परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी २ किसिमका हुन्छन् । स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ जसलाई बन्ध्याकरण भनिन्छ । यसले स्वास्थ्यमा कुनै असर गर्दैन तर महिलामा भने ढाड दुख्ने हुन्छ भन्छन् तर यो शल्यक्रियाको कारणले ढाड दुखेको भने होइन । कुनै कुनै समयमा ट्यूब राम्रोसँग टाइट भएन भने पे्रग्नेन्सी हुन सक्छ । कहिलेकाहीँ ट्यूव पाठेघरमा नबसी नलीमा बस्नसक्छ त्यस अवस्थामा महिलामा रक्तस्राब भएर जटिल अवस्था आउने र शल्याक्रिया नै गर्नु पर्ने हुन्छ ।
स्थायी बन्ध्याकरणले पुरुषमा यौन इच्छा कम भएर जान्छ भन्ने गरिन्छ तर यस्तो भने हुँदैन । पुरुषमा आफ्नै कारणले गर्दा यौनइच्छा कम हुने हो । स्थायी बन्ध्याकरण गर्दा पुरुषमा असफल हुने दर भने बढी हुन्छ । फलस्वरुप, महिलाले गर्भधारण गर्न पुग्छन् ।
परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन् । कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ ।
परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर पनि कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने संभावना १८ प्रतिशतसम्म हुन्छ ।
यदि महिलाले नियमित रुपमा पिल्स खाएमा फेलिएर हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठिक समयमा नै खानुपर्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । पिल्सले पाठेघरमा हुने क्यान्सरबाट समेत बचाउछ । तर पिल्स धेरै खाएमा स्तन क्यान्सर हुने संभावना पनि त्यतिकै हुन्छ । विशेष गरी पिल्स ४० वर्षपछि नखानु नै राम्रो हुन्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन । पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हँुदै जान्छ ।
डिपोप्रोभेरा तीन/तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुन सुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने संभावना हुन्छ ।
धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउदैन । महिलाले इन्जेक्सन लगाउदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिना पछि मात्र गर्भाधारण गर्न सक्छन् ।
नरप्लान्ट ७ वर्षको लागि दिइन्छ । यो अरु साधन भन्दा महंगो हुन्छ । त्यसैले सजिलै सँग पाउन सकिदैन । नरप्लान्ट राख्नको लागि तालिम प्राप्त व्यक्ति हुनु पर्छ । यो शरीर भित्र राख्ने भएता पनि यसले शारीरिक रुपमा कुनै पनि किसिमको असर गर्दैन ।
आईयूसिडि अन्तर्गत कपरटी, लुप पर्दछन् । नेपालमा कपरटीको प्रयोग धेरै गरिन्छ । यो एकपटक लगाएपछि १२ वर्षसम्मलाई काम गर्छ । कपरटी पुरुषले थाहा नपाउने गरी प्रयोग गरिरहन सकिन्छ । यदि कपरटी बीचमा निकाल्नु परेमा पनि निकाल्न सकिन्छ । कपरटीको प्रयोग गर्दा महिनावारीको समयमा पेट दुख्ने, खुट्टाहरु, तिर्घाहरु दुख्ने हुन्छ । कहिलेकाहीँ महिनावारीको समयमा रक्तस्राव बढी हुन्छ । कपरटी राखिसकेपछि समय समयमा परीक्षण गर्नुपर्छ ।
४० वर्ष पुगेपछि डिपोप्रोृभेरा, नरप्लान्ट, आईयूसिडिको प्रयोग गर्नुपर्छ । तर ४० वर्षपछि पिल्स भने खानुृ हुँदैन । पिल्सले ४० वर्ष पुगेपछि उच्च रत्तचाप बढाउने, ह्दयघात हुने सम्भावना हुन्छ ।
आईयूसिडि प्रयोग नगर्ने अवस्था
गर्भ रहेको बेला वा गर्भको शंका लागेमा
कुनैबेला पाठेघर वा नलीको संक्रमण भएमा
कुनैबेला डिम्बबाहिनी नलीमै गर्भ रहेर समस्या परेको भए
महिनावारी हुँदा अत्यधिक रक्तस्राव वा पिडा हुँदा
रक्तअल्पता भएमा
कहिल्यै गर्भवती नभएको भए