पोखरी केही भएको थिएन। भग्नावशेष बनेको वर्षौंसम्म पनि एउटा सानो मन्दिर बनाउन नसकिने हुन्छ र ? यो महानगर र पुरातत्व विभागका सम्बन्धित अधिकारीहरूको गैह्रजिम्मेवारीको पराकाष्ठा हो। यही पाराले यो सुन्दर पोखरी विलुप्त हुनेछ। (अन्नपुर्ण पोस्ट)

(संस्कृतिविद् जोशीसँग शिशिर वैद्यले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्