बर्दिवास, १५ फागुन
महोत्तरी जिल्लाको बर्दिवास नगरमा आज ११ दिने प्रथम बर्दिवास महोत्सव शुरु भएको हो ।
प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आज एक विशेष समारोहबीच महोत्सवको उद्घाटन गर्दै यस अवधिमा स्थानीय उत्पादनको प्रचार र प्रवद्र्धन एवम् बर्दिवासको व्यापार विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बर्दिवाससहित जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन हुने कृषि उपज, स्थानीय संस्कृति, व्यापार र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले बर्दिवास उद्योग वाणिज्य संघ र नेपाल आदिवासी जनजाति समन्वय परिषद महोत्तरीले संयुक्त रुपमा आयोजना गरेको महोत्सव यही फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारले दैनिक रुपमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, मिथिला क्षेत्रको प्रसिद्ध प्रतिस्पर्धा कुस्तीको आयोजना र नृत्यमा बर्दिवास ‘आइडल’को चयनसमेत गरिने कार्यक्रम छ ।
अवलोकनकर्ताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा आज पहिलो दिन नै २०० भन्दा बढी व्यापारिक स्टल राखिएका आयोजक मध्येका बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभयो ।
खासगरी जिल्लाको तरकारी उत्पादन पकेट क्षेत्र मानिएको बर्दिवास नगरपालिका, भङ्गाहा नगरपालिका र गौशाला नगरपालिका क्षेत्रका बस्तीबाट किसानले आफ्ना उत्पादन प्रदर्शन र बिक्रीका लागि महोत्सवस्थलमा ल्याएका छन् ।