नवलपरासी, १५ फागुन
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा दुर्घटना न्यून गर्ने उद्देश्यले सवारी साधन जाँच अभियान थालिएको छ ।
यो अभियान सवारी चालकलाई सवारी नियम पालना गर्न लगाउन निकै प्रभावकारी देखिएको छ । जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट दैनिक रुपमा रु १० देखि २५ हजारको हाराहारीमा राजश्व उठ्ने गरेको प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवलीले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार विशेषगरी नवलपरासीको परासी, सुनवल, भुमही, बडेरा, बासा, बर्दघाट, सेमरीलगायत स्थानबाट दैनिक जाँच गर्ने काम हुन्छ ।
जरिवाना तिर्नेमा धेरैजसो हेल्मेट नलगाएको, सवारी अनुमतिपत्र नबोकेका, अनुमतिपत्र र बिलबुक नवीकरण नगरेका तथा मापसे गरेका, जथाभावी गाडी रोकेर यात्रु चढाउने र ओराल्नेहरु छन् ।
अरु दिनभन्दा पनि बिदा र चाडपर्वको दिनलाई लक्ष्य गरी दिनमा चारदेखि छ चोटि विभिन्न स्थानमा सवारी जाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बडेराले जनाएको छ ।