रोकिएला सिरियाको नरसंहार ? रूसले गर्यो यस्तो प्रस्ताव



एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सेनालार्इ गुटा सहरस्थित विद्रोहीको कब्जा रहेको क्षेत्रमा हरेक दिन केही समयका लागि आक्रमण रोक्ने आदेश दिएका छन् ।

दैनिक कम्तिमा पनि ५ घण्टाका लागि हुने युद्धविराम मंगलवारदेखि लागू हुनेछ । यसको उद्धेश्य युद्धका क्रममा फसेका नागरिकलार्इ विद्रोहीको कब्जा रहेको क्षेत्रबाट बाहिर निकाल्नु रहेको छ ।

सिरियाको राजधानी दमास्कसको नजिकै विद्रोहीको कब्जा रहेको गुटामा तीन लाख ९३ हजार नागरिक फसेका छन् । यस सहरमा रूसी सहयोग लिएर सिरियाको सरकारी सेनाले लगातार बम बर्साइरहेको छ।

सिरियाको हालतमाथि निगरानी गरिरहहेको एउटा निगरानी समूहले बितेका ८ दिनमा गुटामा ५५० निहत्था सर्वसाधरणको ज्यान गइसकेको जनाएको छ।

‘मानवीय रोक’

रूसका रक्षा मन्त्री सर्गेई सोयगुले युद्धमा यो ‘मानवीय रोक’ स्थानीय समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ । उनले बताए अनुसार युद्धग्रस्त क्षेत्रमा फसेका मानिसलार्इ बाहिर निकाल्नका लागि मानवीय कोरिडोरबारे अन्य जानकारी फेरि दिइनेछ ।

उता शनिवार संयक्त राष्ट्र संघ सुरक्षा परिषदले सिरियामा कम्तिमा पनि ३० दिनका लागि युद्धविराम गरिनुपर्ने आह्वान गरेको थियो ।

सुरक्षा परिषद्ले आफ्नो प्रस्तावमा ‘सबै पक्षबाट तुरून्त युद्ध रोक्न’ र अतिजरूरी परेकाहरूलार्इ सहायता सामग्री पुर्याउन सहयोगका लागि पनि आग्रह गरेको थियो ।

रूसमाथि भने यस प्रस्तावलार्इ पास गर्न बाधा गर्ने कोशिश गरेको आरोप लागिरहेको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले पूर्वी गुटालार्इ पृथ्वीको नर्क बताउँदै तुरून्त युद्ध रोक्न माग गरेका छन् ।

युएनको प्रस्ताव सारा सिरियालार्इ ध्यान दिँदै आएको हो तर अहिले पनि पूर्वी गुटामा सरकारी हमला रोक्ने तर्फ ध्यान दिइएको छ । विद्रोहीले पनि दमास्कसका सरकारी कार्यालयहरूमा बम आक्रमण रोक्नुपर्ने भनिएको छ। उनीहरूको हमलामा पनि आमनागरिक मारिइरहेका छन् ।

यस प्रस्तावमा संयुक्त राष्ट्रसंघले आतंकवादी मानेका इस्लामिक स्टेट, अल-कायदा र उनीहरूसँग जोडिएका जिहादी समूहविरूद्धको कारबाही भने नरोकिने जनाइएको छ ।

ब्रिटेनस्थित सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार युएनको प्रस्तावपछि अब पूर्वी गुटामा ३१ जनाको ज्यान गइसकेको छ । संस्थाका अनुसार सोमवार डुमा र हरास्ता गाउँमा १७ जना मानिस मारिएका छन् ।

विद्रोही इलाकामा सक्रिय एक संस्थाले पनि डुमामा एक घरमाथि बम खसाइँदा ९ जनाको ज्यान गएको पुष्टि गरेको छ। विपक्षको पत्रिका एनाब बलादीको समाचार अनुसार सरकार समर्थित बल स्थल युद्धमा भाग लिइरहेको छ ।

आइतवारको हमलामा क्लोरीनको प्रयोग भएको पनि समाचार सार्वजनिक भएको छ । एक एम्बुलेन्सका ड्राइभरले भने, ‘अल-शिफनिया शहरमा हवाई हमलापछि क्लोरिन ग्यास जस्तो गन्ध आएको थियो ।’ तर यो समाचारको पुष्टि हुन बाँकी छ ।

सोमवार रूसी विदेशमन्त्री सर्गेई लावरोभले पनि यी कुरालार्इ मनगढन्ते कथा भनेका छन् । संयुक्त राष्ट्रको प्रस्तावलार्इ जानीबुझी फेल गराउनेले यस्तो हल्ला चलाएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्