राजधानीको कष्टकर यात्रा



शिवप्रसाद पोखरेल

काठमाडौंको सार्वजनिक यातायात यात्रामा जिन्दगीको महत्वपूर्ण क्षण बितिसके। विगत ११ वर्षदेखि दैनिक घटीमा दुईपटक काठमाडौंको सार्वजनिक यातायातमा यात्रा जारी छ। कहिले माइक्रोबस, कहिले टेम्पो र धेरैजसो बसको यात्रा। वनस्थली नजिकबाट रविभवनसम्मको यात्रा पंक्तिकारको अहिलेको दैनिकी छ।

निर्माणाधीन कलंकीको बाटोबाट कालिमाटीतर्फ जानुअगाडि दिनमा कम्तीमा २० मिनेट जाममा बस्नुपर्ने बाध्यता छ। ट्राफिक जाम भएको बेला कहिलेकाहीं हिँडेर कालिमाटीतिर जाने प्रयास पनि नगरिएको होइन, तर सुट लगाउनुपर्ने जागिरे भएकाले कलंकीको धुलोले कार्यालय नपुग्दै रंगीन बनाइदिन्छ। यो मेरो मात्र विवशता नभई त्यो बाटो भएर यात्रा गर्ने सबैको हो। कहिलेसम्म यस्तो यात्राले निरन्तरता पाउने हो यकिन छैन।

वनस्थलीबाट कलंकी जान बिहान आठ बजेअगाडि चढेको सार्वजनिक यातायातमा कम्तीमा दैनिक एकपटक, थोरैमा हप्तामा तीनपटकजति स्वयम्भू वरिपरि चेकिङ हुने गरेको छ। बसचालक र सहचालकलाई अगाडिको बत्ती, पछाडिको बत्ती, गाडीको कन्डिसन आदिबारे जानकारी लिनकै लागि कम्तीमा पाँच मिनेट ट्राफिक प्रहरीले गाडी रोक्ने गर्छ। वनस्थलीबाट कलंकी पुग्दा कम्तीमा १५ देखि २० मिनेट चोकको जाममा पर्नु दैनिकी जस्तै भएको छ। पैदल यात्रा धुलोका कारण सम्भव नभएपछि सार्वजनिक यातायात चढ्नुको विकल्प छैन। कहिलेकाहीं जम्मा २० रुयैयाँमा हुने यात्रा बस परिवर्तन गर्नुपर्दा ३० रुपैयाँ खर्चिनुपर्ने अर्को बाध्यता छ। बस परिवर्तन गर्न दस मिनेटको समय खर्चिनुपर्छ।

अर्कोतर्फ यातायातका सहचालकले व्यक्ति हेरेर भाडा असुल्ने गरेको पाइन्छ। उही दूरीका लागि फरकफरक भाडा लिइने गरिन्छ। यसबारे जिज्ञासा राख्दा सहचालक झर्किने गर्छन्। उनीहरूको भाषा र शब्द चयनको प्रत्युत्तर दिने हैसियत हामीसँग हुँदैन। दोहोरो हर्कत आफ्नै लागि कुरीकुरी भइदिन्छ।

राजधानीकै यातायात यात्रा यति कष्टकर छ भने सिंहदरबारको अधिकार गाउँमा पुगेको सन्देश कसरी दिने ?

संसारमा सहिष्णु नेपालीको परिचय बनेको छ नेपालको। राजधानी रहेको काठमाडौंको यातायातमा भोग्नुपरेको कष्टकर यात्राले हाम्रो समाज कतातिर जाँदैछ भन्ने प्रश्न उठ्छ। राजधानीभित्रकै अवस्था यस्तो छ भने दूरदराजका जनताले कति कष्टकर यात्रा गर्नुपरेको होला ? सहजै अनुमान लगाउन सकिन्छ।

एक घन्टामा कार्यालय पुग्न सकिने पंक्तिकारले यति धेरै सास्ती खेप्नुपर्छ भने बालाजुबाट सिंहदरबार, ललितपुर र भक्तपुर पुग्नुपर्ने कर्मचारीको हालत के होला ? पैदलयात्री मार्ग भएको भए जम्मा एक घन्टामा कार्यालय पुग्न सक्ने दूरीमा रहेको पंक्तिकारको दैनिकी त यस्तो छ भने आम कर्मचारी र सर्वसाधारणको अवस्था के होला ? कार्यालयमा समयमा नपुग्दा खेप्नुपर्ने सास्ती त झन् चर्को छँदैछ।

ट्राफिक प्रहरीलाई पंक्तिकारको आग्रह छ– बिहानको समयमा सार्वजनिक यातायातको जाँच गर्दा त्यसमा सवार यात्रुको बाध्यता बुझ्ने कोसिस गरौं। आफ्नो जिम्मेवारी निभाउँदा अरू त्योभन्दा ठूलो जिम्मेवारी सम्हाल्न जान लागेका यात्रुको पनि ख्याल गरौं। ट्राफिकको त निश्चित ठाउँको ड्युटी हुन्छ, आम जनतालाई एक ठाउँमा बसेर हातमुख जोर्न सहज छैन भन्ने बुझ्नुपर्छ।

गाडीचालकको मान्छे कुर्ने बाहनामा चढिसकेका यात्रुलाई धेरैबेर दिक्क पार्ने दैनिकीबारे खासै चासो हुँदैन। कलंकीचोक पुग्नुअघि २० मिनेट जाममा बसेको गाडी पारी पुगेपछि पुनः गाडी कुर्न १० मिनेट बस्ने गर्छन्। बिहान खाना नखाई कार्यालय जानुपर्ने बाध्यताबाट मुक्ति कहिले पाइन्छ ? सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको समस्या कसले बुझिदिने ?

देश संघीयतामा गएको छ। सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको हुँकार लगाइएको छ। तर राजधानीकै यातायात यात्रा यति कष्टकर छ भने सिंहदरबारको अधिकार गाउँमा पुगेको सन्देश कसरी दिने ? अब सातै प्रदेशका जनताले यस्तो कष्टकर यात्रा गर्नुनपर्ने होइन र ? सवारी साधन बढी भएर हो वा व्यवस्थापनको कमजोरीले यस्तो भएको हो भन्नेबारे किन कसैले केही बताउन चाहँदैन ? कम्तीमा सार्वजनिक यातायातमा सहज पहुँच र सेवा पाएमा म जस्ता बहुसंख्यक नागरिक खुसी हुने थियौं। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्