चैतमा वाम गठबन्धनको नयाँ पार्टी घोषणा हुन्छ : उपाध्यक्ष रावल



काठमाडौँ, १५ फागुन

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी चैतको पहिलो हप्ताभित्रै वाम गठबन्धनको एकता गरी नयाँ पार्टी घोषणा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने बताउनुभयो ।

एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने बताउँदै उहाँले भन्नुभयो, “दुईवटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकाले हामीहरु दुवै कार्यदल आन्तरिक कार्यमा छौँ, अन्तरिम विधान लेखन शुरु गरिसकेका छौँ, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौँ ।”

विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गरिने जानकारी दिँदै उहाँले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभयो ।

उपाध्यक्ष रावलले बजेटको पनि तयारी गर्नुपर्ने हुँदा सरकारलाई पूर्णता दिन विलम्ब गर्न नहुने बताउनुभयो । राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै निर्णय भई नसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “राष्ट्रपति कसलाई बनाउने भन्नेबारे स्थायी कमिटीमा छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्