काठमाडौँ– कहिलेकाहीँ संयोग नियोजित घटना जस्तो बन्न जान्छ र कहिलेकाहीँ नियोजित घटना संयोग जस्तो देखिन्छन् ।
तर यसको बीचमा एउटा नयाँ घटनाक्रम विकसित भयो ।
आफ्ना पूर्वसहकर्मीले देशको सुरक्षा कमान्ड सम्हालेको दोस्रो दिन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको घरमा पक्राउ पुर्जी टाँस भयो ।
यो संयोग हो वा योजना ?
अहिले नै उत्तर भेटाउन गाह्रो हुन्छ र यसका लागि केही घटनाक्रम हेर्नुपर्ने हुन्छ ।
भोजपुरमा भएको विस्फोट पदार्थ र ज्यान मार्ने उद्योगको कसुरमा दोषी मान्दै विप्लवलाई पक्राउ गर्ने सूचना टाँस भएको छ ।
वाम गठबन्धनको सरकार आएपछि भएको यो घटनाले विप्लवमाथि सरकारको नीतिको सङ्केत गरेको छ ।
यसले चुनावमा बहुमतसहित आएको वमगठबन्धन नेतृत्वको सरकार र चुनाव भाड्न सबै प्रयत्न गरेको विप्लवको पार्टीबीच तनाव बढ्न सक्ने सम्भावना देखाएको छ । नेकपाका पोलिटब्युरो सदस्य भरत बमले सम्भावित राजनीतिक जटिलताबारे बोलिसकेका छन् ।
यस्तोमा अब गृहमन्त्री रामबहादुर थापासँग दुईवटा विकल्प छन् ।
पहिलो– विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन पहल गर्ने । आजको दिनमा तत्कालका लागि यो झिनो सम्भावना हो, किनभने विप्लवले अहिले सत्ता साझेदारीको मुद्दा उठान गरिरहेका छन् । अहिलेको राजनीति शक्ति सन्तुलन त्यहाँ पुगेजस्तो देखिन्न ।
गृहमन्त्रीसँगको दोस्रो विकल्प हो, विप्लवको पार्टीमाथि कडाइको नीति ।
यो गृहमन्त्री बादलको निजी चाहनामा हुँदैन । यसका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग परामर्श चाहिन्छ । यदि ओली र प्रचण्डले ‘गो अहेड’ भने भने बादलले कठोर नीति लिन पनि सक्छन् । ओली र प्रचण्डले ‘गो अहेड’ भन्दाभन्दै पनि गृहमन्त्री बादलले व्यक्तिगत रूपमा फरक धारणा पनि राख्न सक्छन् ।
जे भए पनि विप्लव पक्राउ पुर्जीले गृहमन्त्रीसामु तत्काल चुनौती ल्याइदिएको छ र ढिलो चाँडो कुनै न कुनै विकल्प रोज्नुपर्ने ठाउँमा लैजाने छ ।
आफ्ना पूर्वसहकर्मीहरूमाथि बादल धेरै कठिन हुँदा उनको आलोचना हुन सक्छ ।
प्रधानमन्त्रीको निर्देशन नमान्दा पद जोखिममा पर्न सक्छ ।
गृहमन्त्री चेपुवामा पर्न सक्छन् ।
रक्षामन्त्री हुँदा उत्पन्न जटिलताबाट बादल जानकार छन् नै ।
नेपालको राजनीति अस्थिरतामा खेल्न चाहने शक्तिले दुवैतर्फ गोटी चाल्न सक्छन् । दुवैलाई उचाल्न सक्छन् । ‘वामकाविरुद्ध वाम’ थ्योरीले काम गर्न पनि सक्छ ।
स्थिरतासहित विकास र समृद्धिको नारा अगाडि सारेको ओली सरकारका लागि विप्लव टाउको दुखाइ हुन पनि सक्छ । यस्तोमा सरकारले कठोर नीति पनि लिन सक्छ ।
चुनावताका भएका घटना होउन् वा कारवाहीका नाममा व्यक्तिमाथि गरिएको हमला । विप्लवको पार्टीमाथि प्रश्न उठाउने गरिन्छ ।
मुख्य नेतृत्वलाई नै पक्राउ पुर्जी जारी गरेपछि अब नेकपासँग पनि सीमित विकल्प हुन सक्छन् ।
या त संवाद या त सङ्घर्ष ।
संवादका लागि ओली नेतृत्वको सरकारले ‘स्पेस’ दिने सम्भावना कम छ । किनभने नेकपाका दुई नेता शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका बेला विराटनगरमा पक्राउ परेका थिए । एक सातापछि उनीहरू रिहा भए ।
प्रधानमन्त्री ओली विप्लवप्रति अनुदार हुन सक्छन् ।
यस सङ्घर्षले तनाव मात्र बढाउन सक्छ ।
एकीकृत क्रान्तिको सिद्धान्त अगाडि सारेको विप्लव नेतृत्वको नेकपाले आफ्नो गतिविधि जस्तो पनि हुन सक्ने भन्दै बोल्दै आएको छ ।
बादल र विप्लवको व्यतिगत सम्बन्ध राम्रो छ ।
बादल र विप्लव लामो समय एउटै पार्टीमा बसे ।
विप्लव बादललाई दाइ भनेर सम्बोधन गर्छन् ।
प्रचण्ड नेतृत्वको माओवादीसँग वैद्य, बादल र विप्लव सँगै अलग भएका थिए ।
प्रचण्डसँग अलग भएपछि ०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भएको थियो । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रूपमा प्रस्तुत गरिएको थियो ।
त्यस मितिदेखि ०७१ मङ्सिर ७ सम्म विप्लव वैद्य नेतृत्वको पार्टीमा थिए । तर विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाए । केही समयपछि बादलले पनि वैद्यलाई छाडे र प्रचण्डसँग एकता गरे ।
वैद्य र बादललाई छाडेर हिँडेपछि विप्लवले आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे । थवाङमा महाधिवेशनको बन्दसत्र भयो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।
पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखेका थिए ।
जेसुकै होस्, विप्लवको पक्राउ पुर्जी, नेपालको राजनीतिका लागि सुखद घटनाक्रम चाहिँ होइन । (रातोपाटिबाट)