युएईविरुद्ध नेपाल पाँच विकेटले विजयी



काठमाडौँः आईसीसी विश्वकप छनोट खेलका लागि जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युनाइटेड अरब इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बर्षातले प्रभावित भएपछि २९ ओभरमा छोट्याइएको खेलमा युएईले दिएको १७२ रनको चुनौती नेपालले ४ बल बाँकी छँदै भेट्टाएको हो । टस हारेर पहिले फिल्डिङमा गएपछि युएईले दिएको चुनौती पछ्याउँदै नेपाललाई विजयी गराउने क्रममा शरद भेसवाकर र दिपेन्द्रसिंह ऐरीले समान ४१–४१ रनको योगदान दिए । त्यसैगरी कप्तान पारस खड्काले २८ र नटआउट रहेका अरिफ शेखले २३ रनको योगदान दिए ।

युएईका लागि अमिर हायातले दुई विकेट लिएका थिए । त्यसैगरी मोहम्मद नाबिद, अहमेद राजा र रोहन मुस्ताफाले १–१ विकेट लिन सफल भए । यसअघि टस जितेर ब्याटिङ गरेको युएईले २८।५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनाएपछि नेपालले १७२ रनको चुनौती पाएको थियो ।

जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा टस जितेर ब्याटिङमा उत्रेको युएईका लागि मध्यम स्कोर बनाउने क्रममा अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाएका थिए । उनले ५१ बलमा ४ चौका र १ छक्कासहित त्यो स्कोर बनाएका थिए ।

युएईका लागि अदन मुफ्तीले २६ बलमा ३७ रन बनाए भने गुलाम सहबीरले ३८ बलमा ३२ रनको योगदान दिएका थिए । त्यसैगरी महम्मद उसमानले २० बलमा २६ रन बनाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्